घर जोगाउन बाढी तर्काउँदा आफै बेपत्ता

घर जोगाउन बाढी तर्काउँदा आफै बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आज बिहान ३ः३० बजेको थियो । आकाश गर्जिएर पानी पर्न थालेको तीन घण्टा बितिसक्दासमेत पानी रोकिएन् । खोलाको बहाव बढ्न थाल्यो, घरमाथि रहेको सडकबाट पन्छाएको बाढी घरतिर सोझियो । घरमा बाढी पस्ने त्रासले राजेन्द्रले सुतिरहेका हजुरबुबा, बुबा र भाइलाईसमेत उठाउनुभयो । चारै जना मिलेर घरमाथिको सडकबाट घरगोठतर्फ आइरहेको भल खोलातर्फ लगाउनुभयो । सडकमा आएको बाढीले घर त जोगियो तर घरछेवैको सानो खहरेमा एक्कासी आएको बाढीबाट राजेन्द्र भने जोगिन सक्नुभएन ।

बागलुङको ताराखोला गाउँपालिका–३ घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई आज बिहान बाढीले बगाउँदा बेपत्ता हुनुहुन्छ । “कहिल्यै नआएको पानी अहिले आयो, आरीबाट खन्याएको जस्तै”, वडाध्यक्ष जीतबहादुर बस्नेतले भन्नुभयो, “अलिमाथि पहिरो आएर खोल्सी थुनिएछ, एकै पटक फुटेर आउँदा सत्यानाश ग¥यो ।”राजेन्द्रसँग सडकको भल तर्काइरहेका उहाँका बुबा कृष्णबहादुर कार्की, भाइ र हजुरबुबा घाइते हुनुहुन्छन् । “कृष्णबहादुरलाई बाढीले केही तल पु¥याएर छेउ लगाएको अवस्थामा थिए, हजुरबुबा र भाइलाई पहिल्यै बाढीको हावाले हुत्याएछ”, बस्नेतले भन्नुभयो, “खोरका बाख्रा र राजेन्द्रलाई बाढीले बगाएछ ।”

कृष्णबहादुरको टाउकोमा गहिरो चोट छ । शरीरका अन्य अङ्गमा समेत ससाना चोट लागेकाले स्थानीय स्वास्थयचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । व्यावसायिक बाख्रापालनका लागि भनेर ‘कार्की बाख्रा फार्म’ दर्ता भएको छ । छोरासँगै कृष्णबहादुरले पालेका ४० वटा बाख्रा पनि बाढीले बगायो । एघार बाख्राको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो । परिवारका छ जना सदस्यलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हवारीले बताउनुभयो । सोही ठाउँका ध्रुव क्षेत्रीको होटेल पहिराले पुरेको छ ।

यो पनि – पहिराले बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी–जोमसोम–कोरला सडक र बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएका छन् । गए रातिको भिषण वर्षाका कारण म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेर सडक बन्द भएको छ । त्यसैगरी पश्चिम म्याग्दीको मङ्गला, मालिका र धौलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ सडकखण्ड पनि पहिराले अवरुद्ध भएको छ । पहिराले उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरे, रघुगङ्गा–१, बेगखोला र अन्नपूर्ण–३, दानामा बेनी–जोमसोम–कोरला सडकखण्डमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सडक माथिबाट खसेको लेदो, ढुङ्गामाटो र गेगरसहितको पहिरोले सडक पुरिएपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो । उता पश्चिम म्याग्दीका तीन गाउँपालिका र बागलुङ जिल्लाका विभिन्न गाउँ जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ । सडकभन्दा माथिबाट खसेको पहिरोले बेनी नगरपालिका–४, घुमाउनेभीर तथा मालिका–६, दरबाङको बाङ्गे पहिरो भन्ने ठाउँमा सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडक खुलाउने प्रयास भइरहे पनि सडकमा लेदो बगिरहेकाले समस्या भएको प्रहरीले जनाएको छ । स्मरणीय छ गए राति म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको छिस्बाङ खहरे खोलामा आएको बाढीले घर बगाउँदा दुई जनाको ज्यान गएको छ ।