निजी क्षेत्रसँग सहकार्य : मुख्यमन्त्री पोखरेल

निजी क्षेत्रसँग सहकार्य : मुख्यमन्त्री पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, २१ असार(रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न खोजेको बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगले मौद्रिक नीतिका बारेमा आइतबार साँझ गरेको छलफलमा उहाँले प्रदेशको वस्तुस्थितिअनुसारको मौद्रिक नीति आओस् भनेर व्यवसायीहरूसँग छलफल गरिएको बताउनुभयो । नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढेको बताउँदै उहाँले सरकारको मापदण्डमा रहेर निजी क्षेत्रको सहयोगमा सरकार खोप किन्न तयार रहेको र यसका लागि सम्पर्क स्थापित गर्न व्यवसायीहरूको सहयोग जरुरी रहेको उल्लेख गर्नुभयो ।

बिना विभागीयमन्त्री हरिशरण आचार्यले राज्य र निजी क्षेत्रको सम्बन्ध प्रष्ट पारेर अघि बढेमा मात्र समृद्धि सम्भव भएको बताउनुभयो । नीति तथा योजना आयोग उपाध्यक्ष डा रघुराज काफ्लेले सङ्घीय प्रणालीमा आएपछि पनि मौद्रिक नीतिको ढाँचामा परिवर्तन हुन नसकेको धारणा राख्नुभयो । रोजगारी बढाउन, आर्थिक सूचक माथि उठाउन सरकारले सुझाव सङ्कलन गरी राष्ट्र बैंकमा आधिकारिक रूपमा लेखी पठाउने उहाँले बताउनुभयो ।

नेपालराष्ट्र बैंक पोखराका निर्देशक ईश्वरी भट्टराईले प्रदेशअनुसार ब्याजदर निर्धारण नसकिए पनि प्राथमिकताअनुसार काम गर्न सकिने बताउनुभयो । कार्यक्रममा सहभागी व्यवसायी तथा विज्ञहरूले आगामी आर्थिक वर्षको बजेटको दुई तिहाइ हिस्सा आन्तरिक राजस्व र करबाट उठाउने लक्ष्य राख्ने सरकारले व्यवसाय रक्षाका लागि केही पहल नगर्नु दुःखदायी रहेको बताएका थिए । बैंकर तथा उपप्राध्यापक विश्वमोहन अधिकारीले राष्ट्र बैंकले सात महिना ढिलो गरी पुनर्कर्जा कार्यविधि ल्याए पनि कार्यान्वयनमै समस्या भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा उद्यमी सीता गुरुङ, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम ढकाल, यातायात व्यवसायी योगेन्द्र केसी, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई तथा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले कोरोना प्रभावित व्यवसायलाई जोगाउने किसिमका कार्यक्रमलाई मौद्रिक नीतिले समेट््दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

यो पनि – महिलामा पार्टी पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्छ : नेता सिटौला

काठमाडौँ, २१ असार (रासस) : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिलामा कांग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्ने बताउनुभएको छ । लोकतन्त्रका लागि हाम्रो अभियानले आइतबार साँझ यहाँ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन : नीति र नेतृत्वमा महिला’ विषयक प्रदेश १ र २ स्तरीय भर्चुअल अन्तरक्रियामा उहाँले पार्टी पदाधिकारीमा पुरुषसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता महिलाले राखेमात्र महिला क्षमता विकास हुने बताउनुभएको हो ।

“पार्टीभित्र महिलाहरु समावेशी अधिकारका लागि मात्र लडेर हुँदैन, प्रतिस्पर्धामा जानुपर्छ, प्रतिस्पर्धासँगै महिलाको क्षमता विकास हुँदै जान्छ,”, नेता सिटौलाले भन्नुभयो । पार्टीका पूर्व महामन्त्री सिटौलाले पार्टीभित्र चाकडी र चाप्लुसी बढ्दै गएकाले महिलाहरु नेतृत्वमा पुग्न नसकेको उल्लेख गर्नुभयो । उहाँले संविधानअनुसार महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत अधिकार दिनेबारेमा पार्टीभित्र आफू सकारात्मक रहेको स्पष्ट पार्नुभयो ।

कांग्रेस पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले महिलाहरु नेतृत्वमा पुग्न नसकेसम्म महिलाका लागि उचित नीति बन्न नसक्ने बताउनुभयो । “पार्टीको नीति निर्माणको ठाउँमा पुरुष हावी हुँदा महिला नेतृत्वलाई अगाडि बढाउन गाह्रो भयो,” उहाँले भन्नुभयो । उहाँले मुलुकका हरेक आन्दोलनमा महिलाहरुले अग्रणी भूमिका निर्वाह गरे पनि नेतृत्व तहमा अहिलेसम्म पुग्न नसकेको बताउनुभयो । संविधानको मर्म र भावनाअनुसार पार्टीले महिला नेतृत्वलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

पार्टीका केन्द्रीय सदस्य एवं कार्यक्रमका संयोजक डा डिला सङ्ग्रौलाले नेपालमा आधाभन्दा बढी जनसङ्ख्या भएको महिलाहरु कांग्रेसको नेतृत्वमा पुग्न नसकेको गुनासो गर्नुभयो । उहाँले संविधानले राज्यको हरेक निकाय र पार्टीको हरेक संरचनामा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरे पनि उक्त अधिकारको पालना नभएको गुनासो गर्नुभयो ।