बर्दियामा बाघको आ’क्रमणबाट एकको मृत्यु

बर्दियामा बाघको आ’क्रमणबाट एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दियाको मधुवन नगरपालिका–३ भगरैयामा एक वृद्धको बाघको आ’क्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको शव स्थानीय सम्झना सामुदायिक वनमा भेटिएको छ । घाँसपात र दाउरा गर्न सामुदायिक वनभित्र गएका खत्रीमाथि बाघले आक्रमण गरेको थियो । खत्रीको शव आज दिउँसो ११ बजे फेला परेको भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन थापा मगरले बताउनुभयो । योसँगै चालू आर्थिक वर्षमा बर्दियामा बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको बताइएको छ ।

यो पनि -बौद्धमा मोटरसाइकल र स्कुटर ठोकिँदा एकको मृत्यु –

काठमाडौँको बौद्धमा मोटरसाइकल र स्कुटर ठोकिँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–६ बौद्ध ह्यात गेट नजिक सडकमा बा ६४ प ८२६३ नम्बरको मोटरसाइकल र बा ६८ प ४२७५ नम्बरको स्कुटर एकआपसमा ठोकिँदा मोटरसाइकलमा सवार नुवाकोटकी १८ वर्षीय बिजा तामाङको आइतबार साझ मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारका क्रममा ओम अस्पताल चावहिलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा सङ्लग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यो पनि – फिलिपिन्समा सैनिक विमान दुर्घटना,मृत्यु हुनेको संख्या ५० पुग्यो –

फिलिपिन्समा आइतार भएको सैनिक विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५० पुगेको यहाँको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ । फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा आइतबार दुर्घटनाग्रस्त भएको थियो । त्यसमा परेर आइतबार नै कम्तीमा पनि १७ जनाको मृत्यु भएको बताइएको थियो । सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये अरु घाइते थिए । ती घाइतेमध्ये केहीको मृत्यु भएपछि सोमबार मृतकको संख्या ५० पुगेको फिलिपिन्सको रक्षा मन्त्रालयले जानकारी दिएको हो ।

 

 

सी–१३० हर्कुलस विमानमा ९२ जना सवार रहेका बताइएको छ । सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा अवतरण गर्नेक्रममा नजिकैको आवासीय क्षेत्रमा आइतबार मध्याह्न विमान दुर्घटनाग्रस्त भएको हो ।  स्थानीय सञ्चारमाध्यमहरुमा प्रशारित दृष्यहरु र प्रकाशित तस्बिरमा दुर्घटनाग्रस्त विमान भुँइमा बजारिएसँगै आगलागी भएको देखिएको छ । विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरु माथि बाक्लो कालो धुँवा पनि ती दृष्यमा देखिएको छ ।

सोमबार एकजना सैनिक जर्नेलले दिएको समाचारमा त्यस दुर्घटनामा ९६ जना यात्रु रहेका र तीमध्ये ५० जनाको ज्यान गएको छ । अरु घाइते रहेका छन् । उनका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेमा ४७ जना सैनिक छन् । अरु तीन जना गैर सैनिक नागरिक रहेका छन् । सो विमान यहाँको सेनाको रहेको बताइएको छ । सो विमान कागायान डी ओरोबाट दक्षिणी मिन्डानाओ द्वीपतर्फ सैनिकहरु लिएर गैरहेको थियो ।

उहाँले जोलोमा विमान अवतरण गर्न लाग्दा नजिकैको आवासीय क्षेत्रमा खसेको पनि बताउनुभयो ।  फिलिपिन्सको रक्षा मन्त्रालयले दुर्घटनाको कारणका बारेमा सरकारले अनुसन्धान शुरु गरेको जानकारी दिएको छ । सेनाका प्रवक्ताले सो विमानको दुर्घटनाका बारेमा आइतबार साँझदेखि नै अनुसन्धान शुरु भएको बताउनुभएको छ ।

 

यो पनि -१६ औँ शताब्दीको राजकुवा संरक्षणमा चासो –

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डेचौर नजिकै सात्लेपानीमा रहेको करिब ५०० वर्ष पुरानो राजकुवाको संरक्षण र मर्मतका लागि स्थानीयवासी जुटेका छन् । सोह्रौँ शताब्दीको अन्त्यतिर तत्कालीन पर्वत राज्यअन्तर्गतको अत्यन्त महत्वपूर्ण तर षड्यन्त्र र भाइभाइबीचको द्वन्द्वका कारण विवादास्पद मानिएको ज्यामरुककोट राज्यका राजा भर्तिवम मल्लले पानी खाने गरेको सो कुवा जीर्ण अवस्थामा पुगेको थियो । स्थानीयवासीहरू सहभागी भई राजकुवाको मर्मत तथा सरसफाइ गरेपछि ऐतिहासिक विरासत मानिएको सो कुवाले पुनर्जीवन पाएको छ । स्थानीयवासीले सात दिनसम्म श्रमदान गरेर कुवा संरक्षण र सरसफाइ गरेका हुन् ।

ऐतिहासिक, सामरिक, पुरातात्विक, जैविक, धार्मिक र प्राकृतिक दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण मानिएको ज्यामरुककोटमा राजकुवालगायत तत्कालीन समयका एक दर्जनभन्दा बढी ऐतिहासिक सम्पदा रहेका छन् । यहाँ तत्कालीन समयमा युद्धका लागि प्रयोग गरिएका खुँडा, खुकुरी, तरबार, भाला, ढाल, छेलोलगायतका हातहतियारका साथै पुरातात्विक महत्वका इँटा, इनार, मौलो, दियोलगायतका सामग्री रहेका छन् ।

सरंक्षणको अभावमा नामेट हुँदै जान थालेका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणका लागि सरकारी तहबाट कुनै पहल नभएपछि स्थानीयवासी नै सक्रिय भएको अर्जुन मावि व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीले बताउनुभयो । अगुवा कार्कीका अनुसार राजा भर्तिवम मल्लको दरबार भएको स्थानमा निर्माण गरिएको खड्गभवानी कोतमा ५०० वर्ष पुराना ऐतिहासिक हातहतियारलगायत अन्य सामरिक र धार्मिक महत्वका सम्पदा रहेका छन् ।

पुरातात्विक र ऐतिहासिक महत्वले युक्त ती सम्पदाको संरक्षणमा स्थानीयतहले समेत खासै चासो नदेखाउँदा आफ्नो पहिचान र धरोधर नामेट हुने अवस्थामा पुगेकाले तिनको संरक्षणका लागि आफूहरु अगाडि सरेको स्थानीयवासी कार्कीले बताउनुभयो । सम्पन्न, विद्वान् र राजनीतिक रूपले सक्रिय व्यक्तिको बसोबास रहेको भए पनि ज्यामरुककोटका ऐतिहासिक सम्पदाको संरक्षण र समग्र ज्यामरुककोटको विकासका लागि कसैले केही पनि पहल नगर्दा ज्यूँदो जाग्दो ऐतिहासिक विरासत बोकेको ठाउँ बत्तीमुनिको अँध्यारो बनेको स्थानीयवासीले बताएका छन् ।

तत्कालीन राजा भर्तिवमले आफू र आफ्नो राज्यमा बसोबास गर्ने जनताको सुविधाका लागि बनाएको सात्लेपानीको कुवा १६ औँ शताब्दीदेखिको एउटा जिउँदोजाग्दो ऐतिहासिक सम्पदा भए पनि त्यसको संरक्षणमा समेत कसैको ध्यान नपुग्दा सो सम्पदा अन्य सम्पदाझैँ इतिहासकै गर्भमा लोप भएर जाने अवस्थामा पुगेको थियो । राजा भर्तिवमले आफू र आफ्ना जनताले पानी खानका लागि एकै ठाउँमा दुईवटा अलगअलग कुवा बनाई एउटा कुवा आफूले मात्र प्रयोग गर्ने र अर्को कुवा जनताका लागि खुला राखिदिने गरेको किंवदन्ती रहेको छ ।

सो कुवा कहिले निर्माण भएको हो भन्ने विषयमा कुनै अभिलेख नरहेको भए पनि ज्यामरुककोटको डाँडामा रहेको आफ्नो दरबार नजिकैको कुवा पहिरोले पुरेपछि सात्लेपानीमा कुवा बनाएका स्थानीय बूढापाकाको भनाइ छ । ज्यामरुककोटका ९५ वर्षीय रणबहादुर घिमिरेका अनुसार अन्यत्र खानेपानीका मुहान नहुँदा सात्लेपानीमा रहेको सो कुवामा ज्यामरुककोटका बासिन्दा पानी भर्नका लागि रातिदेखि नै लाइनमा बस्ने गर्दथे । “तामाका गाग्री लिएर टाढाटाढाबाट पनि मानिस पानी भर्न सोही कुवामा आउने गरेका मैले पनि थाहा पाएको हूँ”, घिमिरेले भन्नुभयो, “त्यसअघि सोही कुवामा राजा भर्तिवमले नुहाई त्यहीँबाट लगेको पानी देवतालाई चढाई आफूले प्रयोग गर्ने गर्दथे भन्ने किंवदन्ती रहेको छ ।” रासस