मनसुनपछिको वर्षा: बाढी, पहिरो र डुबानबाट ५१ को मृत्यु

मनसुनपछिको वर्षा: बाढी, पहिरो र डुबानबाट ५१ को मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुने २६ पुरुष, १५ महिला, १० बालबालिका छन् । तीमध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा तीन÷तीन, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा दुई÷दुई र ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक÷एक जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै सात जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार दार्चुलामा तीन, पाल्पामा दुई तथा तनहुँ र दाङमा एक÷एक जनाको मृत्यु भएको हो । बाढीपहिरो र डुबानमा परी मनसुन अवधिको जेठ ३० पछि आजसम्म ७१ जना घाइते भएका छन् । तीमध्ये ३६ पुरुष, १९ महिला, ११ जना बालक र पाँच जना बालिका छन् । यस्तै बाढीपहिरामा परी २९ बेपत्ता छन् । तीमध्ये १९ पुरुष, ६ महिला, तीन बालक र एक बालिका रहेका छन् ।

बेपत्ता हुनेमा सिन्धुपाल्चोकका २०, चितवनका तीन, पर्वत र तनहुँका दुई÷दुई तथा बाजुरा र बाग्लुङमा एक÷एक जना छन् । । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । बाढीपहिरामा परेका एक हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । बाढीको कारण एक हजार ५१६ घर डुबानमा परेका र ५६४ घर, ९९ गोठ, ४२ पुल, ३ विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार १५८ घरका पाँच हजार ४२३ व्यक्ति विस्थापित भएका छन् । रासस

यो पनि – काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा

भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सकिएको छ । विसं २०७२ लको भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएको उक्त ऐतिहासिक सम्पदाको पुनः निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । काठमाडौँ महानगरपालिकले रकम उपलब्ध गराउने सर्तसहित पुनः निर्माणको काम विसं २०७५ वैशाखबाट शुरु भएको थियो ।

उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनःनिर्माणका भइरहेको सातौँ शताब्दीको काष्ठमण्डप पुनः निर्माणका लागि कामपाले हालसम्मा रु ११ करोड ५० लाख रकम उपलब्ध गराएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यका अनुसार लकडाउन र निषेधाज्ञाको अवधिमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै निरन्तर काम भइरहेको छ । त्यस अवधिमा छानो छाउनका लागि काठको अभाव भए पनि अहिले त्यो समस्यापछि टरेको छ, निरन्तर काम भइरहेको छ ।

आवश्यक पर्ने आठ सबै आइसकेकाले छिटोभन्दा छिटो पुनः निर्माण सक्ने चरणमा पुगेको शाक्यले जानकारी दिनुभयो । निर्माण कामअन्तर्गत अहिले तेस्रो तला अर्थात् गजुर राख्ने काम भइरहेको छ । त्यसपछि छानो छाउने काम हुनेछ । छानोको लागि आठ हजार क्युफिट काठ आवश्यक पर्छ । उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । केही यस अघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ ।