तोकिएको दरभन्दा बढी भाडा लिने सवारीसाधन कारवाहीमा

तोकिएको दरभन्दा बढी भाडा लिने सवारीसाधन कारवाहीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, २४ असार । तोकिएको दरभन्दा बढी भाडा लिने सात सवारीसाधनलाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार निषेधाज्ञा उलङ्घन गर्ने तथा यात्रुलाई टिकट नदिइ बढी भाडा लिने चार जीप तथा तीन हाईस गरी सात वटा सवारीसाधनलाई आज कारवाही गरिएको छ । कारवाहीमा परेका सवारीसाधनबाट रु ६ हजार ५०० जरिवाना समेत लिइएको छ ।

जिल्लामा सञ्चालन भइरहेका सावरीसाधनले बढी भाडा लिने गरेको गुनासो बढेपछि यहाँको स्थानीय प्रशासनले छड्के अनुगमन शुरु गरेको छ । दोस्रो चरणको कोरोना भाइरस कोभिड–१९ को माहामारीका बेला यात्रु ठगिन थालेपछि छड्के अनुगमन शुरु गरी सावारीसाधन जाँच गर्न थालिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाको मौका छोपी यातायात सञ्चालकले यात्रु ठग्ने गरेको उजूरी आएपछि हामीले अनुगमन शुरु गरेका छौँ, यात्रु ठग्नेलाई जरिवानासमेत तिराउन थालेका छौँ ।”

जिल्लामा कोरोना निषेधाज्ञा उलङ्घन गर्ने चार र यात्रुलाई टिकट नदिइ बढी भाडा लिने तीन सवारीसाधन कारवाहीमा परेका हुन् । यसैगरी डोटीबाट धनगढीका लागि छुट्ने केही सवारीसाधनले तोकिएको प्रति व्यक्ति भाडादर रु ५५० भन्दा बढी रु एक हजारसम्म भाडा लिँदै आएको गुनासो बढेको छ ।

पहिलो पटक बढी भाडा लिने सवारीसाधनलाई सामान्य जरिवाना तिराइ बढी लिएको यात्रुको भाडा फिर्ता गर्न लगाइएको र पुनः दोहरिए कानून बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

यो पनि – युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने पक्राउ

युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइन (भाइबर, ह्वाट्सएप) मार्फत सट्टेबाजी गराइरहेको अवस्थामा पोखरा महानगरपालिका–६ लेकसाइडस्थित एक होटलबाट पोखरा–२७ तालचोकका १८ वर्षीय सुलभ सुवेदीलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ सुवास हमालले बुधबार जानकारी दिनुभयो ।

निजलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत सट्टेबाजी गर्न नहुने कसुरमा सातदिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको र घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।