अज्ञात रोगले ५३ वटा बाख्रा मरे

अज्ञात रोगले ५३ वटा बाख्रा मरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देवघाटको एक व्यावसायिक बाख्रा फर्मका ५३ वटा बाख्रा अज्ञात रोगले मरेका छन् । गत फागुनदेखि हालसम्म निरन्तर रूपमा बाख्रा मरेका हुन् । पछिल्लो दिनमा यो सङ्ख्या बढ्दो छ । देवघाट गाउँपालिका–५ कालिमाटीमा रहेको बुद्धिप्रसाद भट्टराईको कृषि फर्मका बाख्रा मरेका हुन् । भरतपुर महानगरपालिका–९ निवासी भट्टराईले गतवर्षको असोजदेखि बाख्रा फर्म शुरु गर्नुभएको हो । उहाँका अनुसार माउ बाख्रा बढी सङ्ख्यामा मरेका छन् । उहाँले भन्नुभयो, “पछिल्ला दिनमा दैनिक एउटा बाख्रा मर्ने गरेका छन् ।” अहिले पनि सात वटा बाख्रा बिरामी भएको उहाँले जानकारी दिनुभयो ।

फर्ममा ११० वटा बाख्रा रहेका थिए । रु ४० लाख लगानी गरेर फर्म शुरु गरेको भन्दै उहाँले भन्नुभयो, “रु २२ लाखभन्दा बढी मूल्यका बाख्रा मरिसके । अझै रोगको पहिचान हुन सकेको छैन ।” विज्ञले रगत घट्ने र हेमोग्लोबिन कम हुने समस्या रहेको जनाएको उहाँले बताउनुभयो । टेलिफोनमा उहाँले भन्नुभयो, “बाख्रालाई रगत दिनका लागि अनुमति लिन अहिले भेटेनरी कार्यालय भरतपुर आएको छु ।” भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, चितवनबाट बाख्राको शव परीक्षण गरी नमूना परीक्षणको लागि केन्द्रीय पशुरोग प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँ पठाएको कार्यालयले जनाएको छ । बाख्राको रगत र स्वाब सङ्कलन गरेर काठमाडौँ पठाएको १४ दिन भए पनि अहिलेसम्म नतिजा नआएको उहाँको भनाइ छ । जुनजुन बाख्राको नमूना पठाइयो, ती बाख्रा मरिसकेको उहाँले बताउनुभयो । बाख्रालाई १०८ डिग्रीसम्म ज्वारो आउने खान छाड्ने र क्रमशः शिथिल भएर मर्ने गरेका छन् ।

व्यावसायिक बाख्रा पालन गरे पनि बीमा परिपक्क भई नसकेकाले जोखिम आफैले बहन गर्नुपरेको दुखेसो उहाँले पोख्नुभयो । हालसम्म कुनै निकायबाट सहयोग नपाएको उहाँ बताउनुहुन्छ । गाउँपालिकामा सहयोग अनुरोध गरेको भए पनि पाउन नसकेको भट्टराईको भनाइ छ । रासस

यो पनि – फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालयले चोरी र लागुऔषध मुद्दाका फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ । चोरी गरेको आरोप प्रमाणित भई फरार रहेका व्यास नगरपालिका–११ फराकचौर निवासी २३ वर्षीय विकास नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । अदालतको विसं २०७७ मङ्सिर ३० गतेको फैसलाले विकासलाई नौ महिना ६ दिन कैद, रु दुई हजार जरिवाना र रु ६०० क्षतिपूर्ति तोकेको थियो ।

त्यसैगरी लागुऔषध मुद्दामा फरार हुँदै आएकी व्यास नगरपालिका–३ निवासी २१ वर्षीय सिम्रन सुनारलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँ अदालतको विसं २०७७ मङ्सिर ३० गतेको फैसलाले एक महिना तीन दिन कैद, रु दुई हजार जरिवाना र रु २०० क्षतिपूर्ति सजाय तोकेपछि निज फरार हुँदै आएकी थिइन् । पक्राउ परेका दुवैलाई कानूनी कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । रासस