आफूखुशी विद्यार्थीलाई नम्बर दिएको कारण मध्यपश्चिम विश्वविद्यालयका दुई उपप्राध्यापक बर्खास्त

आफूखुशी विद्यार्थीलाई नम्बर दिएको कारण मध्यपश्चिम विश्वविद्यालयका दुई उपप्राध्यापक बर्खास्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली, २२ असार । मध्यपश्चिम विश्वविद्यालयले केन्द्रीय क्याम्पसअन्तर्गतका दुई उपप्राध्यापकलाई बर्खास्त गरेको छ । इञ्जिनीयरिङ सङ्काय स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानून सङ्कायअन्तर्गत ‘स्कूल अफ ल’का उपप्राध्यापक सुजन पन्तलाई बर्खास्त गरेको विश्वविद्यालयले जनाएको छ । बर्खास्तमा परेका यादव स्थायी उपप्राध्यापक र पन्त करारका हुनुहुन्छ ।

उपकुलपति प्रा डा नन्दबहादुर सिंहले कार्यक्रम निर्देशक यादवले आफूखुशी विद्यार्थीलाई नम्बर दिएको र पन्तले परीक्षाअगावै प्रश्नपत्र सार्वजनिक गरेको प्रमाणित भएपछि बर्खास्त गरेको जानकारी दिनुभयो । “यो अक्षम्य शैक्षिक अपराध हो, प्राज्ञिक मर्यादामा आँच आउने काम भयो”, विश्वविद्यालयद्वारा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उपकुलपति सिंहले भन्नुभयो, “छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा उहाँहरुलाई निष्काशन गरिएको छ ।” स्कूल अफ ल’ का पन्तलाई तीन महिनाअघि नै निलम्बन गरिए पनि छानबिन समितिको निष्कर्षपछि बर्खास्त गरिएको हो ।

उपप्राध्यापकद्वयलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी उपप्राध्यापक पदबाट बर्खास्त गरिएको छ । यादवले आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुशी नम्बर दिएर पास गराएको आरोप छ । विद्यार्थीको आन्तरिक मूल्याङ्कनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर यादवले आफूखुशी नम्बर दिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । स्ट्रक्चरल इञ्जिनीयरिङ विषयको अन्तिम सत्रको प्रयोगात्मक परीक्षामा उपप्राध्यापक यादवले आफूखुशी नम्बर दिएको पाइएको छानबिन समितिको ठहर छ । उपकुलपति सिंहले उहाँहरूलाई विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन नियमावली २०६९, परिषद् ३३ को नियम १७४ बमोजिम प्रा डा दीपबहादुर रावलको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा बर्खास्त गरिएको बताउनुभयो । रासस

यो पनि – प्रधानमन्त्री ओलीद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओलीले राजविराज नगरपालिका–१० बिरौलमा स्थापना गरिएको प्रतिष्ठानको आज शिलान्यास गर्नुभएको हो । प्रतिष्ठानको शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले सप्तरीमा सर्वाधिक ठूलो परियोजनाको स्थापनाले उच्चस्तरीस्य शिक्षा र स्वास्थ्य प्राप्त गर्ने स्थानको रूपमा विकास हुने बताउनुभयो ।

प्रतिष्ठानको स्थापनासँगै स्तरीय शिक्षा र स्वास्थ्यको अवसरले आर्थिक गतिविधि तीव्र हुनुका साथै पर्यटकीय गन्तव्य बन्ने उहाँले बताउनुभयो । मुलुकमा रहेका अनेकौँ प्रकारका विविधतालाई सम्पत्ति र सम्पन्नताको रूपमा लिँदै सबै मिलेर गरिबी, पछौटेपन हटाउनुपर्ने तथा विकासका काममा एकजुट हुनुपर्ने प्रम ओलीले बताउनुभयो । तोकिएको समयमा र गुणस्तरीयरूपमा प्रतिष्ठानको काम सक्न स्थानीय तह, जनप्रतिनिधि र जनसमुदायसँग प्रम ओलीले सहयोगको अपेक्षा गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रदेश नं २ का लागि सुनकोशी मरिन डाइभर्सन र पूर्वी क्षेत्रका लागि सुनकोशी कमला डाइभर्सन निर्माण गरी सिँचाइ सुविधा पु¥याउने र बिजुली उत्पादन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभयो ।

‘एक प्रदेश एक प्रतिष्ठान’ निर्माण गर्ने लक्ष्यअनुसार सप्तरीमा प्रतिष्ठानको शिलान्यास गरिएको बताउनुहुँदै प्रम ओलीले प्रतिष्ठान स्थापनाले प्रदेश नं २ र छिमेकी जिल्लाका साथै भारतीय नागरिक स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिष्ठानको स्थापनाले देखिने र लाभ हुने गरी शिक्षा, स्वास्थ्यका क्षेत्रमा नयाँ उचाइ कायम हुने विश्वास दिलाउनुभयो । सप्तरीमा अहिलेसम्मका संरचनाभन्दा स्तरीय, भूकम्प प्रतिरोधात्मक, बलियो र आकर्षक संरचना हुने भन्नुहुँदै उहाँले बाहिरी पक्षमा मात्र आकर्षक नभई आन्तरिकरूपमा सेवा पनि बलियो हुने बताउनुभयो ।

प्रतिष्ठानले रोजगारीको अवसर सिर्जना गर्नुको साथै आर्थिक क्रियाकलाप पनि बढ्ने बताउनुहुँदै प्रम ओलीले यसले प्रविधिको विकाससँगै विकासप्रति विश्वास बढाउने बताउनुभयो । राजविराज–रुपनी सडकको विस्तार, औद्योगिक क्षेत्रको विकास, पुरातात्विक महत्वका ऐतिहासिक मठ, मन्दिर, धरोहरको संरक्षण, सीमा सुरक्षा, डुबानबाट बचाउने कार्य सरकारले गरिरहेको बताउनुभयो । उहाँले हिमाल, पहाड, तराई तथा पूर्वदेखि पश्चिम सबैतिर विकास गर्ने र सबै खाले समस्या समाधानमा सरकार लागेको बताउनुभयो ।

भ्रममा परेर दिशाविहीन भएर देशको विकास उन्नतिमा आफूलाई पछाडि पार्न नहुने भन्नुहुँदै प्रम ओली भन्नुभयो, “सहिष्णुता, सहअस्तित्वका साथ साझा समस्या समाधान गर्दै विकास, निर्माण र गुणस्तरीय उत्पादनमा एक भएर अगाडि बढे विकास सम्भव छ ।” सोही कार्यक्रममा राजविराज नगर प्रमुख शम्भुप्रसाद यादवले प्रतिष्ठानको शिलान्यास गर्नुभएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनुहुँदै ऐतिहासिक काम सम्पन्न गराउन नगरवासीको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रिपरिषद्को विसं २०७५ पुस १६ गतेको निर्णयले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । जग्गा विवाद समाधान भई जेठ ३१ गते ६१ बिघा छ कट्टा जग्गा प्राप्त भएपछि शिलान्यासको कार्यक्रम अघि बढेको हो । कूल रु ११ अर्ब ९८ करोडको लागतमा निर्माण हुने प्रतिष्ठानको काम पाँच वर्षभित्र सम्पन्न हुने प्रतिष्ठान पूर्वाधार विकास तयारी समितिका अध्यक्ष डा रोहित पोखरेलले जानकारी दिनुभयो । रासस