अविरल वर्षापछि पहिरो जादा साँफे–मार्तडी सडक पुनः अवरुद्ध

अविरल वर्षापछि पहिरो जादा साँफे–मार्तडी सडक पुनः अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा २४ असार । साँफे–मार्तडी सडक पुनः अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षापछि पहिरा जाँदा साँफे–मार्तडी सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सो सडकखण्डमा दुई ठाउँमा पहिरो गएको छ । लामो समयदेखि बन्द सडक केही दिन पहिले सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको केही दिनमै पुनःपहिरो गएपछि साँफे मार्तडी सडकको बाजुराखण्ड सम्पर्कविहीन भएको छ ।

लगातारको वर्षाले साँफे मार्तडी सडकखण्डको ठाउँठाउँमा पहिरो आएपछि बुधबार रातिबाट सडक अवरोध भएको छ । सडक अवरुद्ध बनेसँगै यातायातका साधन तथा स्थानीयवासीलाईसमेत आवतजावत गर्न समस्या भएको छ । बुधबारदेखि आएको वर्षाले बडीमालिका नगरपालिका– ४ को ओलेना र बूढीगङगाको द्वारीमा पहिरो गएपछि आज बिहानबाट यातायातका साधन बन्द भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले जानकारी दिनुभएको छ । सडक खुलाउनका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ । ठाउँठाउँमा पहिरो गएर आवतजावतमा निकै समस्या भएको स्थानीयवासीले बताएका छन् । रासस

यो पनि – देशभर मनसुनी वायुको प्रभावः केही क्षेत्रमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २४ असार (रासस) : देशभर हाल मनसुनी वायुको प्रभावले प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धोरै स्थान र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, प्रदेश नं २, वाग्मती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा केही स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । राति लुम्बिनी, सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा थोरै भारी वर्षाको सम्भावना रहेको छ ।

भोलि शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

काठमाडौँ उपत्यकामा गए रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा १६ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै घोराहीमा १३६, ताप्लेजुङमा ५८, धनकुटामा ५० र पोखरामा ४६ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको अधिकतम २९ दशमलव ५ र न्यूनतम तापक्रम २१ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।