नारायणगढ–मुग्लिन सडकमा तीन दिन देखि पहिरै पहिरा

नारायणगढ–मुग्लिन सडकमा तीन दिन देखि पहिरै पहिरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १९ असार । निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिएपनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको हो । डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सडकको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ चारकिलो र पाँचकिलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको दुईघण्टा नपुग्दै सेती दोभानमा ठूलो पहिरो खसेको उहाँले जानकारी दिनुभयो ।

त्यस पछि पुनः चारकिलो र पाँचकिलोमा पनि पहिरो खसेको हो । नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्ने सेती दोभानमा पछिल्ला वर्षहरुमा पहिलोपटक पहिरो खसेको हो । उहाँले भन्नुभयो, “मैले यो सडकमा काम गरेको ६ वर्ष भयो । पहिलो पटक यहाँ पहिरो खसेको हो ।” सडकको भित्तातर्फ ५० मिटर भन्दा माथिबाट पहिरो झरिरहेकाले सफा गर्न कठिन भएको छ ।पहिरो रोकीएमा ५ देखि ६ घण्टामा सडक सफा गर्न सकिने भएपनि पानी परिरहेमा दिनभर लाग्न सक्ने उहाँको भनाइ छ । चार र पाँच किलोमा पहिलेकै ठाउँमा पहिरो खसेको हो । सडक सफा गर्न तीन वटा लोडर, एउटा एक्साभेटर, एउटा व्रेकर र दुईवटा जेसिबी परिचालन गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानदाश थापा सो सडक बिहिबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्र सञ्चालन गर्न सकिएको बताउनुहुन्छ । मुग्लिन नजिकै चारकिलो र पाँचकिलोमा पहिरो खसिरहेकाले समस्या भएको उहाँको भनाइ छ । सेती दोभानमा ठूलो पहिरो खसेपछि थप जटिल बनेको थापाले बताउनुभयो । सडक अवरुद्ध हुँदा विवाह लगायतका अत्यावश्यक काममा हिड्ने प्रभावित भएका छन् । ठूलो सङ्ख्यामा सवारीसाधनमा आएका यात्रुहरु सडकमानै बिचल्लीमा परेको उहाँले जानकारी दिनुभयो ।

शुक्रबार विवाहका लागि हिडेका बेहुलाहरुको बिचल्ली परेको सामुहिक तस्विरहरु सार्वजनिक भएका थिए । यसै गरी पृथ्वी राजमार्गको घोप्टेभिर र कुरिनटारमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । लेदो खसिरहेकाले सडक दुईतर्फी अवरुद्ध भएको थापाले जानकारी दिनुभयो । रासस

यो पनि – बेनी अस्पतालमा इन्डोस्कोपी सेवा

गलेश्वर,१९ असार । म्याग्दीको बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सञ्चालनको तयारी अन्तिम अवस्थामा पुगेको छ । एकसाता भित्र सञ्चालनमा ल्याउने गरी आवश्यक उपकरणहरु जडान गर्न लागिएको अस्पताल विकास समितिले जनाएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३० लाख रुपियाँ बजेटबाट उपकरण खरिद गरी सेवा सञ्चालन गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । “यो सेवा म्याग्दीका लागि अतिनै आवश्यक हो”, उहाँले भन्नुभयो,“सेवा सञ्चालनमा आएपछि धेरै बिरामीले राहत महशुस गर्ने छन् ।”

निवर्तमान सांसद भुपेन्द्रबहादुर थापाको पहलमा धौलागिरि गाउँपालिकालाई विनियोजन गरेको उक्त बजेट गाउँपालिकाले अस्पतालमा इन्डोस्कोपी मेसिन खरिद गर्न सहयोग गरेको अध्यक्ष कटुवालले बताउनुभयो । अस्पतालमै सेवा सञ्चालन भएपछि इन्डोस्कोपी सेवा लिन पोखरा जानुपर्ने बाध्यता हट्ने अध्यक्ष कटुवालले जानकारी दिनुभयो । “सवै उपकरणहरु आइपुगेका छन्”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले भन्नुभयो, “एकहप्ता भित्र सेवा सञ्चालनको तयारी गरेका छौं । यो बेनी अस्पतालको नयाँ सेवा हो ।”

इन्डोस्कोपी सञ्चालनका लागि दक्ष जनशक्ति पनि भएकाले सेवा सञ्चालन गर्न कुनै कठिनाई नभएको उहाँले बताउनुभयो । यस प्रविधिबाट अल्सर, क्यान्सर भएको समेत सहजै थाहा पाउन सकिन्छ । रासस