‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै हुनुहुन्छ । सो प्रतियोगिता खेल्न उहाँ आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उहाँका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउनुहुनेछ । द हन्ड्रेड क्रिकेट प्रतियोगिता उहाँले ओभलबाट खेल्नुहुनेछ । द हन्ड्रेड प्रतियोगिता आगामी साउन ७ गतेदेखि शुरु हुँदैछ । लामिछाने सम्मिलित टोली ओभलले उद्घाटन खेल म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ । सो प्रतियोगिता बेलायत र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो ।
गत वर्ष हुने भनिएको सो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो । द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि २० वर्षीय लामिछाने एक लाख पाउण्डमा अनुबन्धित हुनुभएको हो । द हन्ड्रेड प्रतियोगितापछि उहाँले क्यारेबीयन प्रिमियर लिग (सिपिएल) खेल्ने तय भएको व्यवस्थापक सिवाकोटीले जानकारी दिनुभयो ।
यो पनि – देशभर मनसुनी वायुको प्रभावः केही क्षेत्रमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
काठमाडौँ, २४ असार (रासस) : देशभर हाल मनसुनी वायुको प्रभावले प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धोरै स्थान र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १, प्रदेश नं २, वाग्मती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा केही स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । राति लुम्बिनी, सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा थोरै भारी वर्षाको सम्भावना रहेको छ ।
भोलि शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
काठमाडौँ उपत्यकामा गए रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा १६ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै घोराहीमा १३६, ताप्लेजुङमा ५८, धनकुटामा ५० र पोखरामा ४६ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको अधिकतम २९ दशमलव ५ र न्यूनतम तापक्रम २१ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।
यो पनि – प्रदेश २ : आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलमा सदस्य नियुक्त
धनुषा, २४ असार (रासस) : प्रदेश २ को आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलमा रिक्त सदस्यको पदपूर्ति गरिएको छ । प्रदेश सरकारले आमसञ्चार प्राधिकरणमा दुई र मिडिया काउन्सिलमा चार जनालाई सदस्यमा नियुक्त गरेको छ ।
प्रदेश मिडिया काउन्सिलको सदस्यमा कैलाश दास (धनुषा), अर्जुन मण्डल (धनुषा), रिंकु मिश्र (धनुषा) र बन्दना झा (सर्लाही) लाई नियुक्त गरिएको छ भने प्राधिकरणको सदस्यमा अमरेन्द्र यादव (सप्तरी) र प्रतिमा चौधरी (बारा)लाई नियुक्त गरिएको छ । प्रदेश २ सरकारले सञ्चार क्षेत्रमा तीन पदाधिकारीलाई यसअघि नै नियुक्त गरिसकेको छ ।
सञ्चार प्राधिकरणको अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलको अध्यक्षमा शिवहरि भट्टराई र चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैतालाई गत माघ २३ गते नै प्रदेश सरकारले नियुक्त गरेको थियो । श्यामसुन्दर र शिवहरि सप्तरी जिल्लामा रहेर पत्रकारिता गर्दै आउनुभएको छ भने मोरबैता सिरहा निवासी हुनुहुन्छ ।
त्यसैगरी प्रदेश सरकारले चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डको सदस्यमा गत वैशाख १० गते अशोक दत्त, पुष्पा यादव र बिएम पटेललाई नियुक्त गरिसकेको छ ।
प्रतिक्रिया