फलामे पुल बगाएपछि काठे साँघु

फलामे पुल बगाएपछि काठे साँघु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लगातारको वर्षासँगै खोलामा पानीको बहाव बढेपछि बिहीबार तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ र २ जोड्ने गुबेखोलामाथिको फलामे पुल बगाएपछि स्थानीयवासीले उक्त स्थानमा काठे साँघु निर्माण गरेका छन् । पुल अभावसँगै शुक्लागण्डकी नगरपालिका–२ का साथै पोखरा महानगरपालिका–३२ का विभिन्न स्थानबाट शुक्लागण्डकी–१ मा पर्ने सेराबेँसी, पोखरा महानगरपालिकाको मालेपाटनलगायतका स्थानमा आवतजावत गर्न असहज भएपछि स्थानीयवासीको सक्रियतामा काठे साँघु बनाइएको हो ।

सेराबेँसीलगायतका स्थानका बासिन्दा बजारको किनमेलका साथै खेतीपाती गर्न समेत उक्त पुल भएर आवतजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी एवं हंशबाहिनी माध्यमिक विद्यालय तनहुँका शिक्षक ठाकुरप्रसाद खनालले जानकारी दिनुभयो । प्रत्येक वर्ष वर्षात्को समयमा हुने बाढीका कारण समस्या पर्ने गरेको बताउँदै उहाँले समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

वर्षात्को समयमा यस क्षेत्रमा पर्ने खुदीखोला, तालखोला, गुवेखोला, आपुखोला, फुस्रेखोलामा बाढीसँगै जमिनसमेत कटान हुने गरेको भूक्षय, जलाधार वातावरण संरक्षण समितिका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । यस क्षेत्रको जलाधार संरक्षण गर्दै भूक्षय नियन्त्रणका लागि समितिले निरन्तर पहल गरिरहेको बताउँदै उहाँले साविकको लेखनाथ नगरपालिकाका वडा नं १२, १३, १५ का साथै देउराली गाविसको वडा नं १ का जनप्रतिनिधिसहित खुदीखोलाको जलाधार संरक्षण एवं भूक्षय नियन्त्रणका लागि नदीजन्य वस्तु ननिकाल्ने सहमति गरिएको जानकारी दिनुभयो ।

खुदी खोलामा नदीजन्य वस्तु ननिकाल्नका लागि यसअघि नै सहमति भइसकेका अवस्थामा आगामी दिनमा पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला सबै एकताबद्धरूपमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस

यो पनि – डिजिटल नागरिक बडापत्र सञ्चालनमा-

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले जिल्लामै पहिलोपटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि बुधबारदेखि यो बडापत्र सञ्चालनमा ल्याइएको हो ।

सो डिजिटल बडापत्रको प्रयोगले सेवाग्राहीले आफ्नो कामको सम्बन्धमा सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्नेछन् । आफूले प्राप्त गर्न खोजेको सेवा सो बडापत्रमा हेरेपछि त्यसका लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ । सो कामका लागि जानुपर्ने कोठा तथा त्यस कोठामा रहेका कर्मचारीको विवरणसमेत सोही बडापत्रमा हेर्न सकिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत मनोज दङ्गालले बताउनुभयो । सो डिजिटल बडापत्रमा गाउँपालिकाको सम्पूर्ण जानकारीसमेत हेर्न सकिन्छ । गाँउपालिकाको कुनै शाखाले दिने सेवासम्बन्धी जानकारी लिनसमेत सोही बडापत्रको प्रयोग गर्न सकिनेछ ।

“कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले आफ्नो कामको बारेमा जानकारी लिन कसैलाई सोध्नु नपर्ने गरी यो डिजिटल बडापत्र तयार गरिएको छ”, सूचना प्रविधि अधिकृत दङ्गालले भन्नुभयो, “गाँउपालिकाबाट प्रदान हुने हरेक सेवाका बारेमा विस्तृतमा जानकारी राखिएको छ ।” यो डिजिटल बडापत्र अपाङ्गमैत्रीसमेत छ । यो बडापत्रको डिजिटल बोर्डमा आफूले चाहेको सेवामा थिचेपछि अडियो र भिडियो सन्देशमार्फत जानकारी प्राप्त हुन्छ । हेरेर र सुनेर जानकारी लिन सकिने हुनाले दृष्टि तथा श्रवणमा समस्या भएका सेवाग्राहीले समेत यसको प्रयोग गर्न सक्दछन् । अधिकृत दङ्गालका अनुसार यो सेवा सिन्धुपाल्चोक जिल्लामै पहिलो हो ।

गाउँपालिकामा आउने सेवाग्राहीले सेवा लिन आउँदा प्रक्रिया बुझ्नै लामो समय लाग्न थालेपछि यस्तो सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले बताउनुभयो । यो सेवासँगै छिट्टै टोकन सेवा पनि सञ्चालन गर्ने तयारी भइरहेको छ । “हामी सकेसम्म सेवाग्राहीलाई बिनाझण्झट सजिलै र छिट्टै सेवा कसरी दिन सकिन्छ भनेर सोेचिरहेका छौँ ।” गाउँपालिका अध्यक्ष तामाङले भन्नुभयो, “त्यसकै लागि हामीले स्मार्ट हेल्प डेस्क नाम दिएर यो सेवा सञ्चालन गरेका हौँ”, सेवाग्राहीले सजिलै बुझ्ने गरी सबै जानकारी पाउन सकिने गरी स्मार्ट सहायता कक्ष सञ्चालन गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।

सो डिजिटल नागरिक बडापत्रमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीको विवरणका साथै विभिन्न विषयगत शाखाबाट प्रदान हुने सबै सेवाको जानकारीसमेत समेटिएको छ । बडापत्र गाउँपालिकाको सूचनापाटीका रूपमा प्रयोग हुनेछ । रासस