सार्वजनिक खरीद अनुगमन कार्यलयले सार्वजनिक निकायमा खरीदसम्बन्धी कार्य गर्ने कर्मचारीको योग्यता निर्धारण र मापदण्ड आज स्वीकृत गरेको छ । सार्वजनिक खरीदसम्बन्धी कार्यलाई पारदर्शी, वस्तुनिष्ठ एवं विश्वसनीय बनाउन सार्वजनिक निकायमा खरीद महाशाखा वा एकाइ गठन विधि र सदस्य सङ्ख्या निर्धारणलगायत प्रावधानसहितको योग्यता निर्धारण र मापदण्ड स्वीकृत गरिएको प्रवक्ता विष्णुप्रसाद कोइरालाले जानकारी दिनुभयो । स्वीकृत मापदण्डमा खरीद एकाइ प्रमुख तथा सदस्यको योग्यता निर्धारण तथा बोलपत्र मूल्याङ्कन समिति र खरीद सम्झौता व्यवस्थापन ÷कार्यान्वयनमा काम गर्ने कर्मचारीको योग्यता निर्धारण गरिएको छ । खरीदमा संलग्न कर्मचारीलाई तालीम र क्षमता विकास कार्यक्रम, आन्तरिक नियन्त्रण प्रणाली र खरीदमा संलग्न कर्मचारीको स्वार्थ बाझिन नहुनेलगायत विषयमा निश्चित आधार, योग्यता र मापदण्ड समावेश गरी त्यसमा संलग्न कर्मचारीको योग्यता निर्धारण मापदण्ड सचिवस्तरीय निर्णयबाट स्वीकृत गरिएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको हो ।
सार्वजनिक खरीद ऐन २०६३ मा सार्वजनिक निकायले खरीदसम्बन्धी कार्य गर्दा सार्वजनिक खरीद अनुगमन कार्यालयले निर्धारण गरेको योग्यता भएको र खरीद कार्यसम्बन्धी ज्ञान भएको वा तालीमप्राप्त गरेको कर्मचारीबाट गराउनुपर्ने व्यवस्था छ । कार्य प्रकृतिका आधारमा प्रशासनिक, प्राविधिक र लेखासम्बन्धी काम गर्ने कर्मचारीमध्येबाट खरीदसम्बन्धी ज्ञान भएका वा तालीम लिएका कर्मचारीलाई समावेश गरी खरीद एकाइ गठन गरिनुपर्ने छ । मूल्याङ्कन समितिका निर्धारित पदाधिकारीबाहेकका कर्मचारीमध्येबाट वरिष्ठ कर्मचारीलाई खरीद एकाइ प्रमुखको जिम्मेवारी तोक्नुपर्ने छ । खरीद सम्झौता व्यवस्थापनमा काम गर्ने कर्मचारी खरीदको प्रकृतिसँग मेलखाने विषयमा प्राविधिक ज्ञान वा अनुभव भएको हुनुपर्ने मापदण्ड र योग्यतामा उल्लेख छ ।रासस
यो पनि – बढी, पहिरो र डुबान : मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित –
नारायण ढुङ्गाना, भारी वर्षासँगै गएको बाढी, पहिरो र डुबानका कारण आज मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ । रातिदेखि नै परेको वर्षाले यसपाली तराई क्षेत्र बढी प्रभावित भए पनि अन्य जिल्लामा जनधनको क्षति पु¥याएको छ । केही ठाउँमा पहिराले सडक अवरुद्ध पारेको छ । कतिपय ठाउँमा डुबान भएको र कतिपय स्थानका नदीमा पानीको बहाव उच्च हुन पुगेको छ । केही मानिसको मनसुनयन्य विपद्मा परेर मृत्यु भएको र केहीको उद्धार गरिएको छ । केही हराइरहेका गृह मन्त्रालयले जनाएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ३ मा माथिबाट खसेको पहिरोले घर पुर्दा वर्ष ३७ की हरिमाया नेपाली र सोही ठाउँ बस्ने सरस्वती थापाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ । अन्य तीन जना घाइते भएका छन् । सोही जिल्लाको शुक्लागण्डकी नगरपालिकामा खसेको पहिरोमा परेका दुई जनाको सकुसल उद्धार गरिएको छ । यसपाली बाढी र डुबानले तराइका जिल्ला नराम्ररी प्रभावित भएका छन् । चितवनको रत्ननगर नगरपालिका–८ रमाइलो डाँडा क्षेत्रमा बुढी राप्ती बस्तीमा पस्दा २० घरका १०० जना विस्थापित भएका छन् । यस्तै सौराहाका केही क्षेत्र डुबानमा परेको छ ।

जिल्लाको राप्ती, कालिका ररत्ननगर नगरपालिका विभन्नि क्षेत्रसमेत प्रभावित भएको छ । राप्तीस्थित पम्फा खोला पसेर केही बस्ती नै डुबानमा पारेकाले १५० घर धुरीका ४०० जनालाई सुरक्षित क्षेत्रमा सारिएको छ । उक्त नगरपालिकामा पहिरोमा परेर दुईको मृत्यु भएको छ भने तीन बेपत्ता छन् ।
पहिरो खसेर नारायणगढ–मुग्लिन सडकसमेत दिनभर जसो नै अबरुद्ध हुन पुगेको छ । यस्तै पृथ्वी राजमार्गअन्तर्गत धादिङ र तनहुँखण्डका विभिन्न क्षेत्रमा पहिरो खसेर क्षति भएको छ । ठाउँठाउँमा सडकअवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरस्थित गैंडाकोटमा आएको बाढीले थुम्सीमा रहेको डाइभर्सनसमेत बगाएर सडक आवागमन प्रभावित भएको जनाइएको छ ।
यस्तै पर्साका केही बस्तीसमेत डुबानमा परेको छ । प्र्राप्त विवरणअनुसार आज हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । मनाङमा समेत वर्षाले असर गरेको छ । महोत्तरी, लहानसहित तराइका जिल्ला तथा डोटीलगायत धेरै जिल्ला आजको वर्षाका कारण प्रभावित भएको छ ।
मौसम विज्ञान विभागका अनुसार आज प्रदेश नं १, २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । प्रदेश नं १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशकाका केही स्थानमा भारी वर्षा र सिमित ठाउँमा अति भारी वर्षा भएको छ । राति र शुक्रबार पनि मौसम बदली रहने छ ।
राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार पछिल्लो १८ दिनमा विपद्सम्बन्धी १५८ वटा घटना भएका छन् । उक्त घटनामा परी ३३ जनाको मृत्यु भएको र ३० जना बेपत्ता भएको केन्द्रका प्रमुख दीलकुमार तामाङले जानकारी दिनुभयो ।
विपद्जन्य घटनामा परेर ३० जना घाइते भएका छन् । अहिलेसम्म ४७४ घरमा पूर्ण क्षति भएको छ भने ११२ घरमा आंशिक क्षति पुगेको छ । हालसम्म ३६ सरकारी कार्यालय, ६ सामुदायिक भवन र विद्यालय, २२ झोलुङ्गे पुल, १३ वटा पक्की पुल, १३ हाइड्रो पावर, पाँच साना पुल र २ वित्तीय संस्थामा क्षति पुगेको छ ।
यसअघि मनसुन प्रवेश गरेलगतै गएको बाढी पहिरोमा सिन्धुपाल्चोकका मेलम्ची क्षेत्र र मनाङ जिल्ला प्रभावित भएको थियो । उक्त समयमा ठूलो जनधनको क्षति भएको थियो । नेपालमा गत जेठ २८ गते मनसुन भित्रिएको थियो । जेठ ३० गते मुलुकभर नै मनसुनी वायुको प्रभाव पुगेको थियो ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भारी वर्षा भइरहेकाले बाढी पहिरो र डुबान हुन सक्ने जनाउँदै जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अनुरोध गर्नु भएको छ । सरकारले जोखिम न्यूनीकरणसहित खोज, उद्धार, पुनःस्थापन तथा राहतका कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै आएको छ । रासस



प्रतिक्रिया