मकवानपुर, २३ असार । वाग्मती प्रदेशसभाको बैठक यही असार २६ गते अपराह्न ३ बजे बस्ने भएको छ । असार २१ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक असार २६ गते अपराह्न ३ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयले आज जनाएको छ । प्रतिपक्ष नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले असार २१ गतेको बैठक अवरुद्ध गरेपछि तीन मिनेटको समयमा बैठक बसेर सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्नुभएको थियो ।
कार्यपरामर्श समितिको बैठक बसेर विनियोजित बजेटको विभिन्न मन्त्रालयको शीर्षकमाथि छलफल अगाडि बढाउने र प्रतिपक्षले उठाउनुभएको सरोकारको विषयमा पनि छलफल गरी सहमतिमा ल्याएर बजेट पारित गर्ने लक्ष्य रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले राससलाई बताउनुभयो । रासस
यो पनि –एमाले कार्यदलले अध्यक्ष ओली र नेता नेपालसँग छलफल गर्ने
नेकपा (एमाले)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले सहमतिका लागि तयार गरिएको खाकाका विषयमा दलका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्ने भएको छ । उहाँहरुबीच गत जेठ २ गते सहमति भई १० सदस्यीय कार्यदल गठन भएको थियो । सो कार्यदलको आज सिंहदरबारमा भएको बैठकले प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गरी बिहीबार पुनः बैठकपछि ठोस रुप दिइने समझदारी भएको नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । उहाँका अनुसार सहमतिका लागि गम्भीर र सकारात्मकरुपमा छलफल भएको र चाँडै निष्कर्षमा पुगिने छ ।
दलका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा परिणत गर्न तनि दिनअघि कार्यदलको बैठक पुनः शुरु भएको हो । अध्यक्ष ओली महाधिवेशन आयोजक कमिटी विघटन गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो ।एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वाेच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न आज साँझ ५ बजेसम्म समय दिइएका सन्दर्भमा कार्यदल सक्रिय भएको हो । नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकी गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो ।
कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता नेपाल पक्षबाट डा भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त हुनुहुन्छ ।
यो पनि – संविधान कार्यान्वयनमा सरकार सफल : भट्टराई
सत्तारूढ दल नेकपा (एमाले)का सांसद खिमलाल भट्टराईले संविधानको कार्यान्वयनको सवालमा वर्तमान सरकार सफल भएको बताउनुभएको छ । संविधान जारी गर्दा चुनौतीको सामना गर्नुपरेको र अहिले कार्यान्वयनमा पनि त्यस्तै चुनौती थपिएको उहाँको भनाइ छ । राष्ट्रियसभा बैठकको विशेष समयमा आज उहाँले भन्नुभयो, “संविधानको कार्यान्वयन गर्न देशभित्र र बाहिरबाट देखिएको चुनौती वर्तमान सरकारले समाधान गरेको छ, पृथकतावादको नारा बोकेका सिके राउत तथा संविधानको विरुद्धमा सङ्घर्षमा उत्रिएको नेकपा विप्लव समूहलाई पनि मूलधारमा ल्याउन सरकार सफल भएको छ ।” मधेशका समस्या समाधान गर्न पनि सरकारले अधिकतम् काम गरेको उहाँको भनाइ थियो ।
सांसद भट्टराईले कानून निर्माण गर्न नसक्ने, सरकारलाई काम गर्न नदिने र वैकल्पिक सरकार दिन नसक्ने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको जिकिर गर्नुभयो । “जनताको बीचमा जाने अलोकतान्त्रिक हो ?”, उहाँले प्रश्न गर्नुभयो, “दोस्रो पटकको प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको नियत थिएन, राष्ट्रपतिबाट लिएको कदम उचित थियो ।” दलीय व्यवस्थामा सांसद स्वतन्त्र नहुने भन्दै उहाँले संसद्लाई दलीय ह्विप नलाग्ने भए त्यो निर्दलीयता हुने बताउनुभयो । राजनीतिक विषयको अदालतमा ओइरो लागेको भन्दै उहाँले अदालतले पनि केही राजनीतिम मुद्दामा पूर्वाग्रही ढङ्गले फैसला गरेको बताउनुभयो । सांसद तुलसाकुमारी दहालले प्राकृतिक प्रकोप पीडित जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराउनभुयो । उहाँले चुरे दोहन रोक्न सरकारलाई सुझाव दिनुभयो । महिला हिंसाको घटनामा वृद्धि भइरहेको भन्दै उहाँले घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो ।
प्रतिक्रिया