चिकित्सकको स्वीकृतिबिना औषधि खरीद बिक्री गर्ने पक्राउ

चिकित्सकको स्वीकृतिबिना औषधि खरीद बिक्री गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढीमा चिकित्सकको स्वीकृतिबिना औषधि खरीद बिक्री गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ का सोमराज जोशी र धनगढी–५ का करन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार जोशीलाई धनगढी–१ एलएन चोकमा जाँच गर्ने क्रममा उनको साथबाट चिकित्सकको स्वीकृति बिना खरीद गरेको स्पास्मो लेखेको २० ट्याब्लेट, पर्लिन–७५ लेखेको दुई क्याप्सुल, र प्रेग्यास्टार– १५० लेखेको १२ क्याप्सुल बरामद भएको थियो । निजले उक्त औषधि सेवन गर्नको लागि धनगढी–१ स्थित सन्तोष मेडिको प्रालिबाट खरीद गरेको खुल्न आएको हो ।

त्यस्तै चिकित्सकको स्वीकृति बिना औषधि बिक्री वितरण गर्ने सो मेडिको प्रालिमा खानतलासी गर्दा ती औषधिसहित सोही प्रालिमा काम गर्ने चौधरीलाई पक्राउ गरिएको प्रनाउ विष्टले बताउनुभयो । बरामद औषधि तथा निज जोशी र चौधरीलाई आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग नेपालगञ्ज पठाइने प्रहरीले जनाएको छ ।

यो पनि – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ –

बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज अदालतमा बुझाएको छ । उच्च अदालत पाटनको फैसलाले १४ दिन कैद र रु ९२ लाख जरिवाना हुने ठहर भएर फरार हुँदै आएका मोरङ घर भई काठमाडौँको बालाजु बस्ने शक्ति भुजेललाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनलाई काठमाडौँको बोहोराटारबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आजै ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । उनले विसं २०७६ मा विभिन्न व्यक्तिलाई अष्ट्रेलिया पठाइदिन्छु भनी रकम लिएको र पर्याप्त मौज्दात नहुँदानहँुदै पनि पीडितलाई चेक काटेर दिएका थिए । उनको हकमा बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम सजाय हुने फैसला भएको थियो ।

यो पनि – महासङ्घले दियो मौद्रिक नीतिका लागि सुझाव –

नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीतिका लागि सुझाव दिएको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको टोलीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष मौद्रिक नीतिका लागि सुझाव पेश गरेको हो । महासङ्घले आगामी आवको मौद्रिक नीतिको लागि सुझाव तयार पार्दा महासङ्घले तयार पारेको राष्ट्रिय आर्थिक रुपान्तरण (नेट) २०३० लाई आधार बनाएको छ । महासङ्घले आगामी मौद्रिक नीतिले चालु वर्षको नीतिमा कोभिड–१९ पुनरोत्थानका लागि लिएको नीतिको निरन्तरतासँगै साना तथा मझौला उद्यमीलाई परियोजना कर्जा एवं डिजिटल बैंकिङको विस्तारलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ । “साना तथा मझौला उद्यमी लक्षित पुर्नकर्जाले निक्कै राहत दिएको छ, अध्यक्ष गोल्छाले भन्नुभयो, “यसपटक अर्थतन्त्रमा करीब २२ प्रतिशत हिस्सा राख्ने यस्ता उद्यम र स्टार्टअपको विस्तारका लागि परियोजना कर्जाको अवधारणा ल्याउनुपर्छ ।”

महासङ्घले परियोजना कर्जाको सम्भाव्यताबारे अध्ययन गरिरहेको र छिट्टै राष्ट्र बैंकसमक्ष प्रस्तुत गरिने जानकारी पनि उहाँले दिनुभयो । सो अवसरमा गभर्नर अधिकारीले महासङ्घबाट प्रस्तुत सुझाव यथार्थपरक र सान्दर्भिक रहेको वताउनुभयो । “महासङ्घका सुझाव यथार्थपरक छन्”, उहाँले भन्नुभयो, “यसमा अध्ययन गरी के कसरी कार्यान्वयन गर्न सकिन्छ हामी थप छलफल गर्छौं ।”

व्यवसाय निरन्तरता कर्जाको प्रभावकारी कार्यान्वयनका लागि तलबबाहेक अन्य कामका लागि पनि सुविधा होस् भन्ने माग निजी क्षेत्रको भएको आफूले बुझेको उहाँले उल्लेख गर्नुभयो । आगामी आवको मौद्रिक नीति बजारमा तरलता प्रवाह गर्नेतर्पm बढी केन्द्रित हुनुपर्ने, उपलब्ध उपकरणको प्रयोग गरी एकल अङ्कमा ब्याजदर कायम गर्ने प्रयास नीतिले गर्नुपर्ने सुझाव दिइएको छ । आर्थिक गतिविधि बढ्दा विदेशी विनिमय सञ्चिति र भुक्तानी सन्तुलनमा पर्ने चापको अवस्थालाई पनि सुक्ष्मरुपमा नीतिले केलाउनुपर्ने उल्लेख छ ।

सरकारले तदारुकताका साथ खोप वितरण गर्न सक्यो भने आव २०७८÷७९ मा अर्थतन्त्र पूर्णतया लयमा फर्किने आँकलन गरिएको छ । दुई वर्षको न्यून वृद्धिपछि आगामी आर्थिक वर्षमा दोहोरो अङ्कको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ । आगामी १० वर्षमा २३ लाख थप रोजगारी हुने प्रक्षेपण गरेको छ । सो अवसरमा महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र सङ्घई, बैंक, बीमा तथा वित्तीय समितिका सभापति शाहिल अग्रवाल र उपमहानिर्देशक गोकर्ण अवस्थी र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूको उपस्थिति थियो । रासस