सुदूरपश्चिममा ३८ डिग्री तापक्रम जनजीवन नराम्रोसँग प्रभावित

सुदूरपश्चिममा ३८ डिग्री तापक्रम जनजीवन नराम्रोसँग प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुदूरपश्चिम, १८ असार । एक हप्तादेखि बढेको उखरमाउलो गर्मीले कैलाली र कञ्चनपुरलगायत जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । वर्षा हुन नसकेर बढेको उखरमाउलो गर्मीले दैनिक काममा जानुपर्ने मजदूर बढी प्रभावित भइरहेका छन् । आकाशमा दिनहुँ हुस्सु लाग्ने गरेको छ तर वर्षा गराउने बादल देखिँदैन । अधिकतम् तापक्रम ३८ डिग्री सेल्सियसको हाराहारीमा छ ।

तापक्रम धेरै नभए पनि हावामा बढेको सापेक्षित आद्रताका कारण अत्यधिक गर्मी महसुस भएको हुन सक्ने स्थानीयवासी तेजराज भट्ट बताउनुहुन्छ । बढेको गर्मीले दिउँसोको समयमा सर्वसाधारण घरबाहिर निस्कन सकिरहेका छैनन् । निरन्तरको गर्मीका कारण तात्ने गरेका पक्की घरका कोठामा समेत पङ्खाले तातो हावा फ्याँक्ने गरेपछि थप सास्ती खेप्नु परेको अर्का स्थानीयवासी जनक पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वी र मध्य नेपालका विभिन्न जिल्लामा भइरहेको वर्षाले विपद् निम्त्याइरहेको सुनिन्छ, हाम्रोतिर यहाँ वर्षाको अभावमा निम्तिएको सुक्खा खडेरीले सर्वसाधारण मारमा परेका छन् ।”

अत्यधिक गर्मीले काम गर्न सास्ती खेप्नु परेको अनुभव धनगढीका मजदूर कुँवरप्रसाद चौधरीले सुनाउनुभयो । “काम नगरी घरमा बस्दा पनि रातदिन शरीरमा पसिना आइरहँदा काम गर्न घरबाहिर जान सकिँदैन”, उहाँले भन्नुभयो । गर्मी छल्नका लागि कतिपय व्यक्ति चिसो मौसम रहेको कैलालीको चुरे पहाडी क्षेत्रको खानीडाँडा र सहजपुरसम्म पुग्ने थालेका छन् । राम्रोसँग वर्षा नहुँदा देखिएको सुक्खा मौसमका कारण रोपाइँ गरिएको खेतमा चिरा पर्न थालेको किसानको भनाइ छ । रासस

यो पनि – कर्णालीमा बृहत् सिँचाइ आयोजना निर्माण गरिने

खलङ्गा, १८ असार । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले सरकारले बृहत् सिँचाइ आयोजनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ । जुम्लामा निर्माण हुन थालेको उठिल्ने–ऐरेनी सिँचाइ आयोजनाको आज अनुगमन गर्दै उहाँले भन्नुभयो, “सानातिना आयोजनाले धेरै जमीन सिँचाइ गर्न नसक्ने र जमीन बाँझो राख्नुपर्ने अवस्थाको अन्त्य गर्न बृहत् सिँचाइ आयोजना निर्माणतर्फ सरकार लागिपरेको छ ।”

आगामी आर्थिक वर्षदेखि जुम्लामा दुई ठूला सिँचाइ आयोजनाको काम शुरु हुने र ती आयोजनाले धेरै ठूलो जमीनको सिँचाइ हुने बताइएको छ । किसान प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । उठिल्नेदेखि ऐरेनीसम्मको बृहत् सिँचाइ आयोजना र हियाखोला लिफ्ट सिँचाइ आयोजना निर्माणका लागि काम शुरु हुने भएको छ ।

उठिल्नेदेखि ऐरेनीसम्म पाँच किलोमिटर सिँचाइ कुलो निर्माण हुँदा ९२ हेक्टर जमीनमा सिँचाइ सुविधा पुग्ने सिँचाइ डिभिजन कार्यालयका प्रमुख अनुप श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाको गौरवको आयोजनाका रुपमा दुई ठूला सिँचाइ आयोजना बन्दैछन् । कर्णाली प्रदेश सरकारले दुवै आयोजनाको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिसकेको छ । आगामी दशैँसम्म बोलपत्र प्रक्रियामा जाने गरी कार्यालयले तयारी गरेको छ ।’’

तातोपानी गाउँपालिका हियाखोलामा लिफ्ट सिँचाइ आयोजना निर्माणका लागि सम्भाव्यता हुँदैछ भने यसका लागि रकमको व्यवस्था भइसकेको छ । साठी हर्ष पावरको पम्पबाट १७० मिटर उचाइसम्म पानी पु¥याउन सकिने गरी लिफ्ट सिँचाइको सम्भाव्यता अध्ययनको तयारी भइरहेको छ । यसले १५० हेक्टर जमीन सिँचाइ गर्नेछ । यो आयोजनाका लागि रु आठ करोड लाग्ने अनुमान गरिएको छ । यी आयोजनालाई बहुवर्षीय आयोजनाका रुपमा अघि बढाइने मन्त्री श्रेष्ठले बताउनुभयो । आगामी वर्षदेखि नै दुवै आयोजनाको काम शुरु हुने ऊर्जा विकास मन्त्रालयले जनाएको छ । रासस