भादगाउँ, १८ असार । बागमती प्रदेश सरकारको विकास निर्माणका योजनाअन्तर्गत मध्यपुरथिमिमा विभिन्न योजना सम्पन्न भएका छन् भने केही सम्पन्न हुने चरणमा छ । प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठको पहलमा भएका विकास निर्माणकार्यअन्तर्गत मध्यपुरथिमि–४ स्थित बालकुमारी उकालोबाट इकुडोल वप्पामार्गको सुधारकार्य सम्पन्न भएको छ । बागमती प्रदेश सशर्त अनुदान कार्यक्रमअन्तर्गत रु २५ लाख लागतमा बाटो ढलान गर्ने काम सम्पन्न गरिएको उक्त मार्ग सुधार उपभोक्ता समितिका अध्यक्ष प्रदीपजामन श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी मध्यपुरथिमि–२ को टिआइटीआइबाट वडा कार्यालय जाने १० मिटर चौडा बाटोमा ठूलो पाइपको ढल बिछ्याएको छ । करिब ४५० मिटर लामो उक्त बाटोमा उपभोक्ता समितिबाट करिब रु सात लाख सङ्कलन गरी ढल राखिएको समितिका अध्यक्ष हेमराज गौतमले बताउनुभयो । उहाँले सो बाटोमा नगरस्तरीय बजेटमार्फत आगामी वर्ष कालोपत्र गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
प्रदेशको सशर्त अनुदान कार्यक्रमअन्तर्गत नै मध्यपुरथिमि–१ लोकन्थलीका विभिन्न भित्री बाटोमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ । लोकन्थलीको गणेशमार्गका भित्री तीन फिटदेखि आठ फिट चौडाका बाटोमा करिब रु २५ लाखको लागतमा ढुङ्गा छाप्ने काम सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष शिवहरि प्रजापतिले जानकारी दिनुभयो । गत वर्ष सो क्षेत्रका बाटोमा ढुङ्गा छाप्ने काम भएको थियो । ढुङ्गा छपाइकार्यले स्थानीय केही बासिन्दाको घरभित्र वर्षायाममा पानी पस्ने समस्या हल भएको स्थानीयवासी रोशनभक्त श्रेष्ठले बताउनुभयो ।
प्रदेश सरकारकै आर्थिक सहयोगमा मध्यपुरथिमि नगर क्षेत्रभित्र एक दर्जन बढी ठाउँमा सडकको स्तरोन्नति, व्यवस्थित ढल निकास, अतिविपन्न आवास निर्माणदेखि नारायणविलाश जोशी स्मृति भवनको निर्माण अन्तिम चरणमा पुगेको प्रदेशसभा सदस्य डा श्रेष्ठले बताउनुभयो । प्रदेश सरकारकै सशर्त अनुदान कार्यक्रमअन्तर्गत मध्यपुरथिमिमा निर्माण भइरहेका अतिविपन्न आवास कार्यक्रमअन्तर्गत चारवटा एततले घरको समेत निर्माण सम्पन्न भएको डा श्रेष्ठले बताउनुभयो । रासस
यो पनि – फाइबर केबल काटिँदा इन्टरनेटमा समस्या
नवलपुर, १८ असार । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले नलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न स्थानमा जडान गरेको फाइबर केबल तथा पोलमा राखेको सामान चोरी हुँदा इन्टरनेटमा समस्या आएको छ । वल्र्डलिङ्कले जडान गरेका सामान चोरी हुने तथा क्षति पु¥याउने क्रम बढेपछि सेवालाई गुणस्तरीय बनाइराख्न दोषी पत्ता लगाएर कानूनी कारवाहीसहित क्षतिपूर्तिका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको वल्र्डलिङ्कका कावासोती शाखा प्रमुख आकाश केसीले जानकारी दिनुभयो ।
वल्र्डलिङ्कले सस्तो शुल्कमा गुणस्तरीय सेवा प्रदान गरिरहेको सन्दर्भमा अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीले प्रतिस्पर्धा गर्न नसकेर आपराधिक बाटो प्रयोग गरी वल्र्डलिङ्कको नाम बदनाम गर्न खोजेका कारण कानूनी उपचार खोजिएको केसीको भनाइ छ । केसीले केही समयदेखि यस क्षेत्रमा अन्य स्थानीय इन्टरनेट सेवा प्रदायक कम्पनीबाट दैनिकजस्तो फाइबर केबल काट्ने तथा पोलहरूमा राखिएको सामान चोरी गर्ने क्रम बढेको जानकारी दिनुभयो । वल्र्डलिङ्कलाई बदनाम गराउन खोज्नेले दुई दिनअघि मात्रै पनि रातिको समयमा चोरमारादेखि अरुणखोलाबीचको खण्ड, डण्डा र रजहर गरी चार ठाउँमा तार काटिदिएका केसीले बताउनुभयो ।
अस्वस्थ्य प्रतिस्पर्धा गर्नेले तार काटिदिएका कारण बेलाबेलामा उपभोक्ता यसको मारमा पर्ने गरेका केसीको भनाइ थियो । पछिल्लो समय इन्टरनेटको पहुँचमा जाने सेवाग्राही बढ्दै गएको सन्दर्भमा वल्र्डलिङ्कसँग प्रतिस्पर्धा गर्न नसकेपछि अन्य स्थानीय इन्टरनेट प्रदायकले गलत बाटो प्रयोग गरेका केसीले आरोप लगाउनुभयो । व्यापार, व्यवसाय, शिक्षादेखि सबै क्षेत्रमा इन्टरनेटको प्रयोग आइरहेको छ । नेपालमा झण्डै ८९ प्रतिशत जनसङ्ख्या इन्टरनेटको पहुँचमा पुगिसकेका केसीको भनाइ छ । रासस
प्रतिक्रिया