आन्तरिक विवाद समाधानका लागि सहमति खोज्दै एमाले कार्यदल

आन्तरिक विवाद समाधानका लागि सहमति खोज्दै एमाले कार्यदल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले आज पनि छलफल गरी सहमतिका आधार तय गर्न परामर्श लिएको छ । कार्यदलको अर्काे बैठक बुधबार बिहान पुनः बसेर थप छलफल हुने जनाइएको छ । कार्यदलका सदस्य एमालेका सचिव गोकर्णराज विष्टले छलफल सकारात्मकरुपमा अघि बढेको जानकारी दिनुभयो ।

पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा परिणत गर्न कार्यदलको बैठक शुरु भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटी विघटन गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो । एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वाेच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न आज साँझ ५ बजेसम्म समय दिइएका सन्दर्भमा कार्यदल सक्रिय भएको हो । नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकी गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो ।

कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता माधवकुमार नेपाल पक्षबाट डा भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, विष्ट र रघुजी पन्त हुनुहुन्छ । अध्यक्ष ओली र नेता नेपालबीचको सहमतिबाट १० सदस्यीय कार्यदल गठन भएको थियो । रासस

यो पनि – निर्वाचन आयोगले इजलासमार्फत जसपाको आधिकारिकता टुङ्ग्याउने

सत्ता समीकरणका दौरानमा दुई धारमा विभाजित जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्रको विवाद थप चुलिँदै गएको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले नेतृत्व गरेको समूह र अर्का अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको समूहले निर्वाचन आयोगमा आधिकारिकतालाई लागि दिएको निवेदनमा केही समयअघि दुवै समूहलाई आधिकारिकता दिइएको थिएन ।

पछि दुवै समूहले आधिकारिकता दावी गर्दै आयोगलाई थप ध्यानाकर्षण गराएका थिए । जसपाको विवाद निरुपण सन्दर्भमा आयोगले आज जसपाका यादव र ठाकुर दुवैसहितका नेतालाई बोलाएर छलफल गरेको छ । पार्टीको आधिकारिकता विवाद हल गर्न आयोगले बोलाएको संयुक्त बैठकमा दुवै पक्षका नेता विभाजित हुन सहमत भएका छन् । जसपाको आधिकारिकताबारे आयोग अब एक साताभित्र इजलास गठन गरी कानून व्यवसायीको परामर्श लिएर ठोस निष्कर्षमा पुग्ने छ ।
जसपाका नेता केशव झाका अनुसार आयोगले दुवै पक्षको धारणा लिएको र त्यसमा उहाँहरुले भिन्नभिन्न रुपमा पार्टीलाई अघि बढाउने अवधारणाका साथ धारणा व्यक्त गर्नुभएको छ । बैठकमा अध्यक्ष यादवले एउटै पार्टी दुई तरिकाले चल्न नसक्ने जनाउँदै अहिलेको अवस्थामा सँगै बस्ने स्थिति नभएकाले आगामी प्रक्रिया चाँडो टुङ्गो लगाइदिन आयोगलाई आग्रह गर्नुभएको थियो ।

अर्का अध्यक्ष ठाकुरले पार्टी एकता आफूहरुको कार्यसूची भएको र परिवर्तनकारी शक्ति, उत्पीडित शक्तिका हितमा पार्टीलाई अघि बढाइने भए पनि त्यस किसिमको वातावरण नरहेको जनाउँदै आयोगले पार्टीको आधिकारिकताबारे चाँडो टुङ्गो दिनुपर्ने धारणा राख्नुभएको थियो । रासस