भर्खरै ढलान गरेको पक्की पुल बगाउँदा आवतजावत बन्द

भर्खरै ढलान गरेको पक्की पुल बगाउँदा आवतजावत बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अविरल वर्षापछि आग्रा र महेश खोलामा आएको ठूलो बाढीले गएराति थाँक्रे गाउँपालिका—२ र ११ जोड्ने सिम्ले महेशखोलामा भर्खरै ढलान सम्पन्न भएको पक्की पुल बगाएको छ । अविरल वर्षाका कारण आग्रा खोलामा आएको बाढीले खोला किनारमा बसेका १३४मजदूर परिवारको बिचल्ली भएको छ ।सबै मजदूरलाई राति नै उद्दार गरी सुरक्षित ठाउँमा राखिएको जनजागृति माध्यमिक विद्यालयका रामचन्द्र रुपाखेतीले बताउनुभयो ।  खोलामा ढुङ्गा झिक्ने, गिट्टी कुट्ने मजदूरहरु आग्राखोला किनारमा छाप्रो बनाई बस्ने गरेका थिए । अविरल वर्षासँगै खोलामा बाढी आएपछि उनीहरुको भागाभाग भएको थियो । उनीहरुलाई स्थानीयबासीको सहयोगमा खोला किनारबाट उद्दार गरी गाउँमा सारिएको थियो ।

तीन दिनदेखिको अविरल वर्षाले जिल्लामा जताततै पहिरो गएको प्रहरीले जनाएको छ । राजमार्गको गल्छी, बैरेनी, जरे, गजुरी, मलेखु, बेनीघाट, जोगिमारा तिकराङ तथा मौवाखोला क्षेत्रमा पहिराले सडकमा अवरोध पु¥याएको छ । सडकमाथि खनिएका सहायक मार्गहरुबाट आएको लेदोले कल्भर्टहरु भरिएर भल सडकमा आएपछि राजमार्ग क्षेत्र क्षतिग्रस्त भएको र सफा गर्ने काम पहिरो रोकिएपछि गरिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो ।

यो पनि – कोशीमा पानीको बहाव बढ्दै, सप्तरीका ५ सय घर डुबानमा –

विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ । आज बिहान ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा दुई लाख ३१ हजार ५१५ क्युसेक पानीको बहाव छ । यसअघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खुला गरी पानीलाई निकास दिइएको छ । नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचित गरेको छ । पानीको बहाव बढ्दो क्रममा रहेकाले ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको छ ।  उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण कोशीमा मिसिने सहायक नदी तथा खोलामा समेत बाढी आउँदा यस नदीको पानी बहाव शुक्रबार रातभरमा २४ हजार नौ सय ९५ क्यूसेकले बढेको हो । वर्षा हुने क्रम अझै जारी रहेकाले जलस्तर अरु बढ्ने अनुमान गरिएको छ ।

पाँच सय घर डुबानमा

लगातारको वर्षा भएपछि सप्तरीको विभिन्न पालिकाका ५ सयभन्दा बढी घर डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोसी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा ३ सयभन्दा बढी घर डुबानमा परेको छ ।

उक्त नगरपालिकाको वडा नं ९, १०, ११ र १२ का करिब ३ सय घर डुबानमा परेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिनुभयो । त्यस्तै त्रियुगा, अमहा, टेंग्रा, गङ्गाजली र सतरापतरा नदीको पानी बस्तीमा पस्दा सप्तरीको सप्तकोसी नगरपालिकाको वडा नं १, २, ३ र ४ का करिब २ सय घर डुबानमा परेको नगरप्रमुख उत्तम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार त्रियुगा नदीले वडा नं २ को सिद्धिपुर र वडा नं ३ को सखुवानीमा तटबन्ध कटान गरिरहेको छ । रासस