नेकपा (एमाले)को केन्द्रीय कमिटीको १३ औँ बैठक सम्पन्न भएको छ । आजको बैठक पार्टीको साङ्गठनिक कामकारबाहीको विषयमा केन्द्रित भएको प्रचारप्रसार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले पाँचबुँदे साङ्गठनिक योजना पेश गर्नुभएको थियो । बैठकले महासचिव पोखरेलले पेश गरेको साङ्गठिन योजना पारित गरेको छ ।
जसअन्तर्गत असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गराइसक्नुपर्ने, साउन ५ गतेभित्र त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने, केन्द्रीय कमिटीको यसअधिको बैठकले तय गरेको आगामी साउन २५ देखि २७ गतेसम्म विधान अधिवेशन काठमाडौँमा गर्ने, त्यसका निम्ति पार्टीका अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, सङ्गठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र नेता रामबहादुर थापाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गर्ने प्रस्ताव पेश भएको थियो ।
पार्टीको तल्ला तहका अधिवेशनअन्तर्गत आगामी भदौ ५ गते वडास्तर र १५ गते पालिकास्तरका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव पेश भएको थियो । केन्द्रीय तहका विभिन्न ३२ वटा विभागमा रहने व्यक्तिको नाम प्रस्ताव गर्न यसअघि नै जारी अन्तरपार्टी निर्देशनअनुसार मागिएको सिफारिश अविलम्ब पठाउन आग्रह गरिएको छ । स्थायी कमिटीको आगामी बैठकले विभागमा रहने सदस्यको नामावाली टुङ्ग्याउने गरि प्रस्ताव गरिएको थापाले जानकारी दिनुभयो । सिङ्गो मुलुक निर्वाचनको तयारीमा जुट्न अनुरोध गरिएको छ । पेश भएको प्रस्तावमा घनिभूत छलफल भएको उहाँले जानकारी दिनुभयो । रासस
यो पनि – ‘कि सम्बन्धन देउ, कि आफै कलेज सञ्चालन गर’: दूर्गा प्रसाइँ –
बिएण्ड सी मेडिकल कलेजले सम्बन्धन नदिए सरकारलाई नै कलेज बुझाउने भएको छ । कलेजका कार्यकारी निर्देशक दूर्गाप्रसाद प्रसाइँले आज यहाँ पत्रकार सम्मेलन गर्दै कलेज सञ्चालनका लागि सम्बन्धन माग गरेपनि नदिएपछि सरकारलाई सञ्चालनको जिम्मा दिने बताउनु भएको छ ।
“ कि कलेजको सञ्चालनको लागि अनुमति देउ, यदि अनुमति नदिने हो भने सरकारले कलेज आफै चलायोस” उहाँले भन्नुभयो, “ भौतिक संरचना सहित बनेको कलेजलाई त्यतिकै बेवारिसे नराखियोस् ।” उहाँले सरकारले सञ्चालन नगने हो भने आफूले सधैका लागि कलेज बन्द गर्ने समेत बताउनुभयो । झापाको अनारमनी–३ मा अवस्थित कलेजले सम्बन्धन नपाउदा कलेज सञ्चालन हुन सकेको छैन । गत बैशाखमा बसेको काठमाडौँ विश्वविद्यालयको ८९ औ सभाले चिकित्सा शिक्षा आयोगलाई कलेजको सम्बन्धनका सम्बन्धमा आवश्यक अध्ययन गरी प्रतिवेदन बुझाउन समेत निर्णय गरेको थियो ।
कार्यकारी निर्देशक प्रसार्इँले आयोगको टोलीले तयार पारेको प्रतिवेदन नबुझाउदा सम्बन्धनमा ढिलाई भइरहेको समेत बताउनुभयो । सभाले सात दिनभित्र कलेज सञ्चालनका सम्बन्धमा प्रवितेदन पेश गर्ने गरी डा। प्रकाशराज पाण्डेको संयोजकत्वमा चार सदस्यीय अध्ययन तथा अनुगमन टोली गठन गरेको थियो । उहाँले कलेज सञ्चालनका लागि आफूले सवै प्रक्रिया पुरा गरिसकेकोले सम्बन्धन दिनुपर्ने माग राख्नुभयो ।
कोरोना भाइरसको समयमा स्वास्थ्यकर्मी अभाव भइरहेकोले बेला कलेजले सम्बन्धन पाए दक्ष जनशक्ति उत्पादन हुने उहाँको भनाइ रहेको छ । एमबिबिएस सञ्चालनका लागि कलेजले करिव ८ बर्ष अघि भौतिक पूर्वाधार तयार पारेपनि सरकारले अझै सम्बन्धन दिएको छैन । उहाँले कलेज सञ्चालनका लागि करिव रु ७ अर्ब रुपियाँ खर्च गरिएको सकेको जानकारी दिनुभयो । रासस
प्रतिक्रिया