जीवन विकास लघुवित्त कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । कम्पनीले यही असार ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा २० लाख ८७ हजार ३१७ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ६९ हजार नौजनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । उनसत्तरी हजार नौजनाको आवेदनमध्ये केहीको आवेदन अयोग्य भएको र केहीको आवेदन रद्द भएको क्यापिटलले जनाएको हो ।
आवेदन गरेका मध्येबाट २० लाख १८ हजार ३०८ जना आवेदक योग्य रहेका छन् । मागभन्दा बढीको आवेदन परेपछि क्यापिटलले योग्य रहेका उक्त आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँट गरेको थियो । सोअनुसार गोलाप्रथाबाट एक लाख ८४ हजार ८०१ जनाले १० कित्ता शेयर पाएका छन् भने पाँचजनाले ११ कित्ता शेयर पाएका छन् । आवेदन दिएकामध्ये १९ लाख दुई हजार ५१६ आवेदकले शेयर पाएनन् ।
कम्पनीले रु एक सय अङ्कित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो । त्यसमध्ये जारी पूँजीको पाँच प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता शेयर कर्मचारीका लागि र कूल निष्कासनको पाँच प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । आइपिओको नतिजा मेरोशेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।
यो पनि – विपद् र सडकलाई प्राथमिकतामा राखेर नार्पाभूमिले सार्वजनिक ग¥यो बजेट
देशभरका धेरैजसो स्थानीय तहले असार १० गतेभित्रै बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् तर मनाङको नार्पाभूमि गाउँपालिकाले अविरल वर्षापछि आएको बाढीपहिराका कारण ढिलो गरी बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले असार २० र २१ गते दशौँ गाउँसभाबाट विपद् व्यवस्थापन र सडकलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।
गाउँसभाले रु १८ करोड ५१ लाख ८७ हजार बराबरको बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिराका कारण पालिकाका सदस्य नै उपस्थित हुनसक्ने अवस्था नभएकाले केही ठाउँबाट घोडेटो बाटो मर्मतपछि गाउँसभा सम्पन्न गर्न सहज भएको हो ।
“बाढीपहिराले न त गाउँसभा समयमा गर्न सकियो, न राम्रोसँग छलफल गर्न नै, तर केही विषयमा राम्रोसँग छलफल गरी बजेट सार्वजनिक गरेका छौँ”, नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङ्मार लामाले भन्नुभयो । बाढीपहिराले नार्पाभूमि मात्रै नभई जिल्लालाई नै धेरै समस्यामा पारेको उहाँले बताउनुभयो । गाउँसभाको दिनमा पनि बाटो अवरुद्ध हुँदा सभाका सदस्य समयमै सभास्थलमा आउन नसक्दा ढिलो गरी शुरु गरिएको थियो ।
संविधानमा भएको बाध्यकारी अवस्थाले गर्दा ढिलै भए पनि सभा सञ्चालन गरिएको लामाले बताउनुभयो । बाढीपहिराले बढी क्षति पु¥याएकाले कोतो–छ्ययाछ्या–हुलाकीओडार–मेता सडकखण्डको बाटो मर्मतका लागि रु ५० लाख विनियोजन गरिएको उहाँले बताउनुभयो । साथै क्याङबाट फूगेट हुँदै फूगाउँसम्मको बाटो मर्मत गर्न रु २० लाख विनियोजन गरिएको छ । गाउँपालिकाले सवारी साधन खरिदको योजना कटौती गरी बजेट विनियोजन गरेको छ । गाउँसभाले शिक्षा, स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ ।
प्रतिक्रिया