ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कार्यपालिका बैठक छलेर एकलौटी रुपमा आफ्नो निर्णय गर्ने गरेको आरोप लागेसँगै आगामी दिनमा सबै सदस्यसँग छलफल गरी अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । महानगरपालिकामा यही असार १० गतेअघि बढेको छैटौँ नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा सदस्यहरुले नगरसभा बहिष्कार गरेसँगै चार दिनअघि बुधबार समझदारीपत्रमा हस्ताक्षर गरी अब मिलेर अघि बढ्ने जानकारी गराउनुभएको हो ।
सो सहमतिपत्रमा प्रमुख महर्जनका साथै नेकपा एमालेका तर्फबाट निर्वाचित कार्यपालिका सदस्यको प्रतिनिधित्व गरी नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन र नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडा नं २१ खोकनाका वडाध्यक्ष रवीन्द्र महर्जनले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ । सहमतिपत्रमा कार्यपालिका बैठकमा सबैसँग समन्वय र सहकार्य गरी अघि बढ्ने, विभिन्न समयमा राखेका ध्यानाकर्षण, ज्ञापन र असहमतिका कामबारे आउँदो २३ गते टुङ्ग्याउने र कार्यपालिका बैठक नियमित रुपमा राख्दै जाने उल्लेख गरिएको छ ।
प्रमुख महर्जनमाथि बोर्डमा निर्णय नगरी दरबन्दी नै नभएको वरिष्ठ नगर प्रहरी निरीक्षक भर्ती र नगर प्रहरीको पोसाक परिवर्तन, मनोमानी रुपमा बोलपत्र आह्वान, चिडियाखाना अनि धुर्मुस सुन्तली फाउन्डेशनलाई एकलौटी निर्णयका आधारमा आर्थिक बाँडफाँट, आफ्नै निर्णयका आधारमा मात्रै कारोनाबाट मृत्यु भएका परिवारलाई गर्ने भनिएको रकम सहयोग, सम्पदा क्षेत्रको काम गर्न दरभाउ निर्धारण नगरी त्यसैअघि बढेकोलगायतका आरोप लगाइएको छ ।
यो पनि – टीकापुरमा वडा विभाजन विवादमा –
टीकापुर, १९ असार । कैलालीको टीकापुर नगरपालिका वडा नंं १ को वडा विभाजनका लागि राजनीतीक दलबीच भएको सहमती विवादमा तानिदै गएको छ । स्थानीय राजनीतिक दलले दुई दिन अघि ५ वटा वडा बनाउने निर्णय गरे पनि त्यो तीन दिन टिकेन । राजनीतिक दलले तीन दिनपछि ६ वटा वडा बनाउने सहमती गरेका छन् । कूल ५ वडामा सहमती गरेका राजनीतिक दलले वनगाउँका स्थानीयले नगरपालिकामा तालाबन्दी गरेपछि सहमती फेरेका हुन् । यता ६ वडा बनाउने सहमती गरेपछि टीकापुरका सबै पार्टीका युवाहरुले ६ वडाको विरोध गर्दै शुक्रबार नगरपालिकामा तालाबन्दी गरेका छन् ।
एमाले नेता श्याम खत्री सबैका आ–आफ्नै समस्या, स्वार्थ, माग र बुझाइका कारण राजनीतिक दल निर्णय बदल्न वाध्य भएका बताउनुभयो । ‘‘नगरपालिकामा कुनै पनि दलको बहुमत छैन, हामी राजनीतिक दललाई सहमती गरिदिन आग्रह गरियो’’, नेता खत्रीले भन्नुभयो, ‘‘शुरुमा ५ वडामा सहमती दियौँ, फेरि विवाद भयो । बिहीबार आफ्नै निर्णय बदलेर ६ वडा बनाउने सहमती ग¥याँै तर विवाद सकिएको छैन । यहाँ सबैका स्वार्थ रहेकाले समस्या भएको छ ।’’ नेपाली कांगे्रसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी भने वडा विभाजन जस्तो गम्भीर विषयमा आन्तरिक पार्टी र अन्तरपार्टीबीच वृहत छलफल हुनुपर्ने भए पनि छलफल विना निर्णय गर्दा द्वन्द्व सिर्जना हुने सङ्केत देखिएको बताउनुहुन्छ ।
‘‘वडा नं. १ ठूलो वडा हो । विकास निर्माण, सेवा प्रवाहमा समस्या छ । वडा विभाजन आवश्यक र गम्भीर विषय हो’’, अधिकारीले भन्नुभयो, ‘‘वृहत छलफल विना निर्णय गरेकाले राजनीतिक दलको निर्णय टिक्न नसकेको हो । छलफलबाट गएको भए द्वन्द्व सिर्जना हुने अवस्था आउने थिएन ।’’ वनगाउँका बडघर जीतबहादुर चौधरी भने ६ वडा बनाउने सहमतीलाई स्वागतयोग्य भन्दै सवैले समान रुपमा सेवा सुविधा पाउने बताउनुहुन्छ । ‘‘हामीले माग ग¥यौँ, राजनीतिक दलले सच्याएका छन्’’, चौधरीले भन्नुभयो, ‘‘सबैले समान अवसर पाउने वातावरण बन्छ । ६ वडा कार्यान्वयन हुनुपर्छ ।’’
राजनीतिक दलबीच सहमती भए पनि शुक्रबार सबै दलमा आवद्ध युवाले नगरपालिकामा तालाबन्दी गरेकाले शनिबार बस्ने नगरसभामा यो निर्णय पारित हुन्छ या हुन्न केही भन्न सक्ने अवस्था छैन । वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्य नगरसभाको दुइ तिहाइले पारित गर्नुपर्ने भएकाले जे अवस्था आउँछ त्यही हुन्छ भन्नुभयो । यसअघि ९ वडामात्र रहेको टीकापुर नगरपालिका राजनीतिक दलले १५ वडा बनाउने सहमती दिएका छन् । राजनीतिक दलले वडा नं. १ लाई ६ र २ लाई २ वडामा विभाजन गर्ने सहमती दिएका छन् । वडा विभाजनमा सहमती हुन नसक्दा असार १० गते बसेको बैठक १६ गते बसे पनि सहमती हुन नसक्दा शनिबार १९ गतेका लागि बोलाइएको छ । रासस



प्रतिक्रिया