गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका– १ छांगरु तथा तिंकरका बासिन्दा र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी ग¥यो । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत खाद्यान्न ढुवानी गरियो । व्यासमा बस्ने नागरिक र सुरक्षाकर्मी पनि खुशी भए । छ महीना पुग्ने खाद्यान्न ढुवानी गरिएपछि खुशी नहुने कुरो पनि भएन । हाल आएर अहिलेसम्म सरकारले दोस्रोपटक यहाँका नागरिक र सुरक्षाकर्मीका लागि खाद्यान्न ढुवानी गरेको छैन । सर्वसाधारणले गत वैशाखमा बसाइँसराइ (स्थानीय सौका समुदायको भाषामा कुञ्चा) सर्ने बेला थोरैथोरै खाद्यान्न घोडा र खच्चरमा लगेर जीविका चलाउँदैछन् ।
सौका समुदायले भारतीय बाटो हुँदै खाद्यान्न ढुवानी गरेका थिए । भारतीय एसएसबीसँग हारगुहार गरेर खाद्यान्न गाउँ पु¥याइएको थियो । अहिले पछिल्लो समय व्यास– १ छांगरुको गागास्थित सशस्त्र प्रहरीले भारतीय समकक्षीसँग अनुरोध गरेर खाद्यान्न ढुवानी गर्नु परेको छ । मित्रवत् व्यवहार भएका कारण खाद्यान्न, तरकारीलगायत सामग्री ढुवानी गरेर जोहो चलेको बताइएको छ । समकक्षीसँग सम्बन्धका कारण छांगरुमा रहेका सशस्त्र प्रहरीले आवश्यक सामग्री ढुवानी गर्ने गरेका छन् । नेपालको बजारबाट खाद्यान्न ढुवानी गर्न सकिने अवस्था छैन । बाटोघाटो छैन । गाडी त परै जाओस्, मान्छे हिँड्नसमेत बाटो छैन ।
सशस्त्र प्रहरीलाई खाद्यान्न किन्न पूरै भारतीय बजारमै निर्भर हुनु परेको छ । धारचुला बजारबाट गाडीमा सीतापुलसम्म खाद्यान्न ढुवानी गरेर छांगरु पु¥याउनुपर्ने बाध्यता सशस्त्र प्रहरीलाई छ । अहिले पनि धारचुलाबाट खाद्यान्न ढुवानीको तयारी थालिएको छ । गत मङ्गलबार भारतको गर्वाधार क्षेत्रमा पहिराले सडक अवरुद्ध भएपछि खाद्यान्न ढुवानी गर्न सकेको छैन । भारतयतर्फको पहिराले नेपालतिरको कल्जु क्षेत्रमा बाटो भत्काएको छ । सशस्त्र प्रहरीको क्वाटर मास्टर (खाद्यान्न व्यवस्थापन गर्ने व्यक्ति) ले नै धारचुला बजारमा खरीद गरेर पठाउनुपर्ने बाध्यता छ । सबैभन्दा सजिलो उपाय भनेको हेलिकप्टर नै हो । सरकारले हेलिकप्टरमार्फत ढुवानी गर्नमा चासो नदेखाएपछि सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले भारतीय सडक र भारतीय बजारबाटै खाद्यान्नको जोहो गर्नुपरेको छ ।
बिओपी स्थापना गर्दा २०७७ वैशाखमा छ महीनाका लागि सैनिक हेलिकप्टरबाट खाद्यान्न व्यवस्थापन गरियो । त्यसपछि भने खाद्यान्न व्यवस्थापनलगायत न सेनाको हेलिकप्टर प्रयोग भयो, न वैकल्पिक व्यवस्थापनको पहल भयो । शुरुमा खाद्यान्नलगायतका सामग्री सबै हेलिकप्टरमार्फत ढुवानी गरियो । कात्तिकपछि हेलिकप्टर आउनै छाडेको छ । “गत जेठमा नेपाल प्रहरीको खाद्यान्न र बन्दोबस्ती हेलिकप्टरमार्फत ढुवानी भयो, हाम्रा लागि अझै सरकारले हेरेको छैन”, सशस्त्र प्रहरीको गुनासो छ ।
सीमावर्ती बजारमा राशनकार्डवाहक भारतीयले चामल प्रतिकिलो भारु तीनदेखि पाँचमा पाउँछन् । भारतीय सुरक्षाकर्मीका लागि नियमित हेलिकप्टरमार्फत राशन, पोषणयुक्त सामग्री सबै ढुवानी हुन्छ । उनीहरुले खानुपर्ने सबै प्रकारका राशन सहजरुपमा पाइरहेका छन् । अण्डा र मासु पनि नियमित उनीहरुले पाइरहेका छन् । नेपालतिरका सुरक्षाकर्मीले पाउनुपर्ने राशन सुविधासमेत पाउन सकेका छैनन् । सदरमुकाम खलङ्गाबाट व्यासको छांगरु तिङ्कर पुग्न चारदेखि पाँच दिन समय लाग्छ । सडक पुगेको छैन । बाटो घाटो राम्रो छैन । सबै ठाउँमा जोखिम मोलेरै आवतजावत गर्नुपर्ने यहाँको बाध्यता छ । त्रिदेशीय सीमा जोड्ने गरी निर्माण भइरहेको खलंगा–तिकर सडक खण्डको १२ वर्षमा ४३ किलोमिटर मात्रै ट्र्याक खुलेको छ । गाडी ४० किलोमिटरसम्म मुस्किलले मात्रै सञ्चालन छ । त्यो पनि हिउँदयाममा मात्रै । बर्खामा यो सडक पनि बन्द रहन्छ । रासस
प्रतिक्रिया