गोरखामा पहिरोले घर पुरिँदा एकै परिवारका वृद्ध दम्पतिको मृत्यु

गोरखामा पहिरोले घर पुरिँदा एकै परिवारका वृद्ध दम्पतिको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखामा पहिराले घर पुरिँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा आज बिहान माथिबाट खसेको पहिराले ८० वर्षीय रमन पाण्डेको घर पुरिँदा पाण्डेसहित उहाँकी श्रीमती ७० वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिराले पाण्डेको भूकम्पपछि पुनर्निर्माण गरिएको टिनले छाएको एकतले कच्ची घर पूर्णरुपमा पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । घटनालगत्तै स्थानीयवासीले उद्धारको प्रयास गरेको भए पनि करीब ४ घण्टापछि दुवैको शव पहिराबाट निकालिएको उहाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय जौबारीबाट गएको प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा शव निकालेको हो । सो घरमा पाण्डे दम्पती मात्रै बस्दै आएका थिए ।

युवकको उद्धार

उत्तरी गोरखाको आरुघाट गाउँपालिका–३, सोतीस्थित फुङगी खोलाले बगाएका एक पुरुषको आज उद्धार गरिएको छ । खोलाले बगाएका आरुघाट गाउँपालिका–१ श्यामचेतका २६ वर्षीय किरण लामालाई स्थानीयवासीले उद्धार गरेको प्रहरीले जनाएको छ ।

बिहान करीब ९ः३० बजे खोला तर्ने क्रममा एक्कासि खुट्टा चिप्लिएपछि खोलाले बगाएका लामालाई २० मिटरसम्म बगाएर बगरमा पु¥याएको थियो । घटनालगत्तै स्थानीयवासीले देखेपछि लामाको उद्धार गरिएको उहाँको भनाइ छ । अचेत अवस्थामा उद्धार गरिएका लामाको अहिले आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रनाउ दाहालले जानकारी दिनुभयो ।रासस

यो पनि – कोशीमा पानीको बहाव बढ्दै, सप्तरीका ५ सय घर डुबानमा –

विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ । आज बिहान ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा दुई लाख ३१ हजार ५१५ क्युसेक पानीको बहाव छ । यसअघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खुला गरी पानीलाई निकास दिइएको छ । नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचित गरेको छ । पानीको बहाव बढ्दो क्रममा रहेकाले ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको छ ।  उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण कोशीमा मिसिने सहायक नदी तथा खोलामा समेत बाढी आउँदा यस नदीको पानी बहाव शुक्रबार रातभरमा २४ हजार नौ सय ९५ क्यूसेकले बढेको हो । वर्षा हुने क्रम अझै जारी रहेकाले जलस्तर अरु बढ्ने अनुमान गरिएको छ ।

पाँच सय घर डुबानमा

लगातारको वर्षा भएपछि सप्तरीको विभिन्न पालिकाका ५ सयभन्दा बढी घर डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोसी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा ३ सयभन्दा बढी घर डुबानमा परेको छ ।

उक्त नगरपालिकाको वडा नं ९, १०, ११ र १२ का करिब ३ सय घर डुबानमा परेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिनुभयो । त्यस्तै त्रियुगा, अमहा, टेंग्रा, गङ्गाजली र सतरापतरा नदीको पानी बस्तीमा पस्दा सप्तरीको सप्तकोसी नगरपालिकाको वडा नं १, २, ३ र ४ का करिब २ सय घर डुबानमा परेको नगरप्रमुख उत्तम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार त्रियुगा नदीले वडा नं २ को सिद्धिपुर र वडा नं ३ को सखुवानीमा तटबन्ध कटान गरिरहेको छ । रासस