एक लाख १० हजार बुझाउन नसक्दा सुत्केरी महिला अस्पतालमा ब’न्धकः श्रीमान पैसाको खोजीमा भौँतारिँदै

एक लाख १० हजार बुझाउन नसक्दा सुत्केरी महिला अस्पतालमा ब’न्धकः श्रीमान पैसाको खोजीमा भौँतारिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, २५ असार। बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि ब’न्धक बन्नुपरेको छ । अस्पतालमा बन्धक बन्नुपर्दा बच्चाको स्यारसुसार र सहजरुपमा आमाको न्यानो काखमा हुर्कन पाउन समस्या उत्पन्न भएको छ । जनकपुरधामस्थित आर्या केयर अस्पतालमा धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन चार दिनदेखि ब’न्धक बनेकी हुन् । ब्यथा लागेपछि यही असार १७ गते बेगम खातुन अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिएकी बेगमलाई असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको थियो तर उपचार खर्चबापत रु एक लाख १० हजार बुझाउन नसक्दा उनी चार दिनदेखि ब’न्धक बनेकी छिन् ।

अस्पताल प्रशासनले उनलाई जनरल वार्डमा राखेर घर जानबाट वञ्चित गरेको छ । बेगमकी ३१ वर्षीय श्रीमान् मोहम्मद समीर नदाफले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजे पनि पूरा रकम व्यवस्था गर्न सकेको छैन् । लकडाउनका कारण देखाएर ऋण नपाउँदा उनी अस्पतालमा चार दिनदेखि घेरिएको समीर नदाफले बताउनुभयो । दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका समीरको न आफ्नो घर छ, न त काम । उहाँले भन्नुभयोे, “दैनिक ज्याला मजदूरी गरी हातमुख जोर्ने गरेको हामी, लामो समयसम्म भएको लकडाउनका कारण काम नपाएर छाक टार्न नै मुस्किल भएको बेला अस्पतालको उपचार खर्च कसरी जुटाउ ?” उहाँले उपचार खर्च तिर्न नसक्दा आफ्नो श्रीमती र नवजात शिशु घर ल्याउनको लागि भनी चार पाँच दिनदेखि गाउँमा चारैतिर चन्दा सङ्कलन गरिरहेको बताउनुभयो ।

समीरले आज बिहान राससको कार्यालयमा आएर उपचार खर्च जुटाई दिनका लागि गुहार माग्नुभयो । उहाँले भन्नुभयो, “सबैतिर गाउँमा डुलेर श्रीमती र नवजात शिशुलाई अस्पतालको खर्च जुटाउनका लागि चन्दा मागे, अहिले रु ५० हजार जति सङ्कलन भयो तर अझ रु ६० हजार घटेको छ । तपाईको सञ्चारमाध्यमबाट उपचार खर्च जुटाउनका लागि सम्पूर्ण मनकारीसँग गुहार मागेको छु ।”

उता अस्पताललाई तिर्नुपर्ने बिल बढेकोबढ्यै छ । यता बेगमको श्रीमान् समीर भने पैसाको खोजीमा गाउँमा भौँतारिइरहेका छन् । “एउटा झोला र कापी लिएर हिँडेको छु”, दुःख सुनाउँदै उहाँले भन्नुभयो, “कोरोनाको बेला घर नआउनुस् भन्दै कसैले चाहिँ टाढैबाट झोलामा पैसा हाल्दिनुहुन्छ । सबैको नाम र दिएको पैसा कापीमा टिपेको छु ।” समीरले बसोबास गर्ने बस्तीमा पनि प्रायः सबै गरीब नै छन् तर, सकेको सबैले सहयोग गरेका छन् । प्रतिघर रु २० देखि ५०० सम्म सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । “यसरी कहिलेसम्म उपचार खर्च तिर्ने पैसा जम्मा हुने हो, पत्तो छैन”, मलिन अनुहारमा उहाँले दुखेसो पोख्नुभयो ।

शल्यक्रिया र औषधिको लागि ऋण खोजेर उहाँले करीब करीब रु ५० हजार उपचारमा रित्याइसक्नुभएको छ । उहाँले भन्नुभयो, “अब दुई रुपैयाँ पनि तिर्न सक्ने अवस्थामा छैन ।” यसरी श्रीमती अस्पतालमा छन्, श्रीमान् पैसाको खोजीमा गाउँ टोलमा भौँतारिँदै छन् । समीरले कुनै मनकारी मनले उपचार खर्चका लागि सहयोग गर्न चाहे ९८१८०२६४४० मा सम्पर्क गर्न आग्रह गर्नुभयो । बच्चा र आमाको स्वास्थ्य अवस्था अहिलेसम्म ठीक छ । तर उपचार खर्च चाँडो जुटाउन नसके गाहे हुनसक्ने उहाँको दुःखेसो छ । अस्पताल प्रशासनले बिरामीको आर्थिक अवस्था हेरेर केही छुट गर्न सक्ने तर सबै उपचार खर्च मिनाहा गर्न नसकिने बताएको छ । अस्पताल प्रशासनकाअनुसार दुवै बच्चालाई आइसियुमा राखेर उपचार गर्नुपरेकाले खर्च बढेको हो । अस्पतालले गर्नसक्ने जति सक्दो छुट गर्नेछ । रासस

यो पनि – इलाममा कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु

मङ्गलबारे, २५ असार (रासस) : कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो । श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा दुई जनाको निधन भएको हो । एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै त्रास फैलिएको छ । स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस सङ्क्रमणका कारण होमआइसोलेशनमा हुनुहुन्छ ।

छ दिनअघि उहाँहरुलाई सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सबै होमआइसोलेशनमा हुनुहुन्थ्यो । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना सङ्क्रमित रहेको बताइएको छ । स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ ।

इलाममा बिहीबार थप २२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या दुई हजार १४४ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार ७२१ जना निको भइसकेका छन् भने ५२ जनाको यसअघि नै निधन भइसकेको थियो । जिल्लाभर ३७१ सङ्क्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

दश स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा ६७५ सङ्क्रमित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना मात्र सङ्क्रमित रहेका छन् । हाल गाउँगाउँमा सङ्क्रमण बढ्दै गएपछि जिल्लावासी त्रसित बन्दै गएका छन् । सवारी सञ्चालन र लकडाउन खुकुलो भएसँगै आवतजावत वृद्धि भएपछि सङ्क्रमण बढ्न थालेको हो । रासस

यो पनि – कोरोनाका कारण राजस्वको लक्ष्य भेट्न कठिन

कोभिड–१९ को महामारीका कारण काठमाडौँ महानगरपालिकालाई चालू आवमा राजस्व सङ्कलन र खर्चको लक्ष्य पूरा गर्न कठिन हुने भएको छ । चालू आवमा कोभिड सङ्क्रमणको पहिलो लहर र दोस्रो लहर दुवैको असर परेकाले लक्ष्यमा पुग्न कठिन भएको बताइएको छ । कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि सिर्जना भएको अवस्थाका कारण लक्ष्य पूरा गर्न कठिन भएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

प्रवक्ता डङ्गोलले भन्नुभयो, “कामपाले चालू आव २०७७÷७८ का लागि रु १६ अर्ब ४२ करोड ७३ लाख आय अनुमान गरेर सोही अनुरूप बजेट विनियोजन गरिएको थियो । जसमा बैंक मौज्दात रु तीन अर्ब ५० करोड थियो । यसबाहेक आन्तरिकतर्फ रु ६ अर्ब ६५ लाख अनुमान गरिएको थियो । त्यसमध्ये रु चार अर्ब ६३ करोड ८२ लाख प्राप्त भएको छ । निःशर्त अनुदान बाह्यतर्फ रु एक अर्ब ४२ करोड ४८ लाख अनुमान गरिएकामा ५४ करोड ७८ लाख प्राप्त भएको छ ।” चालू खर्चतर्फ विनियोजन गरिएको रु चार अर्ब ९२ करोड ४२ लाख गत जेठ मसान्तसम्ममा रु दुई अर्ब ५९ करोड नौ लाख खर्च भएको छ । यसैगरी पुँजीगततर्फ रु आठ अर्ब ८४ करोड २३ लाख विनियोजन गरिएकोमा रु एक अर्ब तीन करोड ३६ लाख, वित्तीय क्षेत्रतर्फ रु ३७ करोड ११ लाख विनियोजन भएकामा रु आठ करोड ५० लाख खर्च भएको छ ।

विषयगत क्षेत्रअनुसार कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि रु एक अर्ब ८४ करोड ८० लाख विनियोजन भएकामा रु एक अर्ब ३५ करोड १२ लाख अर्थात् ७३ प्रतिशत खर्च भएको छ । सामाजिक विकास क्षेत्रतर्फ रु दुई अर्ब ५७ करोड ७८ लाख विनियोजन गरिएकोमा रु एक अर्ब नौ करोड ३९ लाख अर्थात् ४२ प्रतिशत खर्च भएको छ । पूर्वाधार क्षेत्र विकासतर्फ रु सात अर्ब ८० करोड ७३ लाख विनियोजन गरिएकोमा रु ९३ करोड ९४ लाख खर्च भएको छ ।

कामपाले आगामी आव २०७८/७९ का लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार वार्षिक बजेट प्रस्ताव गरिएको छ । यही असार १० गते राष्ट्रियसभा गृहमा बसेको महानगरको नवौँ अधिवेशनको चौथो बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रस्तावित बजेट पेश गर्नुभएको हो । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ रु ५५ करोड, सामाजिक विकासतर्फ रु दुई अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ रु १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ रु एक अर्ब १५ करोड प्रस्ताव गरिएको छ । प्रस्तावित बजेटमध्ये आन्तरिक आयबाट रु चार अर्ब ३४ करोड ३२ लाख व्यहोरिने छ । त्यसैगरी राजश्व बाँडफाँडबाट रु दुई अर्ब ५८ करोड २५ रहेको छ । आगामी आवको प्रस्तावित बजेटमाधि शुक्रबार थप छलफल हुनेछ ।रासस

यो पनि – मनसुनपछिको वर्षा ः बाढी, पहिरो र डुबानबाट ५१ को मृत्यु

मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुने २६ पुरुष, १५ महिला, १० बालबालिका छन् । तीमध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा तीन÷तीन, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा दुई÷दुई र ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक÷एक जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै सात जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार दार्चुलामा तीन, पाल्पामा दुई तथा तनहुँ र दाङमा एक÷एक जनाको मृत्यु भएको हो । बाढीपहिरो र डुबानमा परी मनसुन अवधिको जेठ ३० पछि आजसम्म ७१ जना घाइते भएका छन् । तीमध्ये ३६ पुरुष, १९ महिला, ११ जना बालक र पाँच जना बालिका छन् । यस्तै बाढीपहिरामा परी २९ बेपत्ता छन् । तीमध्ये १९ पुरुष, ६ महिला, तीन बालक र एक बालिका रहेका छन् ।

बेपत्ता हुनेमा सिन्धुपाल्चोकका २०, चितवनका तीन, पर्वत र तनहुँका दुई÷दुई तथा बाजुरा र बाग्लुङमा एक÷एक जना छन् । । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । बाढीपहिरामा परेका एक हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । बाढीको कारण एक हजार ५१६ घर डुबानमा परेका र ५६४ घर, ९९ गोठ, ४२ पुल, ३ विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार १५८ घरका पाँच हजार ४२३ व्यक्ति विस्थापित भएका छन् ।