‘नमुना युवा संसद’

‘नमुना युवा संसद’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘नमुना युवा संसद’ को लागि सातवटै प्रदेशबाट छनौट गरिएका मुख्यमन्त्री, मन्त्री र सभामुखले संसदीय अभ्यास शुरुआत गरेका छन् । राष्ट्रिय युवा परिषद्को यही असार २२ देखि २४ गतेसम्म सञ्चालन गरेको युवा संसद कार्यक्रमबाट मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख उपसभामुख र सचेतकको भूमिकामा १६ देखि २४ बर्ष उमेर समूहका युवालाई छनौट गरिएको थियो । उनीहरु आजदेखि तीनदिनसम्म भर्चुअल माध्यमबाट संसदीय अभ्यास गर्न शुरु गरेका हुन् ।

ती समूहका २८४ जना युवामध्येबाट मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख, उपसभामुख र सचेतकको छनौट गरी चयन गरिएको हो । अभ्यास गर्नुअघि उनीहरुलाई भर्चुअल माध्यमबाट मुलुकको शासकीय प्रणाली, संसदीय क्रियाकलापदेखि राज्य सञ्चालनका सबै विषयको प्रशिक्षण दिइएको थियो । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले संसदीय अभ्यासबारे प्रशिक्षण दिएका युवाले प्रदेशसभा रहेका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख, उपसभामुख र सचेतकको भूमिका अभ्यास गर्न थालिएको जानकारी दिनुभयो । उहाँले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था, संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक बर्ष नमुना युवा संसद कार्यक्रम गर्न थालिएको बताउनुभयो । “भविष्यमा मुलुकको प्रधानमन्त्री, मन्त्री हुने व्यक्तिलाई संसदीय प्रणालीबारे जानकारी दिनका लागि संसदीय अभ्यास गराउन थालिएको हौ” उहाँले भन्नुभयो, “ अभ्यासबाट युवाले मुलुक चिन्ने, पदीय जिम्मेवारी र मुलुकप्रति प्रतिवद्ध बनाइने छ ।”

वाग्मती प्रदेशको मुख्यमन्त्रीको भूमिकामा रहनु भएका अस्मी सापकोटाले आफूले उहाँले संसदीय व्यवस्थामा हुने सवै क्रियाकलाप सिकेर अहिले अभ्यास गरिरहेको बताउनुभयो । उहाँले संसदमा विधेयक प्रस्तुति हुनेदेखि संसदीय मर्यादाबारे जान्न पाएको बताउनुभयो । “ म मुख्यमन्त्रीमा नियुक्त हुँदा भोट मागेर निर्वाचित भएको हँु” उहाँले भन्नुभयो, “संसदीय व्यवस्थामा मुख्यमन्त्री,मन्त्री, सभामुखको भूमिका के कस्ता हुँदोरहेछ भन्ने कुरा पनि अभ्यास गरेर सिकिरहेका छौ ।”उहाँले नमुना युवा संसदमा आफूलाई सक्षम नेतृत्वको विकास गर्न सकिने धारणा राख्नुभयो ।

सङ्घीय युवा संसद

यस्तै यही असार २८ देखि ३० गतेसम्म सङ्घीय युवा संसदको अभ्यास हँुदैछ । उक्त अभ्यासमा सङ्घीय संसदमा हुने क्रियाकलापबारे प्रशिक्षित गर्दै उनीहरुलाई सङ्घीय युवा संसदको प्रशिक्षण दिएर अभ्यास गराउन थालिएको हो । सङ्घीय युवा संसदमा सातवटै प्रदेशबाट ४९ जना, अनलाइन फाराम भरेका २१ जना र परिषद्ले मनोनित गरेका १० जना सहभागि हुने छन् ।

उक्त युवा संसदमा प्रधानमन्त्री, मन्त्री, सभामुख चयन गरेर सङ्घीय संसदको अभ्यास गराइने परिषद्का उपाध्यक्ष ढुङ्गेलले जानकारी दिनुभयो । परिषद्ले ‘युवा सञ्चालन कार्यविधि २०७५’ जारी गरेर हरेक बर्ष युवालाई संसदीय क्रियाकलाप गराउन थालेको हो । अहिलेसम्म दुई पटक संसदीय अभ्यास गराएको परिषद् गतबर्ष कोरोना भाइरसका कारणले स्थगित गरेको थियो । रासस