नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ । धनुषा निवासी माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवका निधनमा श्रद्धाञ्जलि दिन आज जनकपुरधाम आउनुभएका अध्यक्ष दाहालले सर्वोच्च अदालतमा बुझाइएको १४६ सांसदको हस्ताक्षरका आधारमा अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने बताउनुभयो ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेशी असार २८ गतेका लागि तोकिएको छ । अध्यक्ष दाहालले प्रधानमन्त्रीले अदालतलाई अनावश्यक दबाब दिन खोजेको आरोप पनि लगाउनुभयो । अर्को प्रसङ्गमा अध्यक्ष दाहालले संविधान त्रुटिपूर्ण रहेको स्वीकार्दै संशोधनका पक्षमा आफू रहेको स्पष्ट गर्नुभयो । उहाँले प्रदेश नं २ को नाम मधेश रहनुपर्ने पनि बताउनुभयो । अध्यक्ष दाहालले दिवङ्गत पार्टी केन्द्रीय सदस्य यादवका पार्थिव शरीरमा दलको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभयो । धनुषाको शहीदनगर नगरपालिका–१ बालाबाखरका नेता यादव लामो समयदेखि अर्बुदरोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ जनयुद्धका बेलादेखि नै माओवादीमा सक्रिय हुनुहुन्थ्यो ।
यो पनि – कांग्रेस नेताद्वारा कुँवरप्रति श्रद्धाञ्जलि व्यक्त
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल ट्रेड युनियन कांग्रेसका सल्लाहकार रामजी कुँवरप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । युनियनका पूर्ववरिष्ठ उपाध्यक्षसमेत रहनुभएका कुँवरको सोमबार साँझ ६५ वर्षको उमेरमा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको थियो । शुरुमा कोरोना सङ्क्रमण देखिए पनि पछिल्लो समय उहाँको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
ट्रेड युनियन कांग्रेसको केन्द्रीय कार्यालय अनामनगमा आज बिहान पुगेर महामन्त्री कोइरालालगायत कांग्रेसका नेताहरुले कुँवरप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । आज बिहान ८ः३० देखि १० बजेसम्म केन्द्रीय कार्यालयमा राखिएको श्रद्धाञ्जलि कार्यक्रममा महामन्त्री कोइरालासहित पूर्वमहामन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री सुनिलबहादुर थापा, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, गगनकुमार थापा, बद्री पाण्डे, प्रधानमन्त्रीका प्रमुख राजनीति सल्ल्लाहकार विष्णु रिमाल, नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवम् संयुक्त टे«ड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिंखडा, कांग्रेस कास्कीका सभापति कृष्ण केसीलगायतले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।
यसैबीच, सोमबारै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य डा शेखर कोइरालाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर स्व कुँवरको परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो । लामो समयदेखि नेपालको ट्रेड युनियन आन्दोलनमा होमिनुभएका स्व कुँवर विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका प्रमुखको प्रत्याशी हुनुहुन्थ्यो । उहाँ कांग्रेसको १२औँ महाधिवेशनपछि पार्टीको आमन्त्रित केन्द्रीय सदस्य बन्नुभएको थियो । स्व कुँवरको शवलाई अन्त्येष्टिका लागि गृहजिल्ला कास्की लगिएको छ ।
यसैबीच, नेपाल ट्रेड युनियन कांग्रेसको आज बसेको आकस्मिक बैठकले कुँवरको निधनले नेपालको प्रजातान्त्रिक र श्रमिक आन्दोलनमा ठूलो क्षति पुगेको बताएको छ । बैठकले कुँवरको निधनप्रति केन्द्रीय कार्यालयसहित सम्पूर्ण जिल्ला कार्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको उपाध्यक्ष अजयकुमार राईले राससलाई जानकारी दिनुभयो ।
प्रतिक्रिया