प्रदेश २ को प्रदेशसभा बैठक पुनः स्थगित भएको छ । प्रदेशसभामा प्रस्तुत बजेटमाथिको छलफलका लागि आज १ बजे बैठक आह्वान गरिएको थियो । बैठक स्थगितसम्बन्धी प्रदेश सांसदलाई सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराइएको छ । योसहित दोस्रो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो । यसअघि असार १५ गते बोलाइएको बैठक एक दिन अगाडि नै स्थगित भएको जानकारी गराउँदै असार २३ गतेका लागि समय निर्धारण गरिएको थियो ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जीत यादवले आज १ बजे बस्ने प्रदेशसभा बैठक यही असार २५ गते १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारको विकास निर्माण र अन्य खर्चको भुक्तानी असार २४ गतेसम्म मात्रै हुने भएकाले आज बस्ने बैठक स्थगित गरी २५ गते बोलाइएको बताउनुभयो । उहाँले प्रदेश सांसदहरुको संसदीय विकास कोषको रकम भुक्तानी र सरकारको अन्य खर्च भुक्तानी गर्न असार २४ गतेसम्म मात्रै हुने भएकाले समय व्यस्तताका कारण संसद् सचिवालयमा सूचना टाँसेर प्रदेशसभा बैठक स्थगित गरिएको जनाउनुभयो ।
असार १ गते अर्थमन्त्री विजय यादवले प्रदेशसभामा पेश गरेको प्रदेश सरकारको बजेटमाथि छलफल शुरु हुन सकेको छैन । प्रदेशसभा सचिवालयले बैठक बोलाए पनि सरकारले तयारी नपुगेको जानकारी गराएपछि संसद् सचिवालयले बैठक पटकपटक स्थगित गर्दै आएको छ । रासस
यो पनि – विपद् र सडकलाई प्राथमिकतामा राखेर नार्पाभूमिले सार्वजनिक ग¥यो बजेट
देशभरका धेरैजसो स्थानीय तहले असार १० गतेभित्रै बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् तर मनाङको नार्पाभूमि गाउँपालिकाले अविरल वर्षापछि आएको बाढीपहिराका कारण ढिलो गरी बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले असार २० र २१ गते दशौँ गाउँसभाबाट विपद् व्यवस्थापन र सडकलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । गाउँसभाले रु १८ करोड ५१ लाख ८७ हजार बराबरको बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिराका कारण पालिकाका सदस्य नै उपस्थित हुनसक्ने अवस्था नभएकाले केही ठाउँबाट घोडेटो बाटो मर्मतपछि गाउँसभा सम्पन्न गर्न सहज भएको हो ।
“बाढीपहिराले न त गाउँसभा समयमा गर्न सकियो, न राम्रोसँग छलफल गर्न नै, तर केही विषयमा राम्रोसँग छलफल गरी बजेट सार्वजनिक गरेका छौँ”, नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङ्मार लामाले भन्नुभयो । बाढीपहिराले नार्पाभूमि मात्रै नभई जिल्लालाई नै धेरै समस्यामा पारेको उहाँले बताउनुभयो । गाउँसभाको दिनमा पनि बाटो अवरुद्ध हुँदा सभाका सदस्य समयमै सभास्थलमा आउन नसक्दा ढिलो गरी शुरु गरिएको थियो ।
संविधानमा भएको बाध्यकारी अवस्थाले गर्दा ढिलै भए पनि सभा सञ्चालन गरिएको लामाले बताउनुभयो । बाढीपहिराले बढी क्षति पु¥याएकाले कोतो–छ्ययाछ्या–हुलाकीओडार–मेता सडकखण्डको बाटो मर्मतका लागि रु ५० लाख विनियोजन गरिएको उहाँले बताउनुभयो । साथै क्याङबाट फूगेट हुँदै फूगाउँसम्मको बाटो मर्मत गर्न रु २० लाख विनियोजन गरिएको छ । गाउँपालिकाले सवारी साधन खरिदको योजना कटौती गरी बजेट विनियोजन गरेको छ । गाउँसभाले शिक्षा, स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ । रासस
प्रतिक्रिया