सेनाले सिन्धुपाल्चोक हेलम्बु, पाचपोखरी थाङ्गपाल र जुगल गाँउपालिकामा यही असारको पहिलो साता गएको बाढी पहिरो पीडितका लागि जिल्ला विपद् व्यवस्थापन समिति सङ्कलित राहत सामग्री ढुवानी गरेको छ । उक्त बाढीका कारण सडक तथा पुल क्षति भई सडक सञ्जाल बिच्छेद भएपछि सेनाले हेलिकप्टरमार्फत सङ्कलित सामग्री स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गरेको हो ।
पाँचपोखरी थाङ्गपाल गाँउपालिका–३ सुनचौर जस्तापाता ५२ बण्डल, मेलम्ची घ्याङमा जेनेरेटर इन्धन र ३५० लिटर डिजेल तथा दुई हजार ८०० केजी खाद्यान्न ढुवानी गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यस्तै तेम्बाथानमा एक हजार ६०० केजी खाद्यान्न र औषधिलगायत मेडिकल सामान ढुवानी गरेको जानकारी दिइएको छ । रासस
यो पनि – पहिराबाट पर्वतका १९ घरपरिवार विस्थापित
पर्वत सदरमुकाम कुश्माबजारका १९ घरपरिवार बाढीपहिरोका कारण विस्थापित भएका छन् । अविरल वर्षासँगै सोमवार राति आएको बाढीले कुश्मा नगरपालिका—४ जिरो किमी र नारायणस्थान वरपरका १९ घर जोखिममा परेका छन् । कुश्मा नगरपालिका—३ सल्यानबाट ठूलाठूला ढुङ्गा र गेग्रानसहितको पहिरो आउँदा स्थानीयवासीको घरआङ्गन पुरिएको छ । मध्यपहाडी लोकमार्गमा समेत गेग्रानले भरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय परिसर र बिरुवा नर्सरी पहिरोले पुरिएको छ । कुश्मा नगरपालिकाको अनुरोध अनुसार जिल्ला प्रशासन कार्यालयले तत्काल जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने र पहिरोको जोखिम न्यूनीकरणका लागि प्रदेश र सङ्घीय सरकारसँग सहयोग माग गरेको छ ।
नगरप्रमुख रामचन्द्र जोशीले पहिरोको जोखिममा रहेका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने र यसको स्थायी समाधान खोज्नुपर्ने आवश्यकता औल्याउनुभयो । पहिरो क्षेत्रको स्थलगत अवलोकन गरेर जिल्ला प्रशासन कार्यालयमार्फत सङ्घीय र प्रदेश सरकारलाई यसको नियन्त्रणका लागि आवश्यक पहल गरिदिन अनुरोध गरिएको उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बस्तीमा जोखिम बढेकाासीलाई तत्काल सुरक्षित स्थानमा सार्ने र चेकड्याम बनाएर पहिरो नियन्त्रणको प्रयास गर्न यहाँका सम्बन्धित कार्यालयलाई अनुरोध गरिएको बताउँदै बाढीपहिरोले बस्तीमा ल्याएको ढुङ्गा र ग्रेगान पन्छाउन कुश्मा नगरपालिका, मध्यपहाडी लोकमार्ग र भू तथा जलाधार व्यवस्थापन कार्यालयलाई समन्वयात्मक ढङ्गले काम गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।
पहिरोले जिरोकिलो, पोखरी उप्री र डम्डारेखोला वरपरको बस्तीमा ठूलो क्षतिको जोखिम हुने भएकाले त्यस क्षेत्रका बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ । पहिरोको दीर्घकालिन समाधान नगर्ने हो भने कुश्मादेखि गुप्तेश्वर गुफासम्मको बस्तीमा ठूलो क्षति हुन सक्ने अनुमान प्रमुख जिल्ला अधिकारी खत्रीको छ । रासस
प्रतिक्रिया