केही दिनदेखि लगातार वर्षा भएपछि आएको बाढीले सप्तरीको दक्षिणी क्षेत्रका आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा परेका छन् । बाढीका कारण तिलाठी कोइलाडी, लोनीयाँ, सकरपुरा, रम्पुरामल्हनीयासहित आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा रहेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिनुभयो । चुरे क्षेत्र हुँदै बग्ने खाँडो नदीको बाढीले प्रत्येक वर्ष सप्तरीको दक्षिण भेगका अधिकांश गाउँ डुबान र कटानमा पर्ने गरेको उहाँले बताउनुभयो । नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि उहाँले आग्रह गर्नुभयो ।
खाँडो नदी तटवन्धको काम केही ठाउँमा अधुरो रहेकाले कुनै पनि बेला बाढी तिलाठी कोइलाडीमा आउन सक्ने र गाउँपालिकाका अधिकांश घर डुबानमा पर्न सक्ने जोखिम रहेको स्थानीयवासीको भनाइ छ । २०७३ सालको बाढीले तिलाठी कोइलाडी गाउँपालिका—४ का एक बालकको ज्यान लिएको थियो भने हजारौं घरमा क्षति पुर्याएको थियो ।
त्यस्तै महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरीलगायत दर्जनौं खोलामा आउने बाढीले हरेक वर्ष सप्तरीको अधिकांश गाउँ डुवानमा पर्दा ठूलो धनजानको क्षति हुने गरेको पाइएको छ । यस्तै सप्तरीको सप्तकोशी, कञ्चनरूप, हनुमाननगर कंकालिनी, राजविराज नगरपालिकाका साथै अग्निसाईर कृष्णासवरण, महेदवा, तिरहुत, रुपनी गाउँपालिकाका दर्जनौं गाउँबस्ती प्रत्येक वर्ष वर्षाको समयमा बाढी आउँदा डुवानमा पर्ने गरेको पाइएको छ । रासस
यो पनि – छाब्दी खोलाको पक्की पुल भत्किएपछि टुट्यो ग्रामीण भेगसँगको पहुँच –
बुधबार राति परेको भीषण वर्षाले छाब्दी खोलाको पक्की पुल भत्कियो । व्यास नगरपालिकाको भादगाउँ र बेलवास जोड्ने पक्की पुल भत्किएसँगै ग्रामीण बस्तीसँग सदरमुकाम दमौली बजारको दूरी पनि बढेको छ । अठार वर्ष अगाडि बनेको मोटर गुड्ने यही पुलबाट आवतजावत गर्ने सर्वसाधारणले जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता आइपरेको छ ।
बुद्धसिं मार्गअन्तर्गत निर्मित पुल भत्किएपछि यातायात सञ्जालबाट ग्रामीण बस्तीको सम्बन्ध टुटेको छ । किसानले उत्पादन गरेका कृषि उपज दमौली ल्याएर बिक्री गर्न सास्ती भएको छ । ग्रामीण भेगमा दैनिक उपभोग्य वस्तु ढुवानी हुन सकेको छैन ।
पुल भत्किएसँगै तनहुँको दक्षिणी भेगसँगको सम्पर्क टुटेको बेलवासका स्थानीयवासी यामबहादुर आलेले बताउनुभयो । “बुद्धसिं मार्गअन्तर्गत योबाहेक अर्को कुनै पुल थिएन, बल्ल बल्ल सुडेमा एउटा पुल बनेको छ, दमौलीलाई जोड्ने यो मात्रै एउटा पुल थियो”, आलेले भन्नुभयो, “पुल भत्किएसँगै दमौलीसँगको सम्पर्क टुट्यो ।”
यही पुल हुँदै व्यास–१३ को बेलवास, पोखरीभञ्ज्याङ, व्यास–१४ को केशवटार, सुढे, ऋषिङको हुस्लाङ, गुम्लेक, देवघाट, आँबुखैरेनी, बन्दीपुर लगायतका ग्रामीण भेगका बासिन्दा आवतजावत गर्दथे । तनहुँ क्षेत्र नं १ र २ अन्तर्गतका दक्षिणी भेगलाई जोड्ने यो पुल भत्किएसँगै स्थानीयवासीलाई समस्या भएको उहाँको भनाइ छ । “पुल भत्किएसँगै सर्वसाधारणलाई आवतजावत गर्न समस्या त भएको छ नै कृषि उपज सामग्री, दूध लगायतका सामग्री बिक्री वितरण पनि प्रभावित भएको छ”, आलेले भन्नुभयो ।
उहाँका अनुसार यही पुल हुँदै यस भेगका सर्वसाधारणले दूध, निउरो, तरकारी लगायतका कृषि उपज बिक्री गर्न जान्थे । “गरीबहरुले एक छाक टार्नका लागि तरकारी बिक्री गर्न पनि नपाउने भए, पुल भत्किएपछि ठूलो सङ्कट आइपरेको छ”, आलेले भन्नुभयो, “छिटोभन्दा छिटो यहाँ पुल बन्नुपर्छ ।” पुल भत्किएसँगै सङ्घ, प्रदेश र स्थानीय सरकारको चासो रहेको पाए पनि सरकारी कामको ढिलासुस्तीले पुल निर्माणमा ढिलाइ हुने हो कि भन्ने चिन्ता थपिएको उहाँ बताउनुहुन्छ ।
भादगाउँतर्फका सर्वसाधारण बेलवासमा खानेपानी लिन जाने गर्दथे । पुल भत्किएसँगै त्यो काम पनि रोकिएको छ । भत्किएको पुलबाट सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न थालेपछि बेलवासका स्थानीयवासी मिलेर बाँसको फड्के बनाएको भएपनि यसबाट वारपार गर्न जोखिम छ । बाढीपहिराबाट पीडित भएका सर्वसाधारणलाई खाद्यान्न ढुवानी गर्न समस्या भएको छ ।
पुल भत्किएसँगै यस भेगका बासिन्दा बिरामी परे तत्काल उपचारका लागि स्वास्थ्य संस्थासम्म पु¥याउन पनि समस्या हुने देखिएको छ । “तत्कालै यहाँ पुल निर्माण गर्नेतर्फ सम्बन्धित सरोकारवालाको ध्यान जाओस्”, उहाँले भन्नुभयो । दैनिक सयौ सवारी साधन र हजारौँ सर्वसाधारण आवतजावत गर्ने पुल भत्किएसँगै दक्षिणी भेगका बासिन्दा प्रभावित भएको व्यास–१ हाई स्कुलटारका बेलबहादुर रानाभाटले बताउनुभयो ।
पुल भत्किएसँगै यहाँका कृषकलाई दूध दमौली बजारसम्म लगेर बिक्री गर्न समस्या भएको स्थानीयवासी राजन सापकोटाले बताउनुभयो । “उत्पादित दूध घरमै राख्नुपर्ने बाध्यता आइपरेको छ, कतिपयले त एक घण्टाको पैदल बाटो घुमेर बोकेरै पनि लैजानुभयो, तर यो सधँै सम्भव छैन”, उहाँले भन्नुभयो, “छिटोभन्दा छिटो पुल निर्माण गरिदिए कृषकलाई सहज हुन्छ ।” बेलबासमा ६० भन्दा बढी कृषकले दैनिक रुपमा दूध बिक्री गर्ने गर्दछन् । यहाँबाट दैनिक डेढ लाखभन्दा बढीको दूध बिक्री हुन्छ । “पुल भत्किएसँगै पशुलाई खुवाउने दाना ढुवानीमा समस्या भएको छ”, उहाँले भन्नुभयो, “छिटोभन्दा छिटो पुल बन्नुपर्छ ।”
पुल भत्किएर सर्वसाधारणलाई समस्या भएपछि यहाँ बेलिब्रिज राखिने भएको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रक्रिया शुरु भइसकेको तनहुँ क्षेत्र नं १ का विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । तनहुँ र गोरखा पालुङटार जोड्ने मस्र्याङ्दी नदीमा रहेको बेलिब्रिज बेलबासमा जडान गरिने भएको छ ।
तनहुँका दुई अस्पताललाई ३० लाखको स्वास्थ्य सामग्री सहयोग
कारितास नेपालले तनहुँका दुई अस्पताललाई रु ३० लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि यस संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोगमा सदरमुकामस्थित दमौली अस्पताल र शुक्लागण्डकीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई रु ३० लाख ५२ हजार १५७ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
दमौली अस्पताललाई रु १९ लाख १५ हजार १२३ र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई रु ११ लाख ३७ हजार ३४ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । ती सामग्री कारितास नेपालका प्राविधिक संयोजक राजेश सुनुवार र कार्यक्रम संयोजक हरिसिं कँुवरले दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीलाई शुक्रबार हस्तान्तरण गर्नुभयो ।
दमौली अस्पताललाई श्यया, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, मास्क, स्यानिटाइजर, पिपिई, पञ्जा, फेससिल्ड, स्यानिटाइजर लगायतका सामग्री सहयोग गरिएको छ । त्यस्तै जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका लागि पनि अस्पताल श्यया, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, मास्क, स्यानिटाइजर, पिपिई, पञ्जा, फेससिल्ड, स्यानिटाइजर लगायतका सामग्री सहयोग गरिएको छ ।
कोभिड–१९ न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्झौता गरी सामग्री हस्तान्तरण गरिएको कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार सो संस्थाले गण्डकी प्रदेशअन्तर्गतका विभिन्न अस्पताललाई रु एक करोड २० लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गर्नेछ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले स्वास्थ्य सामग्रीले स्वास्थ्यकर्मीलाई प्रेरणा मिल्ने र कोभिड सङ्क्रमितको उपचारमा सहयोग पुग्ने बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल पौडेलले माग गरेका सामग्री सहयोग प्राप्त हुँदा कोभिड उपचारमा सहज वातावरण सिर्जना भएको बताउनुभयो । विभिन्न सङ्घसंस्थाको सहयोगमा अस्पताललाई सामग्री सहयोग भइरहेको डा पौडेलले जानकारी दिनुभयो ।
दमौली अस्पताल र जिपीका अलवा गोरखा अस्पतालका लागि रु १३ लाख ३७ हजार ४१२, लमजुङ अस्पतालका लागि रु १३ लाख ६५ हजार ८४९, सरुवा रोग सङ्क्रामक अस्पताल पोखराका लागि रु १९ लाख २८ हजार ४६८, आँपपीपल अस्पताल गोरखाका लागि रु आठ लाख ३१ हजार ९१७ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि रु ३५ लाख ८२ हजार ६०८ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिने संस्थाले जनाएको छ । रासस
प्रतिक्रिया