युवा गाउँ पुगेपछि खनिए बाँझो खेत

युवा गाउँ पुगेपछि खनिए बाँझो खेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विगतदेखि बाँझो रहेका जमिनमा पनि यस वर्ष धानलगायतका खेती गरिएको छ । अन्य वर्षको तुलनामा यो वर्ष जिल्लामा धान रोपाइँ बढी भएको छ । डोटीमा यो वर्ष समयमै मनसुन शुरु भएका कारण ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।  कोरोना महामारीका कारण शहरबाट घर आएका युवा गाउँमै रहेका कारण बाँझो जमिनमा रोपाइँ गरिएको छ । धान रोपाइँ तथा मकैलगायतका खेती गरिएपछि यहाँका खेत तथा डाँडाकाडाँ हरियाली देखिन थालेका छन् । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल, राजपुरका अनुसार जिल्लामा कुल दश हजार ७१५ हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएकोमा हालसम्म कुल चार हजार ५०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । यहाँका उच्च पहाडी र पहाडी क्षेत्रमा धान रोपाइँ छिट्टै भएको निर्देशनालयले जनाएको छ । यहाँका ग्रामीण क्षेत्रका करीब धान रोपाइँ सकिएको छ भने पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्ला, घोलतडा लगायतका क्षेत्रमा रोपाइँ चलिरहेको छ ।

प्रदेशका अन्य आठ जिल्लाहरु कैलालीमा ५५, कञ्चनपुरमा ३५, अछाममा ४५ बाजुरामा ५५, बझाङमा ४५, बैतडीमा ४५, दार्चुलामा ६२, डडेल्धुरामा ६० प्रतिसत धान रोपाइँ सम्पन्न भएको छ । प्रदेशभरीका कुल एक लाख ८५ हजार ८४७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिदै आएको छ । यो प्रदेशमा हालसम्म ५८ हजार ३६८ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको बताइएको छ । सुदूरपश्चिम प्रदेशको धान उत्पादन हुने क्षेत्रफलको ४५.९५ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भइसकेको निर्देशनालयको तत्थ्याङकमा उल्लेख छ । यो वर्ष असार १५ अघि नै प्रदेशभरीमा ४५.९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको निर्देशनालय दिपायल राजपुरका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो । उहाँले यो वर्ष राम्रो धान उत्पादन हुने लक्ष्य लिइएको बताउनुभयो ।

यही असार १० गतेसम्म भएको रोपाइँको तुलनामा सुदूरपश्चिम प्रदेशमा यो वर्ष ८.४१ प्रतिशतले बढी भएको बताइएको छ । नेपालमा दुइ जिल्लामा बाहेक अन्य सबै जिल्लामा धान उत्पादन हुने गरेको छ । नेपालमा कुल १३० जातका धान उत्पादन हुँदै आएको निर्देशनालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा नौवटै जिल्लाका किसानले प्राय गरी मार्सि, थापाचिनी, गुर्रा, ठेसे, हंसराज र पालपाली धान लगाउदै आएका छन् । यहाँको प्रसिद्ध धान जोरायले बासमती डोटीको जोरायल क्षेत्रमा मात्रै लगाउने र उत्पादन हुने गरेको छ । यहाँका विभिन्न जिल्लामा अझैपनि धान रोपाइँ शुरु भइरहेकाले धान रोपाइँ प्रतिशत अझै बढ्ने निर्देशनालयको दाबी छ ।  जिल्लामा विशेषगरी असारको पहिलो सातादेखि साउनको अन्तिम सातासम्म रोपाइँ हुन्छ । रोपाइँको चहल पहलले गर्दा यहाँका गाउँघर निकै रमाइला भएका छन् । जिल्लाका फाँट क्षेत्रका खेतमा रोपाइँको चहलपहल निकै बढेको बडिकेदार गाउँपालिका–१ का किसान दानबहादुर कललेले बताउनुभयो । रासस

यो पनि – बढी, पहिरो र डुबान : मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित –

नारायण ढुङ्गाना, भारी वर्षासँगै गएको बाढी, पहिरो र डुबानका कारण आज मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ । रातिदेखि नै परेको वर्षाले यसपाली तराई क्षेत्र बढी प्रभावित भए पनि अन्य जिल्लामा जनधनको क्षति पु¥याएको छ । केही ठाउँमा पहिराले सडक अवरुद्ध पारेको छ । कतिपय ठाउँमा डुबान भएको र कतिपय स्थानका नदीमा पानीको बहाव उच्च हुन पुगेको छ । केही मानिसको मनसुनयन्य विपद्मा परेर मृत्यु भएको र केहीको उद्धार गरिएको छ । केही हराइरहेका गृह मन्त्रालयले जनाएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ३ मा माथिबाट खसेको पहिरोले घर पुर्दा वर्ष ३७ की हरिमाया नेपाली र सोही ठाउँ बस्ने सरस्वती थापाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ । अन्य तीन जना घाइते भएका छन् । सोही जिल्लाको शुक्लागण्डकी नगरपालिकामा खसेको पहिरोमा परेका दुई जनाको सकुसल उद्धार गरिएको छ । यसपाली बाढी र डुबानले तराइका जिल्ला नराम्ररी प्रभावित भएका छन् । चितवनको रत्ननगर नगरपालिका–८ रमाइलो डाँडा क्षेत्रमा बुढी राप्ती बस्तीमा पस्दा २० घरका १०० जना विस्थापित भएका छन् । यस्तै सौराहाका केही क्षेत्र डुबानमा परेको छ ।

गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण बन्दिपुर गाउँपालिकाअन्तर्गत रूख ढलेर अवरुद्ध भएको पृथ्वी राजमार्ग । तस्वीर ः सानेबहादुर नेपाली÷रासस

जिल्लाको राप्ती, कालिका ररत्ननगर नगरपालिका विभन्नि क्षेत्रसमेत प्रभावित भएको छ । राप्तीस्थित पम्फा खोला पसेर केही बस्ती नै डुबानमा पारेकाले १५० घर धुरीका ४०० जनालाई सुरक्षित क्षेत्रमा सारिएको छ । उक्त नगरपालिकामा पहिरोमा परेर दुईको मृत्यु भएको छ भने तीन बेपत्ता छन् ।

पहिरो खसेर नारायणगढ–मुग्लिन सडकसमेत दिनभर जसो नै अबरुद्ध हुन पुगेको छ । यस्तै पृथ्वी राजमार्गअन्तर्गत धादिङ र तनहुँखण्डका विभिन्न क्षेत्रमा पहिरो खसेर क्षति भएको छ । ठाउँठाउँमा सडकअवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरस्थित गैंडाकोटमा आएको बाढीले थुम्सीमा रहेको डाइभर्सनसमेत बगाएर सडक आवागमन प्रभावित भएको जनाइएको छ ।

यस्तै पर्साका केही बस्तीसमेत डुबानमा परेको छ । प्र्राप्त विवरणअनुसार आज हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । मनाङमा समेत वर्षाले असर गरेको छ । महोत्तरी, लहानसहित तराइका जिल्ला तथा डोटीलगायत धेरै जिल्ला आजको वर्षाका कारण प्रभावित भएको छ ।

मौसम विज्ञान विभागका अनुसार आज प्रदेश नं १, २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । प्रदेश नं १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशकाका केही स्थानमा भारी वर्षा र सिमित ठाउँमा अति भारी वर्षा भएको छ । राति र शुक्रबार पनि मौसम बदली रहने छ ।

राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार पछिल्लो १८ दिनमा विपद्सम्बन्धी १५८ वटा घटना भएका छन् । उक्त घटनामा परी ३३ जनाको मृत्यु भएको र ३० जना बेपत्ता भएको केन्द्रका प्रमुख दीलकुमार तामाङले जानकारी दिनुभयो ।

विपद्जन्य घटनामा परेर ३० जना घाइते भएका छन् । अहिलेसम्म ४७४ घरमा पूर्ण क्षति भएको छ भने ११२ घरमा आंशिक क्षति पुगेको छ । हालसम्म ३६ सरकारी कार्यालय, ६ सामुदायिक भवन र विद्यालय, २२ झोलुङ्गे पुल, १३ वटा पक्की पुल, १३ हाइड्रो पावर, पाँच साना पुल र २ वित्तीय संस्थामा क्षति पुगेको छ ।

यसअघि मनसुन प्रवेश गरेलगतै गएको बाढी पहिरोमा सिन्धुपाल्चोकका मेलम्ची क्षेत्र र मनाङ जिल्ला प्रभावित भएको थियो । उक्त समयमा ठूलो जनधनको क्षति भएको थियो । नेपालमा गत जेठ २८ गते मनसुन भित्रिएको थियो । जेठ ३० गते मुलुकभर नै मनसुनी वायुको प्रभाव पुगेको थियो ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भारी वर्षा भइरहेकाले बाढी पहिरो र डुबान हुन सक्ने जनाउँदै जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अनुरोध गर्नु भएको छ । सरकारले जोखिम न्यूनीकरणसहित खोज, उद्धार, पुनःस्थापन तथा राहतका कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै आएको छ । रासस