सिँचाइ कुलो निर्माण भएपछि किसान खुसी

सिँचाइ कुलो निर्माण भएपछि किसान खुसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अनैकोट–२ का साधुराम पौडेलले सिँचाइ कुलो निर्माण भएपछि सोचेअनुसार खेती गर्न पाएकामा खुशी हुनुहुन्छ । पहिला किसानले नै जसोतसो खनेर बनाएको कुलो बाढी आएपछि बगाउने अनि बनाउनुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर ठाउँठाउँमा कुलो भत्किने र पानी चुहिने कारणले गर्दा निकै हैरानी खेपेर खेती गर्नुपर्ने अवस्थामा पक्की कुलो निर्माण भएसँगै उहाँको सास्ती अन्त्य भएको छ ।

“कुलो निर्माण भएसँगै अब यहाँका किसानलाई खाद्यान्न बाली, तरकारी लगायतका नगदेबाली उत्पादनमा धेरै सहज हुने भएको छ”, उहाँले भन्नुभयो, “पहिला मकै खेती पछि आकाशेपानीको भरमा धान खेती गर्ने गरेका थियौं, अब मकै धानलगायत विभिन्न खाले तरकारी खेती गरेर आम्दानीसमेत वृद्धि गर्न पाउने भएको छ ।” मुख्य बालीका रुपमा लिँदै आएको आलु र धान तथा अन्य तरकारी खेती गर्नमा सिँचाइ कुलोले ठूलो राहत मिलेको किसानको भनाइ छ । प्रायः सुक्खा क्षेत्र साबिक अनैकोट गाविसको तल्लो भागलाई सिञ्चित गर्नेगरी करीब नौ किलोमिटर लामो सिँचाइ कुलो निर्माण भएपछि यहाँका किसान खुशी भएका हुन् । एशियाली विकास बैंकको सहयोगमा ‘समुदाय व्यवस्थित सिञ्चित कृषि क्षेत्र सहयोग कार्यक्रम’ अन्तर्गत रु तीन करोड ३० लाख लागतमा कुलो निर्माण भएपछि यहाँका किसानले सिँचाइ सुविधा पाएका हुन् ।

टटले–माख्लो ढोडेबेँसी सिँचाइ कुलो उपभोक्ता समितिका अध्यक्ष शिवप्रसाद खतिवडाका अनुसार २०४९ सालमा कच्ची अस्थायी रुपमा निर्माण गरेर कुलो बाँध छेउछाउका किसानले मात्रै उपभोग गर्दै आएको पानी अहिले पक्की कुलो निर्माण भएर नौ किलोमिटर तलसम्मका क्षेत्रमा समेत सिञ्चित भएपछि किसानमा खुशी छाएको छ । दुई सय घरपरिवार लाभान्वित सो कुलोले एक हजार रोपनी क्षेत्रफल जमीन सिञ्चित भएको उहाँले बताउनुभयो ।

‘पाँचखाल नगर, कृषि शहर’ नारा दिएर कृषि क्षेत्रलाई प्राथमिकता दिँदै आएको पाँचखाल नगरपालिकालाई सिँचाइ कुलो निर्माणले थप सहयोग पुगेको छ । आकाशेपानीको भरमा मात्रै खेती गर्नुपर्ने ठाउँमा पहिला जेनतेन करीब पाँच किलोमिटर कुलो खनेर पानी ल्याउने गरेको भए पनि २०७५ सालबाट जिल्ला सिँचाइ कार्यालयबाट सहयोग प्राप्त भएपछि केही मात्रमा भएको कुलो निर्माण एडिबीको सहयोगमा पूर्ण रुपमा निर्माण गरिएको हो ।

सिँचाइ सुविधा उपभोग गर्नका लागि स्थानीय किसानको नै सक्रियतामा ‘टटले–माख्लो ढोडबेँसी सिँचाइ कुलो उपभोक्ता समिति’ नै गठन गरेर काम गर्दै आएकामा २०६४ सालदेखि उपभोक्ता समितिको अध्यक्षको नेतृत्व गर्दै आउनुभएका खतिवडाले अहिले पक्की कुलो निर्माण भएपछि बेलैमा धान रोपाइँ गर्न पाएको बताउनुभयो । किसान, उपभोक्ता समिति र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र एडिबीको समुदाय व्यवस्थित सिञ्चित कृषि क्षेत्र सहयोग परियोजनाले यहाँका किसानको जीवनस्तर उकास्ने काममा अर्को सफलता मिलेको उहाँ बताउनुहुन्छ । रासस