पहिरोबाट मृत्यु भएका परिवारलाई राहत

पहिरोबाट मृत्यु भएका परिवारलाई राहत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वर्षासँगै आएको पहिराबाट मृत्यु भएका तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङका पीडित परिवारलाई प्रदेश सरकारको तर्फबाट राहत वितरण गरिएको छ । यही असार १७ गते आएको पहिरामा परी मृत्यु भएकाका परिवारलाई गण्डकी प्रदेश सरकारको तर्फबाट राहत वितरण गरिएको हो । पहिरामा परी उक्त ठाउँका ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया सर्किनीको मृत्यु भएको थियो । आज पीडितको घरमै पुगी गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री हरिबहादुर चुमानले रु ५० हजारका दरले राहत रकम प्रदान गर्नुभएको छ । सो क्रममा पूर्वमन्त्री चुमानले मृतक थापाका आफन्त सूर्यबहादुर थापामगर र मृतक सर्किनीका आफन्त जुनबहादुर बस्याललाई राहत रकम हस्तान्तरण गर्दै प्राकृतिक विपत्तिलाई रोक्न नसकिने भएपनि पूर्वतयारी अपनाउनुपर्नेमा जोड दिनुभयो ।

मृतकका परिवारलाई सङ्घीय सरकारका तर्फबाट पनि केही दिनभित्रै रु दुई लाख सहयोग प्रदान गरिने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । पहिराबाट जिल्लामा दुई जनाको मृत्यु भएको र १३ जना घाइते भएका थिए ।

तनहुँमा ५० प्रतिशत रोपाइँ

असार तेस्रो सातासम्म तनहुँमा ५० प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । यस वर्ष समयमै वर्षा भएकाले अघिल्लो वर्षको तुलनामा यसपटक छिटो रोपाइँ शुरु भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । अघिल्लो वर्ष यही समयसम्म जिल्लामा १८ प्रतिशत भूभागमा मात्रै रोपाइँ भएको थियो । केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार जिल्लामा ११ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्यसमध्ये दुई हजार ५०० हेक्टर क्षेत्रफलमा चैते धानको रोपाइँ हुने गरेको छ । यो वर्ष चाँडै वर्षा भएकाले कृषकलाई धान रोप्ने चटारो छ । कोरोना कहरका बाबजुद पनि कृषक धान रोप्न व्यस्त छन् ।

तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायतका धान खेती हुने गरेको छ । गत वर्ष ११ हजार २७९ हेक्टर खेतमा धान खेती गरिएकामा ४४ हजार सात ८२ मेट्रिकटन धान उत्पादन भएको थियो । केन्द्रका अनुसार भिमाद र शुक्लागण्डकीमा सुनौलो सुगन्ध जातका नयाँ धानको खेतीको शुरुवात गरिएको छ । तनहुँमा खेतीयोग्य जमीनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले म्याग्दे, व्या लगायतका पालिकामा धान खेतमा क्षति पुगेको छ । रासस

यो पनि – लोकमार्गकै कनकाई पुलमा खाल्डैखाल्डा –

नेपालको लामो पुलमध्येको पूर्व—पश्चिम लोकमार्गको कनकाई पुलमा खाल्डैखाल्डो परेको छ । बेलैमा मर्मत नहुँदा सवारी आवतजावतमा समस्या हुन थालेको छ । झापाको कनकाई र शिवसताक्षी नगरपालिकाको सीमामा रहेको कनकाई नदीको सो पक्की पुल ७०३ मिटर लामो छ । पुलको पश्चिम भागतिर साना र ठूला गरी २८ वटा खाल्डा छन् ।

दैनिक हजारौं सवारी साधन गुड्ने मुख्य लोकमार्गको यति महत्वपूर्ण पुलको बेलैमा मर्मत नगरिनु लापर्वाही भएको र कुनै पनि बेला दुर्घटना हुनसक्ने सम्भावना छ । सडक डिभिजन कार्यालय दमकका प्रमुख रमेश पौडेललाई कनकाई पुलको अवस्था बारेमा ध्यानाकर्षण गराउँदा चाँडै मर्मत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हाल पूर्व—पश्चिम लोकमार्गकै रतुवा पुलमाथि परेका खाल्डाखुल्डी पुर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

सडक तथा पुल मर्मतका लागि चालु आर्थिक वर्षमा रु १० करोड बजेट आएको उहाँले जानकारी दिनुभयो । यो पुल विसं २०२८ तिर बनेको हो । केही वर्ष अघिसम्म यो पुल नेपालकै सबैभन्दा लामो मानिन्थ्यो ।