काठमाडौँ, २४ असार । नेपाल फुटसल व्यवसायी सङ्घले बन्द रहेको फुटसल सञ्चालनको माग गर्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाएको छ । कोभिड–१९ को दोस्रो लहर आएसँगै निषेधाज्ञामा केही सहज देखिएकाले सङ्घले पनि उक्त खुकुलोपनको उपभोग गर्न पाउनुपर्ने माग गर्दै ज्ञापन बुझाएको हो । ज्ञापनपत्रमा लामो समय बन्द रहेका कारण फुटसललाई आर्थिक भार परेको भन्दै फुटसल सञ्चालनका लागि अनुमति दिन माग गरिएको उल्लेख छ ।
“खेल क्षेत्रमा पनि सावधानी अपनाई खेल सञ्चालन कार्यविधि निर्माण गर्न हामी व्यवसायीहरू पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौँ । हाल राज्यले कुनै पहल नदेखाएको हुँदा हाम्रो गम्भीर ध्यानाकर्षण भएकाले आवश्यक पहल गरी हामीहरूको फुटसल व्यवसाय अविलम्ब सञ्चालनको प्रबन्ध गरिदिन यो ध्यानाकर्षणपत्र बुझाएका छौँ”, विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले यस क्षेत्रमा ध्यान नदिँदा जग्गाको भाडा, बैंकको ब्याज, कर्मचारीको पारिश्रमिक दिनसमेत नसकेको भन्दै सबै सावधानी अपनाएर फुटसल सञ्चालन गर्न व्यवसायीले प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । नेपाल सरकारले अझै पनि समूहमा खेलिने खेल र गतिविधि गर्न प्रतिबन्ध लगाएको छ । रासस
यो पनि – निषेधाज्ञा असार ३१ सम्म थपियो, होटल तथा खाजाघर खुल्ने
चितवन, २४ असार (रासस) : स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप एक साता लम्ब्याइएको हो । निषेधाज्ञा असार ३१ गते राति १२ बजेसम्म जारी रहने छ ।
निषेधाज्ञा थप भए पनि केही क्षेत्र खुकुलो पारिएको छ । आदेशानुसार शुक्रबारदेखि होटल तथा खाजाघर टेक अवे र होमडेलिभरी सेवा दिने गरी बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । होटल तथा लज स्वास्थ्य मापदण्ड पालना गरी कूल कोठाको एक तिहाइ सङ्ख्या नबढ्ने गरी सञ्चालन गर्न पाइने भएको छ । कोठा प्रत्येक दिन अनिवार्यरूपमा निसङ्क्रमण गर्नुपर्नेछ ।
यस्तै अब बजार दैनिक आठ घण्टा खोल्न पाइने भएको छ । आदेशमा भनिएको छ, “शुक्रबारदेखि इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसल, भाँडा, कपडा, फेन्सी, कम्प्युटर, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटरपार्ट्स, जुत्ता चप्पल, टेलरिङ, प्रेस तथा फोटोकपी पसल बिहान ११ देखि साँझ ७ बजेसम्म खोल्न पाइने छ ।”
यसअघि साताको तीन दिन दिउँसो १२ देखि ६ बजेसम्म छ घण्टा मात्रै खोल्न पाइने व्यवस्था थियो । प्रशासनले शुक्रबारदेखि बारअनुसार खुल्ने व्यवस्था हटाएको हो । यसबाहेक अत्यावश्यक सेवा दिने खाद्यान्न, तरकारी तथा फलफूल, दूध, माछा मासु, औषधि, ग्यास, निर्माण सामग्रीसम्बन्धी पसल तथा पुस्तक पसलमा पनि लगाइएको समय सीमा हटाइएको छ । अब यी पसल दैनिक खोल्न पाइनेछ ।
प्रशासनले यसअघिको अदेशमा नै सेवाग्राहीको बढी भीडभाड हुने सरकारी कार्यालयले बारअनुसार सेवा प्रवाह गर्न पाइने निर्णय गरेको थियो । प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय तथा यातायात कार्यालयले बारअनुसार सेवा दिइरहेका छन् । अन्य सबै सरकारी कार्यालयले पनि स्वास्थ्य मापदण्ड पालना गरेर सेवा प्रवाह गरिरहेका छन् ।
कार्यालयले जारी गरेको आदेशमा स्थानीय रुटमा चल्ने सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीअनुसार सञ्चालन गरिने जनाइएको छ । सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, मास्क अनिवार्य गर्नुपर्ने, मास्क नलगाउने यात्रुलाई प्रवेश निषेध गर्ने गरी जोर बिजोर प्रणाली लागू गरिएको हो ।
प्रतिक्रिया