विदेशबाट फर्केर बाख्रापालनबाट मनग्गे आम्दानी गर्दै किसान

विदेशबाट फर्केर बाख्रापालनबाट मनग्गे आम्दानी गर्दै किसान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

व्यावसायिक बाख्रापालनबाट पछिल्लो समयमा राम्रो आम्दानी हँुदै आएको छ । सस्तो र कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएपछि दाङमा व्यावसायिक रुपमा बाख्रापालन फस्टाएको छ । अधिकांश किसान बाख्रापालनबाट राम्रो आम्दानी गरेका छन् । घोराही उपमहानगरपालिका–१ निवासी सुमन थापाले चार वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन शुरु गर्नुभएको हो । विदेशमा दुःख, कष्ट सहेर काम गर्दा सोचेजस्तो सफलता हात नपरेका र राम्रो कमाइ गरेका पनि नेपालमा आएर व्यावसायिक रुपमा बाख्रापालनमा आकर्षण भएका छन् । थापाले घर खर्चको लागि पालेका दुई बाख्राबाट अहिले २१ वटा भएका छन् ।

उहाँले ५० वटा अट्ने एउटा खोर बनाउनुभएको छ । खर्च कटाएर वार्षिक रु चार लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो । चार वर्ष मलेसिया बसेँ त्यहाँ केही फाइदा नदेखेपछि घर पर्केर बाख्रा पाल्न शुरु गरेको हुँ, थापा भन्नुहुन्छ । “२० हजारको लगानीमा चार पाठीबाट शुरु गरेको व्यवसाय अहिले १० वटा पाठापाठी दिने माउ, १२ वटा पाठापाठी र दुई वटा बोका छन् ।”

दुई महिनाको पाठापाठी रु १० हजारका दरले बिक्री हुने गरेका छन् । खर्च कटाएर रु तीन लाख वार्षिक आम्दानी हुने गरेको उहाँको भनाइ छ । यसपालि घोराही उपमहानगरको कृषि शाखाले बोयर जातको बोका दिएकाले क्रस पाठापाठी भयो भने आम्दानी अझै राम्रो हुने थापाको विश्वास छ । घोराही–१ सिमलतारा निर्मला सेनपुनलाई आफ्नी आमाले दुई पाठी दिनुभएको थियो । तिनै बाख्रा पाल्दै जाँदा अहिले ११ वटा भएका छन् । तीन वर्षदेखि बाख्रापालन गर्दै आउनुभएकी सेनलाई घोराही उपमहानगरपालिले कृषि शाखाले चार माउ बाख्रा दिएपछि उहाँ धेरै खुशी हुनुभएको छ ।

श्रीमान् वैदेशिक रोजगारीबाट फर्किएपछि यतै व्यवसायिक रुपमा बाख्रापालनमा लगाउने उहाँँको योजना छ । “विदेशी भूमिमा काम गर्नुभन्दा थोरै भए पनि आफ्नै भूमिमा काम गर्नु उत्तम हुन्छ । काम सानो, ठूलो नभनी आफ्नो लगानीमा गाउँघरमा काम गर्दा आनन्द लागेको छ”, पुनले भन्नुभयो । राम्रो व्यवस्थित एउटा खोर बनाउनुभएकी पुनलाई घर छेउमा भएको डालेघाँसले सजिलो भएको छ । खर्च कटाएर वार्षिक रु दुई लाखभन्दा धेरै आम्दानी हुने गरेको छ । दाङमा बाख्राको बजार एकदमै राम्रो भएकाले बिक्रीका लागि समस्या नभएको उहाँले बताउनुभयो । रासस

यो पनि – लोपोन्मुख बासमती धानको व्यावसायिक खेती-

पकाउँदा र भोजन गर्दा समेत मगमग बास्ना चल्ने स्वादिस्ट बासमती चामललाई संरक्षण गर्ने ध्येयले राष्ट्रिय खाद्य बैंक कम्पनीले मुलुकका विभिन्न जिल्लामा बासमती धानको व्यावसायिक खेती शुरुआत गरेको छ । झापा, कैलाली, बर्दिया र कास्कीलगायतका जिल्लामा यस वर्ष ५०० बिगाहा जग्गा भाडामा लिएर कम्पनीले बासमती धानको बीउ रोप्न शुरुआत गरेको कम्पनीका अध्यक्ष शंकरनाथ उप्रेतीले बताउनुभयो । कम्पनीले झापाको गौरादह नगरपालिका वडा नं २ र ७ मा ५० बिगाहा जग्गा लिजमा लिएर बासमती धानको खेती शुरु गरेको छ । शनिवार सयभन्दा बढी रोपाहार लगाएर परम्परागत रुपमै धुमधामका साथ रोपाइ गरेको थियो । स्थानीय १३ किसानको ५बिगाहा जमिन प्रतिबिगाहा वार्षिक रु ३५ हजारका दरले भाडामा लिइएको उहाँले जानकारी दिनुभयो । आगामी वर्षदेखि झापामै सयौ बिगाहामा बासमाती धानको खेती विस्तार गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । कम्पनीको झापाका संयोजक धनञ्जय चुँडालका अनुसार गौरादहमा कालो नुनिया, हुलास बासमती, हाइव्रिड कालो नुनिया र रैथाने बासमतीको विऊ रोपिएको छ ।

स्थानीय डिल्लीप्रसाद सेढाईंले कम्पनीलाई चार बिगाहा जग्गा भाडामा दिइको जानकारी दिनुभयो । बिगतमा आफुले उत्पादन गरेको धान समयमै बिक्री नहुने, विचौलियाका कारण सस्तो मूल्यमा बेच्नुपर्ने, खेतीमा मजदूर नपाउने आदि कारणले हैरान भइरहेको अवस्थामा कम्पनीले जग्गा लिजमा लिँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो ।यस बर्ष कम्पनीले परम्परागत रुपमै खेती गरेको कारण खेत जोत्न, बीऊ उखेल्न र रोपाई गर्न स्थानीयबासीले नै रोजगारी पाएका छन् । अर्को सालदेखि यान्त्रिकीकरण गरेर खेती गरिने कम्पनीले जनाएको छ ।

कृषिको उत्पादन, भण्डारण र विक्री वितरण आफैंले गर्ने नीति अनुरुप देशैभर धान खेती गर्ने यो पहिलो कम्पनी हो । जिल्लामा कूल ८७ हजार ५०० हेक्टर क्षेत्रमा धानखेती भइरहेको छ । तीमध्ये ६ देखि ७ प्रतिशत मात्र बासमती धानको खेती हुँदै आएको कृषिज्ञान केन्द्रका विज्ञ शालिकराम भट्टराईले जानकारी दिनुभयो । अन्य धानको तुलनामा यसको उत्पादन कम हुने र पाक्ने समय पनि बढी हुने हुँदा किसानहरुको यसप्रति खासै रुची नभएको उहाँको भनाइ छ । “पुराना र धनाढ्य किसानले मात्र बासमति धानको खेती गरिरहेका छन्”, उहाँले भन्नुभयो, “अरु धान पाक्दा यो धान पसाउन मात्र सुरु गर्छ । मगमग बासना धेरै आउने हुँदा किराहरु बढी लाग्ने र उत्पादकत्व घट्ने हुँदा व्यावसायिक किसानले यसको खेती गर्दैनन् ।” रोपेको १२० दिनमा मन्सुलीलगायतका धान पाक्ने भए पनि बासमती धान १५० दिनमा मात्र पाक्ने उहाँको भनाइ छ ।

थोरै भए पनि झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगी र दक्षिण क्षेत्रमा बासमति धानको खेती हुने गरेको छ । तर, राष्ट्रिय खाद्य बैंकले जिल्लामा गरिरहेको बासमति धानको खेती बारे कृषिज्ञान केन्द्रमा कुनै पनि जानकारी नआएको बताउनुभयो । दुई अर्बको पूँँजी रहेको खाद्यान्न बैंकका ७७ वटै जिल्लामा कार्यालय रहेको र मुलुकका ७५३ वटै स्थानीय तहमा कार्यक्षेत्र रहेको अध्यक्ष उप्रेतीे बताउनुभयो । कृषि, माटो, बनस्पति, वातावरण, पर्यटन तथा जलस्रोत विज्ञहरु, कृषि प्राविधिक र कोरिया, जापान, चीनबाट कृषि तालिम लिएका अनुभव प्राप्त व्यक्तिहरुको संयुक्त लगानीमा यो बैंकको स्थापना गरिएको उहाँको दाबी छ । बैंकमा हालसम्म ५८७ जना प्रमोटर शेयर सदस्य रहेको र निकट भविष्यमै यसले एक हजार शेयर सदस्य पु¥याउने लक्ष्य लिएको छ ।

झापा, मोरङ र सुनसरीका लागि नमूना परियोजनाका रुपमा गौरादहमा यसले धान खेती गरेको जनाएको छ । अन्य प्रजातिको धानको तुलनामा बासमती धानमा पोषक तत्वको मात्रा बढी हुने हुँदा यसको खेती गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार फुड एण्ड न्यूट्रिसनको बारेमा जानकारी दिलाउने, पोषणयुक्त खानेकुरा उत्पादन गर्ने र अग्र्यानिक कृषि उपजहरु उत्पादनमा लगाउने बैंकको मुख्य लक्ष्य रहेको छ । लाखौंलाई रोजगार दिने र परनिर्भरतालाई घटाएर मुलुकलाई कृषिउपजमा आत्मनिर्भर बनाउने उहाँले बताउनुभयो । रासस