अविरल वर्षाका कारण झापामा ३५ घर डुबानमा

अविरल वर्षाका कारण झापामा ३५ घर डुबानमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अविरल वर्षाका कारण नदीहरुमा आएको बाढी बस्तीमा पस्दा जिल्लाका ३५ घर डुबानमा परेका छन् । झापा गाउँपालिका–५ खयरबारीमा २० घर र गौरीगञ्ज गाउँपालिका–७ को आमडाँगीमा १५ घर डुबानमा परेका हुन् । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार विरिङ नदीमा लगाइएको बाँध भत्किँदा झापा गापाका २० घर डुबानमा परिसकेका छन् भने आसपासको बस्ती उच्च जोखिममा रहेको छन् ।

यसैगरी, गौरीगञ्ज गाउँपालिकाको आमडाँगीमा १५ घर डुबानमा परेका छन् । कमल गाउँपालिकाको वडा नं.७ झर्काबाट रतुवा नदीको बाढी गौरादह नगरपालिकाको वडा नं. ५ को बालुबथानतिर पस्ने अवस्थामा छ । अविरल बर्षाका कारण जिल्लाका विभिन्न स्थान जलमग्न भएको र त्यसको विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी कन्काई नदीमा आएको बाढीले शिवसताक्षी नगरपालिका–५ को सिङ्गो बस्ती डुबानको उच्च जोखिममा परेको छ । सशस्त्र प्रहरी हेडक्वाटर २ नम्बर गणका प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले डुबानमा परेका परिवारको उद्धारका लागि सशस्त्र प्रहरीको टोली तैनाथ रहेको बताउनुभयो । पानी नरोकिए र नदीमा पानीको बहाव नघटे उनीहरुलाई आजै सुरक्षित स्थानमा सारिने उहाँले बताउनुभयो । रासस

यो पनि – मनसुनको कम प्रभाव रहने –

देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले केही दिनयता देशका अघिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले विगत तीन दिनदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहनाका साथै सबैजसो भूभागमा हल्कादेखि मध्यम तथा केही क्षेत्रमा भारी वर्षा भएको छ ।

मनसुनी वायुको प्रभाव कहिलेसम्म रहन्छ भन्ने यकिन जवाफ मौसमविदसँग पनि छैन । केही दिनदेखिको निरन्तर वर्षा र बदलीले देशका कतिपय क्षेत्रमा प्राकृतिक विपत्ति तथा मानवीय क्षतिका दुःखद् घटना पनि भए । पछिल्लो तीन दिन लगातार बदली र वर्षा भयो कतिपय क्षेत्रमा भारी÷थेरै भारी वर्षासमेत भएको छ ।

यसै सन्दर्भमा मनसुनी प्रभाव र मौसम सुधारका सवालमा राखिएको जिज्ञासामा जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलले अघिल्ला दिनको तुलनामा मनसुनी वायुको कम प्रभाव रहने तर मनसुनी वायुको प्रभाव कमजोर मात्रामा भए पनि केही दिन रहिरहने बताउनुभयो । उहाँले भन्नुभयो, “मनसुनी वायुको सक्रिय प्रभावले तीन दिनयता निरन्तर वर्षा र कतिपय स्थानभा भारी वर्षासमेत भएको छ, अबका दिनमा पनि मौसममा कहिले सुधार आउँछ भनेर यकिन भन्न सकिने अवस्था नरहेको र अघिल्ला दिनको तुलनामा मनसुनको कम प्रभाव हुने विश्लेषण गरिएको छ ।”

मौसमविद् पोखरेलले मनसुनको कम प्रभाव रहे पनि अझै देशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताउनुभयो । अबका दिनमा दिउँसो र साँझपख मौसम खुले पनि खण्डितरूपमा पुनः बदली र वर्षाको सम्भावन रहिरहन्छ ।

काठमाडौँ उपत्यकाको हकमा विगत तीन दिनदेखि आंशिकदेखि पूर्ण बदली र हल्कादेखि मध्यम वर्षा भएको छ । महाशाखाको विवरणअनुसार आज काठमाडौँमा ६६ मिलीमिटर वर्षा भएको छ । हिजो शुक्रबार ४६ मिलीमिटर वर्षा भएको थियो । सबैभन्दा धेरै सिमरामा १५३, विराटनगरमा १०७, जनकपुरमा ८५, ताप्लेजुङमा ५८, भैरहवामा ५३ र पोखरामा ५५ मिलीमिटर वर्षा भएको छ ।

आज काठमाडौँको अधिकतम २३ दशमलव चार र न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्रि सेल्सियस रहेको छ । अहिले प्रदेश नं १, २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहिरहनुका साथै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ । रासस