एमाले केन्द्रीय कमिटीको बैठक शुरु

एमाले केन्द्रीय कमिटीको बैठक शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएपछिको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । दलको नवौँ महाधिवेशनपछिको १३औँ केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेता अनुपस्थित रहनुभएको छ ।  पार्टीका कुनै खेमामा नहरनुभएका उपाध्यक्ष वामदेव गौतम भने बैठकमा उपस्थित हुनुभएको एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्योपचारका लागि भारतमा हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको केन्द्रीय कमिटीमा माओवादीबाट आएका नेता रामबहादुर थापालगायतलाई समावेश गरी आजका लागि बैठक आयोजना गर्ने निर्णय यही असार १६ गतेको आयोजक कमिटी बैठकले गरेको थियो । पार्टीभित्र असन्तुष्ट पक्षसँग दोस्रो तहका नेताको अनौपचारिक वार्ता जारी रहे पनि अन्य सहमति खोज्ने पहल भइरहेको जनाइएको छ ।

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केही शर्तसहित गत जेठ २३ गते पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ गते नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको संरचनामा पार्टीलाई सञ्चालन गर्न आफू तत्पर भएको घोषणा गर्नुभएको थियो । अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा जोडिएका नेता नेपाल पक्षका केही तत्कालीन सांसदले हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त राख्नुभएको छ । बैठक आह्वान भएपछि अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोन संवादमा गृहकार्य गरेर बैठक आयोजना गर्न नेता नेपालले प्रस्ताव गर्नुभएको थियो ।

यसअघि स्थायी कमिटीको यही असार १३ गतेको बैठकले सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा, पार्टीको महाधिवेशन आयोजक कमिटीमाथि उठाइएका विवादलगायत विषयमा छलफल गर्न आज आयोजक कमिटीको बैठक तय गरेको थियो । सर्वाेच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी एकतापूर्वको अवस्थामा रहेपछि एमालेको फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेकामा नेता नेपाल पक्षले असन्तोष जनाउँदै आएकोे थियो । रासस

यो पनि – प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षको बहस आज सकिँदै –

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आजको सुनुवाइ शुरु भएको छ । प्रधानमन्त्री ओलीका तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले बहस शुरु गर्नुभएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा उहाँले बहस शुरु गर्नुभएको हो ।

प्रधानमन्त्रीका तर्फबाट कूल २३ जनाले बहस गर्ने कार्यतालिका रहेको थियो भने सात घण्टाका लागि समय निर्धारण गरिएको थियो । आजका लागि एक घण्टा ३० मिनेटमात्र समय बाँकी छ । त्यसपछि सभामुखका कानून व्यवसायीको बहस शुरु हुनेछ । सभामुखका कानून व्यवसायीलाई एक घण्टाको समय तोकिएको छ ।

यसअघि रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको थियो । निवेदक पक्षलाई १२ घण्टाको समय दिइएको थियो । उक्त समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गर्नुभएको थियो । निवेदक पक्षका कानून व्यवासायीले बहुमत सांसद पक्षमा रहेको जिकिर गर्दै नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन् ।

सभामुखका कानून व्यवसायीको बहसपछि रिट निवेदक पक्षले जवाफ दिनेछन् । त्यसपछि अदालतको सहयोगी (एकीकस क्युरी) को बहस हुनेछ । त्यसपछि फैसला हुनेछ । सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिन्छ । रासस