राष्ट्रियसभा बैठक ः प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बहस

राष्ट्रियसभा बैठक ः प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बहस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले प्रतिनिधिसभा विघटनका पक्ष र विपक्षमा आफ्ना धारणा व्यक्त गर्नुभएको छ । बैठकको विषेश समयमा उहाँहरुले विघटनका पक्ष र विपक्षमा आफ्ना तर्क पेश गर्नुभयो । साथै नयाँ जनादेशका लागि निर्वाचनमा जानु नै उपयुक्त हुने एकथरीको धारणा थियो भने अर्काथरीले संविधानअनुसार हुने निर्वाचनले मात्र लोकतन्त्रको रक्षा गर्ने र गैरसंवैधानिकरुपमा हुने निर्वाचनले लोकतन्त्र नै नष्ट हुने धारणा व्यक्त गर्नुभएको थियो ।

बैठकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले पुनःस्थापित प्रतिनिधिसभाले यसअघि प्रभावकारी काम गर्न नसकेको उल्लेख गर्दै मुलुक अब निर्वाचनमै जानुपर्ने बताउनुभयो । नयाँ जनदेशका लागि सबै दल अब निर्वाचनमा नै जानु उपयुक्त हुने उहाँको तर्क थियो । उहाँले राष्ट्रियसभा र प्रतिनिधिसभाबीच लुकामारी खेलेजस्तो भएको भन्दै दुवै सभा एकैपटक सञ्चालन नभएसम्म कानून निर्माण हुन नसक्ने बताउनुभयो । अहिले संसदीय राजनीतिक व्यवस्थाका नाममा गैरसंसदीय गतिविधि भइरहेको जनाउँदै सांसद दाहालले आफ्नै दलका नेतालाई प्रधानमन्त्रीबाट हटाउन अदालतमा लाइन लागेको दृश्य अनौठो देखिएको धारणा व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस सांसदका रमेशजंग रायमाझीले सरकारले कोरोना सङ्क्रमण रोकथाममा प्रभावकारी काम गर्न नसकेर आरोप लगाउनुभयो । उहाँले अहिले मुलुकमा भ्रष्टाचारले जरा गाडेको आरोप लगाउँदै कोरोनाविरुद्धको खोप खरीदमा पारदर्शिता कायम हुनुपर्ने माग गर्नुभयो । फरक प्रसङ्गमा सांसद रायमाझीले संसद्बाट पारित चुच्चे नक्सा अहिले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट प्रकाशित पाठ्यपुस्तकमा किन उल्लेख भएन भनी सरकारसँग प्रश्न गर्नुभयो ।

साथै उहाँले प्रधानमन्त्रीले कानून निर्माण गर्ने जनप्रतिनिधिको थलो प्रतिनिधिसभा विघटन गरेर अध्यादेशबाट शासन सञ्चालन गर्न खोजेको आरोपसमेत लागाउनुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा अधिवेशन तत्काल अन्त्य नगर्न आग्रह गर्दै प्रतिनिधिसभा नभएका बेला यस सभालाई लोकतन्त्रको रक्षा र जनताको आवाज उठाउने थलोका रुपमा निरन्तरता दिइयोस् भन्नुभयो । साथै उहाँले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विषेशाधिकार संविधानले नदिएको तर्क गर्दै नयाँ सरकार बन्ने अवस्था नभएपछि मात्र अन्तिममा मात्र प्रतिनिधिसभा विघटन हुने व्यवस्था संविधानले स्पष्ट गरेको बताउनुभयो । सांसद श्रेष्ठले संविधानको धारा ७६ (२) र ७६ (५) फरक फरक भएको उल्लेख गर्दै एउटै हो भन्नु संविधानलाई विगत पार्नु हो भन्नुभयो । धारा ७६ (५) सांसदलाई विशेषाधिकार प्रयोग गर्ने व्यवस्था हो भन्दै उहाँँले संविधानले राष्ट्रपतिलाई अलङ्कारिकरुपमा राखेको र स्वविवेकको अधिकार नदिएको धारणा व्यक्त गर्नुभयो । रासस

यो पनि -‘शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पेस गर्नुभएको हस्ताक्षर कीर्ते होइन’ –

काठमाडौँ, २१ असार । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पेस गर्नुभएको हस्ताक्षर कीर्ते नभएको तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइका क्रममा उहाँले सो तर्क गर्नुभएको हो ।

“प्रधानमन्त्री नियुक्तिका लागि देउवाले राष्ट्रपतिसमक्ष पेस गर्नुभएको हस्ताक्षर कीर्ते होइन”,वरिष्ठ अधिवक्ता थापाले भन्नुभयो, “को कहाँ छ, त्यहीँ सही गराउने हो, कीर्ते छ भने कारवाही लगाउनुस्, त्यो महान्यायाधिवक्ताको क्षेत्राधिकार होइन, कागज नमागी पनि गर्न सक्छन्, एउटा पानामा सकिएपछि अर्काेमा सही गर्ने हो नि ।” देउवाको मात्र नभएर रिट हाल्ने १४६ जना सांसदको हक अपहरण गरिएको तर्क गर्दै उहाँले भन्नुभयो, “संसद्को अधिकार के हो त ? यो शेरबहादुर देउवाको मात्र होइन १४६ सांसदको हक अपहरण गरिएको हो ।” उहाँले विश्वासको मत पाउने नपाउने भन्ने विषय राष्ट्रपतिले हेर्ने हो र भनी प्रश्नसमेत उठाउनुभएको छ ।

“श्रीमान्बाट बारम्बार आएको प्रश्न प्रधानमन्त्रीले विश्वासको मत पाउँदिन भनेर कागज पेस गरेपछि पदमुक्त हुनुपर्छ भनेर हामीले भनिरहेको हो”, वरिष्ठ अधिवक्ता थापाले भन्नुभयो, “उहाँहरु पदमुक्त हुँदैन भन्नुहुन्छ, विश्वासको मत लिन सक्दिन भनेर गएको प्रधानमन्त्रीले फेरि दाबी गर्दा राष्ट्रपतिले बडो विचार गरेर निर्णय गर्नुपथ्र्यो ।” जवाफी बहस सकिएको छ । रिट निवेदकका तर्फबाट जवाफी बहसका लागि तीन घण्टाको समय निर्धारण गरिएको थियो । चियापछि अदालतका सहयोगीको (एमीकस क्युरी) बहस शुरु हुनेछ । उहाँहरुका लागि दुई घण्टाको समय दिइएको छ ।

एमीकस क्युरीमा नेपाल बार एसोसिएसनबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल पाठक हुनुहुन्छ भने सर्वोच्च बार एसोसिएसनबाट वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी रहनुभएको छ । एमीकस क्युरीले कानूनअनुसार अदालतलाई आफ्नो राय दिनेछन् । रासस