पहिरोको उच्च जोखिममा रहेको क्षेत्रमा भौगर्भिक अध्ययनलाई तीव्रता

पहिरोको उच्च जोखिममा रहेको क्षेत्रमा भौगर्भिक अध्ययनलाई तीव्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाह्रबिसे नगरपालिकाले बाढी र पहिराको उच्च जोखिममा रहेको क्षेत्रमा भौगर्भिक अध्ययनलाई तीव्रता दिएको छ । नगरपालिकाले आइतबार वडा नं ७ को आरूचे, हुण्डुङ, ढकाल गाउँबाट भौगर्भिक अध्ययनको शुरुवात गरेको हो । जोखिमपूर्ण बस्तीको भौगर्भिक अध्ययनका लागि भू–गर्भविद्सहितको विज्ञ टोलीको नेतृत्व उपप्रमुख सुशीला पाख्रिनले गरिरहनुभएको छ । दोस्रो दिन एउटा टोलीले नागपुजे, भिरखर्क पहिराको शुरूआत बिन्दु घुम्थाङ् टँुडिखेलको फेदी हँुदै घुम्थाङ् शेर्पा बस्तीको सिरानसम्मको अध्ययन पूरा गरेको उपाध्यक्ष पाख्रिनले जानकारी दिनुभयो ।

अर्को टोलीले भिरखर्क, भिर थाप्लोलगायतका बस्तीस्तरीय अध्ययन गरेको छ । जोखिमपूर्ण बस्तीमा उपप्रमुख पाख्रिनको नेतृत्वमा रहेको भू–गर्भविद्को टोलीले मिहिनसँग अध्ययन गरिरहेको छ । गाउँ पुगेको विज्ञ टोलीलाई इलाका प्रहरी, वडाका प्राविधिक, प्रतिबद्ध संस्थाका इञ्जिनीयर प्रतिनिधिले सहयोग गरिरहेका छन् । विज्ञ टोलीले नगरपालिकाको नौ वटै वडामा अध्ययन गर्ने छ । अध्ययन प्रतिवेदनको फाइनल रिपोर्ट आएपछि नगरपालिकाले विस्तृत योजना बनाएर काम बढाउने उपप्रमुख पाख्रिनले बताउनुभयो ।

“हामीले भौगर्भिक अध्ययनलाई तीव्रता दिइरहेका छौँ, हाम्रो ठाउँ खासगरी बाढीपहिराको उच्च जोखिममा छ, अध्ययन प्रतिवेदनका आधारमा आगामी दिनमा नगरवासीलाई सुरक्षित बसोबासको प्रबन्ध मिलाउन सहयोग पुग्नेछ”, उपप्रमुख पाख्रिनले भन्नुभयो ।’

नगरपालिकाले यसअघि वडा नं– ५ खोराङ बस्तीका बाढीपहिराका कारण उच्च जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारिसकेको छ । खोराङका १६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको उपप्रमुख पाख्रिनले बताउनुभयो ।

दक्षिण कोरियामा बस्ने नेपालीको सहयोग

मेलम्ची–ईन्द्रावती बाढी प्रभावितका लागि देश–विदेशबाट सहयोग जुटिरहेको छ । पीडाका बेला थोरै भए पनि राहत दिन सकिन्छ कि भन्ने प्रयत्न भइरहेको छ । यसैबीच दक्षिण कोरियामा बसोबास गर्ने नेपालीले रकम सङ्कलन गरी पठाएका छन् । हेलम्बु–४ कार्साङ तामाङले सहयोग सङ्कलन कार्यको संयोजन गरिरहनुभएको छ ।

उहाँ सात वर्षदेखि कोरियामा कार्यरत हुनुहुन्छ । सिन्धुपाल्चोक ‘समाज’ नाम दिइएको सो संस्थाले कुमार लामिछाने, सोमबहादुर तामाङमार्फत प्रत्यक्ष प्रभावितसम्म पुग्ने गरी नगद सहयोग हस्तान्तरण गरेको छ । तेर्से मावि, तालामाराङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीलबहादुर शाहीले सहयोग रकम रु ४० हजार लिँदै सबैको सहयोगले नै विद्यालय बचाउन सकिनेछ भन्नुभयो ।

प्रधानाध्यापक कृष्ण ढुङ्गानाले तारजाली लगाएर विद्यालय बचाउन लागेको जानकारी दिँदै यस कार्य खर्चिलो भएको हुँदा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
सरस्वती मावि, ग्यालथुमका प्रधानाध्यापक सीताराम ढकालले सहयोग रकम रु ४० हजार बुझ्दै नदीको कटानबाट विद्यालयलाई जोगाउन तुरुन्त लाग्नुपर्ने हुँदा सहयोगका लागि सबैमा आह्वान गर्नुभयो ।

इस्टपोइन्ट एकेडेमी पूर्णतः क्षति भएको हुँदा ५५० विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता भएका बेला नगद सहयोगले अस्थायी भवन निर्माणमा सहयोग पुग्ने प्रिन्सिपल दामोदर भारतीले बताउनुभयो । उहाँलाई पनि रु ४० हजार हस्तारण गरिएको हो । हेलम्बु गाउँपालिकाका बाढीमा परी परिवारका सदस्य गुमाएका १५ परिवारलाई रु दश÷दश हजार सहयोग गरिएको छ । नेपालमा रहेर सहयोग संयोजन गरिरहनुभएका कुमार लामिछाने र सोमबहादुर तामाङले सम्बन्धित विद्यालयमै पुगेर सहयोग हस्तारन्तरण गर्नुभएको हो । हस्तान्तरणका सिलसिलामा रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले जो जहाँ रहे पनि विपद्का बेला सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । रासस