कर्णाली, २४ असार । कर्णाली प्रदेशसभाको बैठक आज पनि स्थगित भएको छ । आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेटबारे छलफल गर्नुपर्ने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण बैठक सञ्चालन हुन सकेन । एमालेको अवरोधले प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथि अझै छलफल हुन सकेको छैन । बैठक शुरु हुनासाथ एमाले सांसद उठेर अवरोध गरेका थिए । सभामुखले एक जनालाई बोल्न र अन्यलाई आसनग्रहण गर्न अनुरोध गरेलगत्तै एमालेका प्रदेशसभा सदस्य दल रावलले प्रदेश सरकारले असंवैधानिक कदम चालेका कारण विरोध गर्न बाध्य भएको बताउनुभयो ।
“कर्णालीमा अल्पमतले बहुमतमाथि शासन गरिरहेको छ, यो नैतिक, लोकतान्त्रिक र वैधानिक रुपमै लज्जास्पद हो”, उहाँले भन्नुभयो, “जबसम्म सरकार आफ्ना गल्ती सच्याउँदैन्, तब बजेटमाथि छलफल गर्न सकिँदैन ।” रावलले बोलेपछि पनि एमाले सांसद सिटमा नबसेपछि सभामुखले यही असार २७ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो । एमालेले सदनमा एउटै पार्टीलाई सत्तापक्ष र प्रतिपक्षीमा राख्न खोजिएको भन्दै आपत्ति जनाउँदै आएको छ । हाल प्रदेश सरकारमा एमालेका तीन जना सदस्य मन्त्री हुनुहुन्छ । फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिएका एमालेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारमा सहभागी गराउनुभएको छ ।
फ्लोर क्रस गरेपछि एमालेको सिफारिशका आधारमा प्रदेशसभाले पदबाट बर्खास्त गरेपनि सर्वोच्च अदालतको अन्तरिम आदेशबाट उहाँहरुसहित प्रकाश ज्वाला पुनर्वहाली हुनुभएको थियो । प्रदेशसभाले विपक्षी लहरमा सिट व्यवस्थापन गरेपनि ज्वालाबाहेक अन्य तीन जना सत्तापक्षको कुर्सीमा बस्दै आउनुभएको छ । एमालेले सोही विषयलाई लिएर सदन अवरुद्ध गर्दै आएको छ । संसदीय व्यवस्थामा एउटै पार्टी सत्तापक्ष र विपक्षी हुन नसक्ने एमालेको जिकिर छ । रासस
यो पनि – एमालेलाई चाँडै एकताबद्ध घोषणा गरिने
काठमाडौँ, २४ असार । नेकपा (एमाले) कार्यदलले विवाद समाधान खाका तयार गरिसकेकाले पार्टी एकताबद्ध भएको घोषणा हुने भएको छ । कार्यदलको आज दिउँसो सिंहदरबारमा भएको छलफलमा पार्टीभित्रको विवादलाई सहमतिका आधारमा अन्तिम रूप दिने तयारी भएको हो । एमाले नेता सुवास नेम्वाङले आज साँझ पुनः कार्यदलको बैठक बसी पार्टीभित्रका सबै समस्या समाधान गरिने बताउनुभयो ।
दिउँसो बसेको कार्यदलको बैठक थप गृहकार्य गर्न साँझ ७ बजे सिंहदरबारमा पुनः बस्ने छ । यसअघि कार्यदलको तयारी र आपसी परामर्शका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । “भरसक आजै पार्टीभित्रको विवाद समाधानलाई निष्कर्षसम्म पु¥याउने हाम्रो जोड हुन्छ”, कार्यदलका नेता नेम्वाङले भन्नुभयो, “जो भइरहेको छ, ठीक भइरहेको छ, सहमतिका आधारमा संयुक्त वक्तव्य आउने कुरा ठूलो होइन, पार्टी एकताबद्ध बनाउने घोषणा गर्न लागेका हौँ ।” उहाँले पार्टीभित्रको विवाद समाधान गर्न छलफल निरन्तर जारी रहेको र सकारात्मक भएको बताउनुभयो । उहाँले कार्यदलमा गरिएको सहमतिको गृहकार्यबारे शीर्षनेतासँग पनि बैठक बस्नुअघि छलफल गरिने जानकारी दिनुभयो ।
एमालेका सचिव गोकर्णराज विष्टले छिट्टै विवाद समाधान गर्दै एकताको घोषणा गरिने बताउनुभयो । उहाँले लामो समयदेखिको अनौपचारिक छलफललाई कार्यदलको बैठकमार्फत कार्यकर्ता र शुभेच्छुकको चाहनाबमोजिम एकताको कामलाई सार्थक निष्कर्षमा लैजान लागिएको बताउनुभयो । रासससँग कुरा गर्दै नेता विष्टले भन्नुभयो, “आपसी अविश्वास र बेमेल तथा अप्ठ्यारो स्थितिबाट पार गर्दै हामी निचोडमा पुग्न लागेका छौँ ।” रासस



प्रतिक्रिया