युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजबाट बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार २८ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । रु ६४ करोड ५० लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमारलाल कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीको जारी पुँजीको ३० प्रतिशत शेयर जारी गरिएको हो । हाल कम्पनीको जारी पुँजी रु दुई अर्ब १५ करोड बराबर रहेको छ ।
कम्पनीले प्रतिकित्ता र एक सय अङ्कित दरका ६५ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री खुला भएको छ । जसमध्ये तीन लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि र तीन लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ५८ लाख पाँच हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको हो । उक्त शेयर इच्छुक लगानीकर्ताले न्यूनतम दश कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर)मार्फत समेत आइपिओमा आवेदन दिन सक्नेछन् ।
यो पनि – ललितपुर महानगरपालिकामा खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइँदै
ललितपुर महागरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्वारा आज यहाँ जारी सूचनामा महानगरस्तरीय खोप समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । पहिलो मात्रा सो लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने सूचनामा जनाइएको छ ।
सूचनामा महानगरपालिकाका २९ वडामै खोप केन्द्र राखिने र पहिलो मात्राको खोप लगाएको कार्ड अनिवार्य साथमा लिएर आउनसमेत आग्रह गरिएको छ ।
यसैगरी ललितपुरमा रहेका दुई नगरपालिका महालक्ष्मी र गोदावरीमा भने आगामी शुक्रबार सो खोप लगाइने भएको सम्बन्धित नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । यसैगरी दक्षिण ललितपुरमा रहेका तीन गाउँपालिकामध्ये कोञ्ज्योसोम र महाङ्कालमा आगामी शुक्रबार एक दिन खोप लगाउनका साथै वाग्मतीमा भने २५ र २६ दुई दिन सो खोप लगाइदिने भएको सम्बन्धित गाउँपालिकाले जनाएका छन् ।
यो पनि – देशभर मनसुनी वायुको प्रभावः केही क्षेत्रमा भारी वर्षाको सम्भावना
देशभर हाल मनसुनी वायुको प्रभावले प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धोरै स्थान र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १, प्रदेश नं २, वाग्मती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा केही स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । राति लुम्बिनी, सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा थोरै भारी वर्षाको सम्भावना रहेको छ । भोलि शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
काठमाडौँ उपत्यकामा गए रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा १६ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै घोराहीमा १३६, ताप्लेजुङमा ५८, धनकुटामा ५० र पोखरामा ४६ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको अधिकतम २९ दशमलव ५ र न्यूनतम तापक्रम २१ दशमलव २ डिग्री सेल्सियस रहेको छ । रासस
प्रतिक्रिया