तनहुँमा पहिरोले पुरिएर एक महिलाको मृत्यु

तनहुँमा पहिरोले पुरिएर एक महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँको ऋषिङ गाउँपालिका–७ डढीवनमा पहिराले पुरिएर एक महिलाको मृत्यु भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराले पुरिएर आज बिहान ती महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ५२ वर्षीया देवीसरा थापा रहेको वडा सदस्य याम सारु मगरले जानकारी दिनुभयो । घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उहाँको मृत्यु भएको हो । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल हुनुभएको छ ।

“घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गड्यो, चप्पल टिप्न खोज्दा पहिराले पु¥यो,” उहाँले भन्नुभयो, “मृतकको शव निकाल्न सकिएको छैन ।” पहिराले पुरिएर आज नै ऋषिङ गाउँपालिका–८ स्थित माझकोटका करीब ४० वर्षीय खुमबहादुर थापा बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी छ । पहिराले डढीवनमा तीन घर क्षतिग्रस्त भएको र थुप्रै घर जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी कोटदरवार उपशाखाका सभापति ईन्द्र आलेले जानकारी दिनुभयो । उहाँका अनुसार ऋषिङ–५ राम्जाकोटमा एक घर क्षतिग्रस्त र दुई घर जोखिममा परेको भने ऋषिङ–६ मा दुई घर र केही गोठ जोखिममा छन् ।

त्यस्तै ऋषिङ–४ का वडा सदस्य टोलनाथ थापाको घर र पद्मयोति विद्यालय भवन जोखिममा परेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले वर्षासँगै आएको पहिराले गाउँपालिकाभित्रका थुप्रै ठाउँमा पहिरा गएका छन् भने बाटो अवरुद्ध भएका छन् ।

खोलाले बगाएर बेपत्ता

तनहुँको म्याग्दे गाउँपालिका–४ मा खोलाले बगाएर आज एक जना बेपत्ता भएका छन् । सोही ठाउँका अन्दाजी ४० वर्षीय मैत नेपालीको खोलाले बगाएर बेपत्ता भएका छन् । म्याग्दे खोला तर्ने क्रममा नेपालीलाई बगाएको स्थानीयवासी नुत्त भुजेलले जानकारी दिनुभयो । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बढेको खोलाले बगाएका नेपालीको खोजीकार्य जारी रहेको उहाँले बताउनुभयो । “प्रहरी र स्थानीयवासीले उहाँको खोजी शुरु गरेको छ,” भुजेलले भन्नुभयो । रासस

यो पनि – पहिरामा पुरिएर बेपत्ता

तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनसार आज बिहान ५ः३० बजे घरबाट गोठमा गएका उहाँलाई माथिबाट पहिरा खस्दा पुरेको हो । “श्रृङ्गपथ तलबाट पहिरो खसेको छ”, उहाँले भन्नुभयो । बेपत्ताको स्थानीयवासीले खोजी कार्य गरिरहेका छन् ।

डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध

पहिरो हटाएर सञ्चालनमा आएको डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुर सडकखण्ड अवरुद्ध भएको जानकारी दिनुभयो । गत मङ्गलबार पहिराले अवरुद्ध भएको उक्त सडकखण्ड चार दिनपछि आंशिक सञ्चालनमा आएको थियो । डिभिजन सडक कार्यालय, जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा बन्दीपुर जाने सडक शनिबारदेखि आंशिकरुपमा सञ्चालनमा ल्याइएको थियो ।

पृथ्वीराजमार्गको डुम्रेदेखि सात किमीको दूरीमा रहेको बन्दीपुर जाने सडकमा ठाउँ–ठाउँमा पहिरा झरेर अवरुद्ध भएको छ । पहिरोले बन्दीपुरका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । पहिराले ढाडखोला मोटरमार्गमा ठूलो क्षति पु¥याएको छ ।