ओखलढुङ्गाको खिजीदेम्बाबाट गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

ओखलढुङ्गाको खिजीदेम्बाबाट गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सामान्य अवस्थामा सुत्केरी हुन नसकेर प्रसवको पीडा बढेपछि खिजिदेम्बा–५ की २६ वर्षीया ल्हमु शेर्पालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो । छ्रत्तीस हप्ताको गर्भवती रहेकी शेर्पामा केही दिनअघि प्रसव पीडा शुरु भएको थियो । सुत्केरी हुनेक्रम नजिकिँदै गरेको र गर्भवतीमा मानसिक समस्यासमेत देखिएपछि परिवारले खिजिफलाँटे कोभिड अस्पतालमा ल्याएको थियो । गाउँपालिकास्तरमा उपचारका लागि पर्याप्त स्रोत, साधन नहुँदा थप उपचारका लागि काठमाडौँ पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले जानकारी दिनुभयो ।

सार्वजनिक सवारी नचलेको र गर्भवतीको अवस्था जटिल बन्दै गएकाले राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । शनिबार उद्धार गरी काठमाडौँ पठाइएको महिलाको अहिले काठमाडौँको थापाथली प्रसूतिगृहमा उपचार भइरहेको छ । रासस

 

यो पनि – सरुवा रोगबाट बच्न गाउँमा सरसफाइ गर्दै गाउले –

टीकापुर, २१ असार (रासस) : कैलालीको टीकापुर–८ वनगाउँका स्थानीयवासीले वर्षायाममा लाग्ने विभिन्न खाले सरुवा रोग र किरा फट्याङग्राबाट बच्न गाउँ सरसफाइ गर्न थालेका छन् । स्थानीय युवाहरुले सडकमा रहेका झाडी सफा गर्ने, खाल्डाखुल्डी पुर्ने र नागरिकलाई सरसफाइबारे जागरुक गराउने काम थालेका हुन् ।

वनगाउँ गाउँका सबै सडक सरसफाइ गरिएका छन् । बर्सातको समय भएकाले सडकमा झारफात तथा फोहर हुने, लामखुट्टे, सर्पदंश तथा अन्य रोगको सङ्क्रमण हुनसक्ने भएकाले घर आँगनसँगै सडक सरसफाइ गरिएको गाउँका बडघर रामकृष्ण चौधरीले बताउनुभयो । “स्वस्थ हुनका लागि व्यक्ति सफा भएर मात्र हँुदैन । यसका लागि वरिपरिको वातावरण पनि सफा स्वच्छ हुनुपर्दछ”, बडघर चौधरीले भन्नुभयो, “एक व्यक्ति नभई गाउँ समाज पनि सफा हुनुपर्दछ भनी हामी गाउँ नै सफा राख्ने अभियानमा जुटेका हौँ । बर्सातमा लामखुट्टेको टोकाइबाट धेरै रोग लाग्छन् । त्यसबाट बच्नसमेत सहयोग पुग्छ ।”

स्थानीयवासीले पहिलो दिन तीन किलोमिटर सडक सरसफाइ गरेका छन् । बर्सातको समयमा झाडापखालाजन्य सरुवा रोगका प्रकोप हुन सक्ने भएकाले स्थानीय ८५ युवाको सहयोगमा सडक सरसफाइ भइरहेको स्वास्थ्य स्वयंसेविका जुगनीदेवी चौधरीले बताउनुभयो । “अन्य समयभन्दा फोहोर पानी, खानपानमा ध्यान नदिँदा झाडापखाला, भाइरल ज्वरो जस्ता विभिन्न खाले रोग लाग्ने डर रहन्छ”, उहाँले भन्नुभयो, “त्यसैले हामीले गाउँमा रहेका झाडी, पानी जमेका खाल्डाखुल्डी पुर्नुपर्छ भनी सल्लाह ग¥यौँ । सबै सहमत भए, खेतीपाती सकेपछि गाउँमा सरसफाइ अभियान चलेको छ ।”

सडक सरसफाइ नियमित कार्य भएकाले यसको आगामी दिनमा पनि नियमित सरसफाइ गर्ने स्थानीयवासीको भनाइ छ । सरसफाइ घरमा मात्र गरेर स्वस्थ नहुने भएकाले गाउँ नै स्वच्छ र स्वस्थ राख्नका लागि गाउँलेहरुको संयुक्त सहयोगमा सरसफाइ गरिएको स्थानीयवासी रुपा चौधरीले बताउनुभयो । “गाउँको विकास पूर्वाधार निर्माण, बाटोघाटो बनेर मात्र हुँदैन, गाउँ सफा पनि हुनुपर्छ”, रुपाले भन्नुभयो, “स्वास्थ्य पहिलो प्राथमिकता रहेछ भन्ने कुरा समुदायमा कोरोना सङ्क्रमण फैलिएपछि सबैले बुझेका छौँ । अब रहनसहन, खानपान र सरसफाइमा ध्यान दिनेबारे रहेक बैठक, छलफलमा कुरा उठ्न थालेको छ ।”

बडघरको नेतृत्वमा गाउँमा छलफल गरी आफ्नो गाउँ सफा राख्ने जिम्मा आफ्नै हो भनी स्थानीयवासीले सरसफाइ अभियान, बिग्रिएका सडक निर्माण जस्ता कार्यमा आफैँ जुट्ने समेत बताएका छन् । स्वास्थ्यकर्मीले समेत ग्रामीण क्षेत्रमा गएर स्वास्थ्य जनचेतना जगाउने गरेका छन् । “हामीले हरेक आमा समूहको बैठक, गाउँघर क्लिनिक, खोप कार्यक्रममा सरसफाइसम्बन्धी छुट्टै ज्ञान दिने गरेका छौँ । बाँच्नका लागि सरसफाइको महत्वबारे ज्ञान दिने गरिएको छ”, धनसिंहपुर स्वास्थ्य चौकीका इञ्चार्ज केवलसिंह सार्की भन्नुहुन्छ, “नागरिक विस्तारै सचेत बन्दै गएका छन् । सफा वातावरणमा हुर्कने बच्चा र त्यो परिवार स्वस्थ हुन्छ । गाउँघरमात्र होइन घरमा खानेकुरा पनि सफा र स्वस्थ खानेबारे समेत सचेत हुन आवश्यक छ ।”

यो पनि – महिलामा पार्टी पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्छ : नेता सिटौला

काठमाडौँ, २१ असार (रासस) : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिलामा कांग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्ने बताउनुभएको छ । लोकतन्त्रका लागि हाम्रो अभियानले आइतबार साँझ यहाँ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन : नीति र नेतृत्वमा महिला’ विषयक प्रदेश १ र २ स्तरीय भर्चुअल अन्तरक्रियामा उहाँले पार्टी पदाधिकारीमा पुरुषसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता महिलाले राखेमात्र महिला क्षमता विकास हुने बताउनुभएको हो ।

“पार्टीभित्र महिलाहरु समावेशी अधिकारका लागि मात्र लडेर हुँदैन, प्रतिस्पर्धामा जानुपर्छ, प्रतिस्पर्धासँगै महिलाको क्षमता विकास हुँदै जान्छ,”, नेता सिटौलाले भन्नुभयो । पार्टीका पूर्व महामन्त्री सिटौलाले पार्टीभित्र चाकडी र चाप्लुसी बढ्दै गएकाले महिलाहरु नेतृत्वमा पुग्न नसकेको उल्लेख गर्नुभयो । उहाँले संविधानअनुसार महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत अधिकार दिनेबारेमा पार्टीभित्र आफू सकारात्मक रहेको स्पष्ट पार्नुभयो ।

कांग्रेस पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले महिलाहरु नेतृत्वमा पुग्न नसकेसम्म महिलाका लागि उचित नीति बन्न नसक्ने बताउनुभयो । “पार्टीको नीति निर्माणको ठाउँमा पुरुष हावी हुँदा महिला नेतृत्वलाई अगाडि बढाउन गाह्रो भयो,” उहाँले भन्नुभयो । उहाँले मुलुकका हरेक आन्दोलनमा महिलाहरुले अग्रणी भूमिका निर्वाह गरे पनि नेतृत्व तहमा अहिलेसम्म पुग्न नसकेको बताउनुभयो । संविधानको मर्म र भावनाअनुसार पार्टीले महिला नेतृत्वलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

पार्टीका केन्द्रीय सदस्य एवं कार्यक्रमका संयोजक डा डिला सङ्ग्रौलाले नेपालमा आधाभन्दा बढी जनसङ्ख्या भएको महिलाहरु कांग्रेसको नेतृत्वमा पुग्न नसकेको गुनासो गर्नुभयो । उहाँले संविधानले राज्यको हरेक निकाय र पार्टीको हरेक संरचनामा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरे पनि उक्त अधिकारको पालना नभएको गुनासो गर्नुभयो ।