बाढीपहिराले बगेका विद्युत्का नहर पुनःनिर्माण

बाढीपहिराले बगेका विद्युत्का नहर पुनःनिर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गत वर्ष बाढीपहिराले बगाएका ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा लघुजलविद्युत् आयोजनामध्ये अधिकांशको नहर पुनःनिर्माण सम्पन्न भएका छन् । केही निर्माणाधीन छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गण्डकी प्रदेश सरकारको बजेटमा ती नहर पुनःनिर्माण गरेको हो । प्रदेश सरकारले पठाएको रु एक करोड १२ लाखबाट डिभिजन कार्यालयले अधिकांश जलविद्युत् आयोजनाको नहर मर्मत गरेको इञ्जिनीयर शङ्कर बुढाथोकीले जानकारी दिनुभयो ।

गत वर्ष ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीले एकै खोलाका ६ वटा आयोजना बगाएको थियो । वडा नं ५, ६, ७, ८ र ९ का लघुजलविद्युत् आयोजना भुजीखोलाको बाढीपहिराले बगाएपछि अधिकांश बासिन्दा बिजुली बाल्नबाट वञ्चित थिए । डिभिजनमार्फत संरचना बनेपछि अहिले नहर सञ्चालनमा आएका छन् । बगेकामध्ये सैखोला लघुजलविद्युत् आयोजना रु दुई लाखको लागतमा मर्मत भएको हो । वडा नं ६ को गाडीखोला लघुजलविद्युत् आयोजनाको नहर रु तीन लाखमा र वडा नं ७ को भुजीखोला लघुजलविद्युत् आयोजना आठ लाख ५० हजारमा मर्मत भएको हो ।

संरचना निर्माणमा बजेट खर्च भएको हो भने अन्य काम उपभोक्ताले श्रमदान गरेर बनाएका हुन् । स्थानीय पालिकाले ती आयोजना मर्मतमा लगानी गरेका थिए । “सबैतिरबाट बजेट परिचालन गरेर विद्युत् सञ्चालन गर्न सकियो”, ढोरपाटन नगरपालिका– ५ का अध्यक्ष लक्ष्मण पुनले भन्नुभयो,“कतै अस्थायी, कतै स्थायी संचरना बनाएर बिजुली बालिएको छ ।”

बडीगाड गाउँपालिका–८ को चाँचलघाट जलविद्युत् आयोजनाका लागि रु ११ लाख, जैमिनी नगरपालिकाको ठेउले खोलास्थित वडा नं ८ मा दुई लाख, वडा नं ९ र ४ मा चार÷चार लाख, वडा नं १ मा दुई लाख खर्चेर आयोजना मर्मत गरिएको हो । गलकोटको घोम्टेखोलामा रु सात लाख, तल्लो साउने खोलामा रु आठ लाख खर्चेर बिजुली बालिएको छ । तमानखोलामा पनि बाढीले लघुजलविद्युत् अयाोजनामा क्षति पुगेको थियो ।

तीमध्ये तल्लो तमानखोला लघुजलविद्युत्मा १३ लाख खर्च भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । निसीखोलातर्फ क्षति भएकामध्ये निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनामा रु सात लाख ५० हजार र तेस्रोमा आठ लाख ५० हजार र वायखोलामा रहेको नहर पाँच लाखमा मर्मत भएको हो ।

त्यस्तै जैमिनीको सुम्साघाट सिँचाइ आयोजना पनि डिभिजनले निर्माण गरेको छ । उक्त आयोजनामा रु ३० लाख खर्चेर नहर चलाइएको डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले बताउनुभयो । डिभिजनले सिँचाइ कुलो निर्माण तर्फपनि लगानी गरेको छ । तर ती आयोजनामा भने ४० प्रतिशत मात्रै प्रगति भएको बताइएको छ । कोरोना कहर, निषेधाज्ञा र हचुवाको भरमा आएका कतिपय योजना कार्यान्वयन कठिनाइ भएकोले प्रगति गर्न नसकिएको पौडेलले बताउनुभयो । रासस