पर्वतमा खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता

पर्वतमा खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएका हुन् ।बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु रहनुभएको छ । अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले राति १२ बजेदेखि नै खोजी गरिरहे पनि अवस्था पत्ता लाग्न सकेको छैन । अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । बाढीले तीन वटा घर पनि बगाएको छ । खोला किनारमा रहेका घर बाढीले बगाए पनि घरभित्रका मानिसहरु घर छोडेर भागेपछि बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

यो पनि – बाढीले घर बगाउँदा एकको मृत्यु, एक बेपत्ता

जिल्लाको मालिका गाउँपालिका–६ रातोढुङ्गामा बाढीले घर बगाउँदा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । बाढीबाट एक जना बेपत्ता भएका छन् । मङ्गला गाउँपालिका–५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गराएर कटान गर्दा खगेन्द्र रोकाको घर बगाएको हो । घरभित्र सुतिरहेका मालिका–६ का खगेन्द्रका छोरा बजिन र बुहारी बिनालाई बाढीले बगाएको मालिका–६ का वडाध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

बजिनको शव भेटिएको र बिना बेपत्ता भएको वडाध्यक्ष सुवेदीले बताउनुभयो । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीहरु बेपत्ताको खोजीका साथै जोखिममा रहेका घरको व्यवस्थापनमा परिचालन भएका छन् ।खहरेखोलाको बाढी पसेर मङ्गला गाउँपालिकातर्फ पनि एउटा घरमा क्षति पुगेको छ । रातोढुङ्गाको बस्ती, निर्माणाधीन ३२÷११ केभी क्षमताको सबस्टेशन र सयौँ रोपनी खेतीयोग्य जमीन जोखिममा परेको छ ।

इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले घटनास्थल पुगेर क्षतिको विवरण सङ्कलन, बेपत्ताको खोजी र जोखिममा परेका घरधुरी व्यवस्थापनमा जुटेको बताउनुभयो ।

यो पनि – बाढीले बगाउँदा युवा बेपत्ता, दर्जनौँ पशुचौपाया बगायो

बागलुङको ताराखोलामा वर्षापछि आएको बाढीले बगाउँदा एक युवा बेपत्ता भएका छन् । मङ्गबार साँझदेखि निरन्तर परेको वर्षासँगै आएको हिलो लेदोसहितको बाढीले ताराखोला गाउँपालिका–१ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई बगाएको हो ।

खोला छेउमा रहेको बाख्राफार्म बाढीबाट जोगाउने प्रयास गर्दागर्दै उनलाई खोलाले बगाएको स्थानीयवासीले बताएका छन् । “रातको समयमा बाख्रा जोगाउन खोला छेउमा पुगेका रहेछन्, त्यत्तिकैमा बाढी आएर खोरसँगै उसलाई बगाएको कुरा छ”, ताराखोलाका पुराना पत्रकार महेन्द्र घर्तीले भन्नुभयो, “राताखोलाका सबै ठाउँमा पहिराले वितण्डा मच्चाएको छ ।”

पहिरामा परी सम्पर्कविहीन रहेका कार्कीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो । बाढीले स्थानीयवासी चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको छ । वर्षाका कारण ताराखोला–१ हिलको इदिटोलमा केही परिवार विस्थापित छन् । विवरण आउन बाँकी छ ।

वडा नं २ अर्गलमा एक घर पुरिएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बाढीसँगै खोलामा पानीको बहाव बढेर घुस्मेली बजार क्षेत्रमा पस्न थालेपछि स्थानीयवासी त्रसित छन् । बजार क्षेत्रका २५ परिवारलाई गए राति नै सुरक्षित स्थानमा सारिएको छ । उद्धारका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको थप टोली घटनास्थलमा पुग्दै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।