मस्को, रूस, २४ असार । रूसमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्यामा अझै नियन्त्रण आउन नसकेको रूसी संघीय सूचना केन्द्रद्वारा बिहीबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । रूसमा पछिल्लो २४ घण्टामा २४ हजार ८१८ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएसँगै अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या ५७ लाख सात हजार ४५२ पुगेको बताइएको छ ।
केन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “रूसको कोभिड–१९ प्रभावित ८५ क्षेत्रमा गरिएको परीक्षणमा सङ्क्रमितको सङ्ख्या २४ हजार ८१८ पाइएको छ । यी सङ्क्रमितमध्ये दुई हजार ९५४ अर्थात् ११.९ प्रतिशत सङ्क्रमितमा कुनै पनि लक्षण फेला नपरेको पाइएको छ ।” केन्द्रका अनुसार सङ्क्रमित दर ०.४४ प्रतिशतले कम भएको छ । बिहीबार मस्कोमा छ हजार ४० व्यक्ति सङ्क्रमित भएका छन् । राजधानी मस्कोपछि रूसको बढी घना बस्ती रहेको सेन्ट पिटर्सबर्गमा पछिल्लो २४ घण्टामा एक हजार ९३७ सङ्क्रमित भेटिएका छन् ।
केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा ७३४ व्यक्तिको कोभिडका कारण मृत्यु भएको छ । अहिलेसम्म कोभिडका कारण रूसमा एक लाख ४० हजार ७७५ व्यक्तिको मृत्यु भएको छ ।उक्त समयमा कोभिड–१९ सङ्क्रमित २१ हजार ३३६ विरामी कोरोनाभाइरसमुक्त भएका छन् । यससँगै रूसमा कोभिड भई निको हुनेको सङ्ख्या ५१ लाख ४३ हजार २२५ पुगेको छ । रासस
यो पनि -कोरोना संक्रमणबाट उद्योगी अग्रवालको निधन
कोभिड–१९ सङ्क्रमणका कारण जिल्लाका पुराना तथा दर्जनौँ उद्योगका सञ्चालक पर्शुराम अग्रवालको निधन भएको छ । भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति ६२ वर्षीय अग्रवालको उपचारकै क्रममा भारतको सिलिगुडीस्थित महाराजा अग्रसेन नर्सिङहोममा बुधबार राति निधन भएको हो । उहाँको शवलाई आज बिहान भद्रपुर ल्याएर नेपाल स्काउटको टोलीले दाहसंस्कार गरेको परिवारले जनाएको छ । केही समयअघि स्वास्थ्यमा समस्या आएपछि मेची अस्पतालमा उहाँको पिसिआर परीक्षण गराइएको थियो । गत जेठ ३१ गते अग्रवाललाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै होमआइसोलेशनमा बसेर उपचार भइरहेको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि उहाँलाई यही असार ४ गते सिलिगुडी लगिएको थियो । उपचारकै क्रममा नर्सिङहोममा उहाँको निधन भएको हो ।
विसं २०१६ मा जन्मिएका अग्रवालले भद्रपुरमै बसेर व्यापार व्यवसाय सञ्चालन गर्दै आउनुभएको थियो । शुरुमा घरमै ‘घडी बिडी’को उद्योग स्थापना गर्नुभएका उहाँले हाल मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउ, ग्यालेक्सी इन्टरनेशनल स्कूल, गुट्खा उद्योग, घडी बिडी उद्योग, होटल, सिनेमा हललगायत सञ्चालन गर्दै आउनुभएको छ ।
मोहपाल धर्मशाला, भद्रपुर मारवाडी सङ्घ, भद्रपुर गौशाला र जिल्लाका विभिन्न मठमन्दिर बनाउन अग्रवालको ठूलो योगदान रहेको पत्रकार गोपाल गिरी बताउनुहुन्छ । अन्य जिल्लामा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको दर घटे पनि झापामा भने दैनिक कोरोना सङ्क्रमणकै कारण तीनदेखि चार जनाको मृत्यु भइरहेको छ ।
प्रतिक्रिया