एक वर्षमा १३ किमी कालोपत्र, २५ किमी ग्राभेल

एक वर्षमा १३ किमी कालोपत्र, २५ किमी ग्राभेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा नगरको १३ किलोमिटर सडकलाई कालोपत्रे गरेको छ । ग्रामीण क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले अधिकांश सडक कालोपत्र गरिएको छ । निर्वाचनपश्चात् शुरुको वर्षदेखि नै सडकलाई प्राथमिकता दिँदै हिलोमुक्त सडक बनाउन स्तरोन्नति गर्दै कालोपत्र गरिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । “प्रत्येक वर्ष १० किलोमिटरभन्दा बढी सडक कालोपत्र बनाएका छाँै, गाउँ–गाउँ पुग्ने सडक कालोपत्र हुँदा नागरिकको आवतजावतमा सहज भएको छ”, अधिकारीले भन्नुभयो, “आगामी वर्ष पनि विभिन्न सडकलाई कालोपत्र बनाउने योजना अघि सारेका छौँ ।”

नगरपालिकाले एक वर्षमा २५ किलोमिटर सडकलाई स्तरोन्नति गर्दै ग्राभेल गरेको नगरपालिकाका सवइञ्जिनीयर नारायण बोहोराले बताउनुभयो । उहाँका अनुसार एक वर्षको अवधिमा तीन किलोमिटर सडक आरसिसी, सामुदायिक भवन, धर्मशाला, दुई किलोमिटर नाली र दुई वटा कल्भर्ट निर्माण सम्पन्न भएको छ ।
निर्माण सम्पन्न भएका सडक अनुगमन गरिएको उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो । “निर्माण काम सम्पन्न भएका अधिकांश सडक अनुगमन गरेका छौं, गुणस्तरीय काम भएको छ”, थारुले भन्नुभयो, “सडकको गुणस्तरमा प्रश्न उठिरहेको बेला अनुगमनलाई प्रभावकारी बनाएका छौं ।”

शिवराज नगरपालिका–१ उमरीदेखि वनकट्टासम्मको सडक कालोपत्रको काम रु ५० लाखको लागतमा सम्पन्न भएको छ । त्यस्तै खरेन्द्रपुरदेखि धनगढवासम्मको सडक पनि यसै वर्ष कालोपत्र भएको छ । लामो समयदेखि वर्षात्को समयमा सडक हिलाम्मे हँुदा आवतजावतमा समस्या भएकाले यस वर्ष यस सडक कालोपत्र गरिएको वडा नं ३ का अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । त्यस्तै सोनवर्षीदेखि कटुवा, शिवराज–५ राष्ट्रिय माविदेखि रहटकोल जाने सडक कालोपत्रे सम्पन्न भएको छ । एक वर्षभित्र सबै गाउँमा पुग्ने सडक कालोपत्रे गर्ने योजना नगरपालिकाको रहेको छ । रासस

यो पनि – सरकारको स्वस्थ र रचनात्मक आलोचना गर्नुस् : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारिता जगत्ले स्वस्थ र रचनात्मक आलोचनामार्फत सरकारलाई खबरदारी गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको २१औँ स्थापना दिवसका अवसरमा आज ‘भर्चुअल’ माध्यमबाट शुभकामना दिँदै उहाँले पत्रकारिता जगत् लोकतान्त्रिक प्रणालीको खम्बा भएको धारणा राख्नुभयो । “सत्तामा गइसकेपछि सरकारको आँखाबाट कमीकमजोरी नदेखिन सक्छ, पत्रकार साथीहरुले स्वस्थ आलोचनामार्फत हामीलाई खबरदारी गर्नुस्”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनालगायत हरेक परिवर्तनका आन्दोलनमा पत्रकारिता क्षेत्रले पु¥याएको योगदानको स्मरण र सम्मान गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले महासङ्घको संस्थागत विकास र पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले तीनै तहका सरकार र महासङ्घ एकअर्काका परिपूरक भएर कार्य गर्नुपर्ने बताउनुभयो । सोही अवसरमा मुख्यमन्त्री पोखरेलले महासङ्घ बागलुङ शाखाको वेबसाइटको समेत उद्घाटन गर्नुभएको शाखा अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।

यो पनि – पालिकाको विपद् कोषमा प्रदेश सरकारले पाँच लाख दिने

गण्डकी, २५ असार (रासस) : गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि ८५ वटै पालिकालाई रु पाँच लाखका दरले रकम पठाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताउनुभयो । स्थानीय विपद् व्यवस्थापन कोषमा विपद्जन्य घटनाहरूको रोकथाम, उद्धार र राहत तथा पुनःस्थापनालगायत प्रयोजनका लागि मात्र खर्च गर्न उक्त रकम दिन लागिएको हो । चालु आर्थिक वर्षको बजेटबाटै उक्त रकमको व्यवस्थापन गरिने छ ।

उहाँका अनुसार अहिले बाढी पहिरोको प्रकोप निकै बढेका कारण प्रदेशले सिधै सहयोग गर्ने भन्दा पनि पालिकाबाट उद्धार तथा राहतको काम हुने भएकाले थोरै भए पनि सहयोग पुगोस् भनेर सो रकम दिने निर्णय गरिएको हो । प्रदेशभरका जिल्लामा भएको क्षतिको विवरण सङ्कलन गरी आवश्यकतानुसार उद्धार, राहत तथा पुनःस्थापना गरिने उहाँले जानकारी दिनुभयो ।

यो पनि – पहिरामा पुरिएको ११ घण्टापछि शव फेला

दमौली, २५ असार (रासस) : तनहुँको ऋषिङ गाउँपालिकामा पहिरामा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो ।

ऋषिङ–८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको शव ११ घण्टापछि फेला परेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्रबहादुर आलेले जानकारी दिनुभयो । ठूलो पहिरा भएकाले धेरैबेर खोजी गर्दा पनि भेटिएको थिएन । प्रहरी र स्थानीयवासीले बिहानैदेखि खोजी गरे पनि साँझ मात्र शव फेला परेको हो । बिहान साढे ५ बजे घरबाट गोठमा गएका उहाँलाई माथिबाट पहिरा खस्दा पुरेको थियो ।

पहिराले पुरिएर बिहीबार नै ऋषिङ–७ दधिवन निवासी ५२ वर्षीया देवीसरा थापाको मृत्यु भएको छ । उहाँको शव पनि दिउँसो मात्रै फेला परेको थियो । घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उहाँको मृत्यु भएको थियो । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल हुनुभएको छ । घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गडेको र चप्पल टिप्न खोज्दा पहिराले पुरिएको स्थानीयवासीले बताएका छन् । यस्तै खोलाले बगाएर बेपत्ता हुनुभएका म्याग्दे गाउँपालिका–४ का मैतबहादुर नेपाली भने फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

बाढीले ७२ घर विस्थापित

बाढीपहिराले तनहुँको बन्दीपुर गाउँपालिकाका ७२ घरधुरी विस्थापित भएका छन् । एउटै वडामा ४८ सहित ७२ घर बाढीपहिराबाट विस्थापित भएका हुन् । बन्दीपुर–२ खहरे, धारापानी, वडा नं ३ रामकोट र वडा नं ५ कल्चोकमा बाढीपहिराले ७२ घर विस्थापित भएका हुन् ।

बाढीले खहरेमा १३ घर पूर्ण क्षति र नौ घर आंशिक क्षति भएको तथा २६ घर उच्च जोखिममा रहेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार धारापानीमा १२ घर उच्च जोखिम, रामकोटमा सात घर र कल्चोकमा पाँच घर उच्च जोखिममा परेका छन् । विस्थापित भएकाहरु कृषि केन्द्र र खहरे आमा समूहको भवनमा आश्रय लिन बाध्य छन् । “घरभित्र पानी पसेर कतिपय सामग्रीमा पनि क्षति पुग्यो, बचेका सामग्रीसहित कृषि केन्द्र र खहरे आमा समूहको भवनमा स्थानान्तरण गरेका छौँ”, गुरुङले भन्नुभयो ।

छाब्दी खोलामा ह्युमपाइप

तनहुँको व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलामा तत्काल आवागमन सहज बनाउन ह्युमपाइप राख्न शुरु गरिएको छ । गत बुधबारको बाढीले पुल बगाएर सर्वसाधारणलाई आवतजावतमा समस्या भएपछि नगरपालिकाले ह्युमपाइप राख्ने तयारी गरेको हो ।

बेलिब्रिज निर्माण नहुँदासम्मको अवस्थामा आवागमन सहज बनाउन ह्युमपाइप राखिने व्यास–१ का वडासदस्य चूडामणि दाहालले जानकारी दिनुभयो । “पुल भत्किएपछि सर्वसाधारणलाई वारपार गर्न नै समस्या भयो, ह्युमपाइप हालेर केही सहज बनाउन शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारको बजेटबाट बेलिब्रिज निर्माणको काम पनि छिट्टै शुरु हुन्छ ।”

पुल भत्किएको एक सातादेखि यहाँका स्थानीयवासीलाई सास्ती भएको छ । दमौली बजारबाट दक्षिणी भेगसँगको सम्पर्क टुटेको छ । स्थानीयवासी यामबहादुर आलेले तत्काल पुल निर्माण नहुँदा स्थानीयवासी मारमा परेको जानकारी दिनुभयो । यही पुल हुँदै व्यास–१३ को बेलबास, पोखरीभञ्ज्याङ, व्यास–१४ को केशवटार, सुढे, ऋषिङको हुस्लाङ, गुम्लेक, देवघाट, आँबुखैरेनी, बन्दीपुरलगायतका ग्रामीण भेगका बासिन्दा आवतजावत गर्दथे ।

“पुल भत्किएसँगै सर्वसाधारणलाई आवतजावत गर्न समस्या त भएको छ नै कृषि उपज सामग्री, दूधलगायतका सामग्री बिक्री वितरण पनि प्रभावित भएको छ”, आलेले भन्नुभयो । उहाँका अनुसार यही पुल हुँदै यस भेगका सर्वसाधारणले दूध, निउरो, तरकारीलगायतका कृषि उपज बिक्री गर्न जान्थे । “गरिबहरुले एक छाक टार्नका लागि तरकारी बिक्री गर्न पनि नपाउने भए, पुल भत्किएपछि ठूलो सङ्कट आइपरेको छ”, आलेले भन्नुभयो, “छिटोभन्दा छिटो यहाँ पुल बन्नुपर्छ ।”

भादगाउँतर्फका सर्वसाधारण बेलबासमा खानेपानी लिन जाने गर्दथे । पुल भत्किएसँगै त्यो काम पनि रोकिएको छ । भत्किएको पुलबाट सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न थालेपछि बेलबासका स्थानीयवासी मिलेर बाँसको फड्के बनाएका छन् तर उक्त फड्केबाट वारपार गर्न जोखिम छ । बाढीपहिरोबाट पीडित सर्वसाधारणलाई खाद्यान्न ढुवानी गर्न समस्या भएको छ ।

पुल भत्किएसँगै यहाँका कृषकलाई दूध दमौली बजारसम्म लगेर विक्री गर्न समस्या भएको स्थानीयवासी राजन सापकोटाले बताउनुभयो । बेलबासका ६० भन्दा बढी कृषकले दैनिक दूध बिक्री गर्दछन् । यहाँबाट दैनिक रु डेढ लाखभन्दा बढीको दूध बिक्री हुन्छ । “पुल भत्किएसँगै पशुलाई खुवाउने दाना ढुवानीमा समस्या भएको छ”, उहाँले भन्नुभयो, “छिटोभन्दा छिटो पुल बन्नुपर्छ ।”

यसैबीच छाब्दीखोलामा बेलिब्रिज निर्माणका लागि उपभोक्ता समिति गठन गरिएको छ । उपभोक्ताहरूको भेलाले क्याप्टेन सहवीर उच्चैको अध्यक्षतामा समिति गठन गरेको हो । भेलाले स्थानीय अगुवा यामबहादुर आलेको अध्यक्षतामा अनुगमन समिति पनि गठन गरेको छ ।