प्रतिबन्धित वन लसुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका –५ गुम्दा घर भइ हाल मनाङको चामे गाउँपालिका –३ खितीपुर बस्ने ४५ वर्षीय कान्छा भन्ने माइला गुरुङ र धार्चे– ७, लापु घर भइ हाल खितिपुरमा बस्दै आएका ३८ वर्षीय जितबहादुर गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सुवास खड्काले उनीहरुलाई करिव ३० किलो प्रतिबन्धित वन लसुन सहित पक्राउ गरेको जानकारी दिनुभयो । सो लसुन ६ लाख रुपैयाँ बराबरको भएको बताइएको छ । उनीहरुले नार्पाभूमिको नार गाउँका कृषकहरुबाट प्रतिकेजी चार हजारको दरले किनेर ल्याएको उहाँले बताउनुभयो । बरामद गरिएको वन लसुन नासों गाउँपालिका –५ थोंचे हुँदै मनास्लु पदमार्गमा पर्ने तिल्चे, भीमथाङ हुँदै लार्के पास गरेर गोरखाका ४६ वर्षीय छिरिङ बुन्जो लामालाई बिक्री गर्ने तयारी गरेकोे प्रहरीले जनाएको छ ।
उच्च पहाडी क्षेत्रको २ हजार ५०० देखि ५ हजार उचाइसम्म पाइने वन लसुन यार्सागुम्बा सङ्ंकलन सकिएपछि जेठ असारमा सङ्कलन गरिन्छ । लेकमा पाइने वन लसुन घाउ चोटपटक तथा शल्यक्रियाका बिरामीलाई औषधिको रुपमा दिइने बताइएको छ ।
यो पनि – मस्र्याङ्दी नदीको झोलुङ्गे पुल भासियो, खाद्यान्न ढुवानी रोकियो –
नार्पाभूमि गाउँपालिकास्थित मस्र्याङ्दी नदीको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीले पुल भासिएको हो । पुल भासिदा अहिले खाद्यान्न ढुवानी गर्नमा समस्या भएको छ । यही असार महिनाको शुरुआतदेखि परेको अविरल वर्षाका कारण मस्याङ्दी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “असार महिनाको शुरुआतदेखि आएको अविरल वर्षाले जिल्लामा वितण्डा नै मच्चायो , जिल्लाको सबैभन्दा विकट क्षेत्र नार्पा हो । यहाँ सवारी आवगमन हुदैँन, पैदल , घोडा र गधाको भरमा सदरमुकाम चामेबाट खाद्यान्न ढुवानी गरिन्छ । अहिले मस्र्याङ्दीको बाढीले नार्पा जोड्ने एक मात्र मुख्य माध्यम रहेको कोतोमा झोलुङ्गे पुल भासिएपछि समस्या उत्पन्न भएको छ ।”
बाढीपहिरोका कारण नार्पाभूमिका चार पुल मध्ये तीन बाढीले बगाइसकेको छ । नार्पा जोड्ने मुख्य पुल पनि अहिले भासिएर हिड्नै नहुने भएको यहाँका जनप्रतिनिधिहरुले जनाएका छन् । यहाँका सबै बाटोघाटो र पुलहरु भासिनुका साथै बगाएपछि अहिले खाद्यान्न ढुवानी गर्न समेत रोक लगाइएको छ । नार्पाभूमिका २ का वडाध्यक्ष मिङ्मर फुन्चो लामाले उक्त स्थानमा खाद्यान्न ढुवानी गर्दा दुर्घटनाको सम्भावना रहेकाले आवगमनमा रोक लगाइएको जानकारी दिनुभयो । यसबाट नार्पाका स्थानीय व्यापारी र सर्वसाधारण प्रभावित भएका छन् ।
जिल्लामा बाढीले करोडौँको भौतिक क्षति पु¥याएको जनाइएको छ । मस्र्याङ्दी नदी लगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ । नासोँ , चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरोबाट बढी प्रभावित भएको छ भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ ।
बाढीले भत्काएका सडक अझै बनेनन्
विनासकारी बाढीले क्षतविक्षत बनाएको जिल्लाको सडक सम्पर्क अझै जोडिन सकेको छैन । बाढीले ठाउँठाउँमा सडक भत्काएकाले अन्य जिल्लासँग सडक सम्पर्क बिच्छेद भएको छ । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङदेखि मनाङको माथिल्लो मनाङसम्मका विभिन्न स्थानमा बाढीले भत्काएका सडक सुचारु हुन सकेका छ्रैनन् । सो सडकखण्ड पहिरोले ठाउँ ठाउँमा क्षतविक्षत भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनु भयो ।
उहाँका अनुसार केही ठाउँमा बाढीले सडक बगाएको छ । ती सडक तत्काल सुचारु हुने तत्काल सम्भावना नरहेकोब बताइएको छ । यही असार सडक अवरुद्ध हुँदा खाद्यान्नलगायत अत्यावश्यक सामानसमेत हेलिकप्टरको माध्यमबाट ल्याउनुपर्ने बाध्यता छ । सो सडकखण्डको ४० प्रतिशत सडक अवरुद्ध भएको जनाउँदै सडक सञ्चालन हुन एक महिना लाग्ने देखिएको छ । बाढीले मस्र्याङ्दी नदी अन्य खोलानलामाथि बनेको बेलिब्रिज, झोलुंगे पुल, लघु जलविद्युत् र खानेपानीको पाइप बगाएको छ ।
चामेमा अस्थायी बाटो बनाउन थालियो
मस्र्याङ्दी नदीको पानीको बहाब कम भएपछि सदरमुकाम चामेमा आवतजावतका लागि बाटो बनाउन थालिएको छ । बाढीले भौतिक संरचना, व्यक्तिगत घर, सरकारी कार्यालयका भवन, बस्ती उजाडिएको छ । वर्षा कम भएसँगै नदीको सतह पनि घटेपछि आवतजावतमा सहज बनाउनका लागि चामे गाउँपालिकाका विभिन्न स्थानमा घोटेटो निर्माण थालिएको प्रजिअ लामिछानेले जानकारी दिनुभयो । “मनाङ सडक सञ्जाल टुटेको छ, अस्थायी पुल, सडकहरु पूर्ण रुपमा देखिदैन, आज पानी पर्न कम भएको छ, स्थानीयलाई खाद्यान्न ल्याउन, लान सहज बनाउन बाटो निर्माण थालिएको हो,” उहाँले भन्नुभयो । रासस
प्रतिक्रिया