कोभिडका कारण मृत्यु भएका परिवारलाई नगरपालिकाले ५० हजार दिने

कोभिडका कारण मृत्यु भएका परिवारलाई नगरपालिकाले ५० हजार दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोभिडका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले यो यस वर्षको नयाँ कार्यक्रम भएको बताउनुभयो । नगरपालिकाले नयाँ कार्यक्रमका रुपमा देउमाइलाई अपाङ्ता मैत्री घोषणा गरेर अपाङ्ता भएका पहेलो कार्ड भएका व्यक्तिलाई मासिक रु ५०० दिने निर्णय गरेको छ । सो नगरपालिकाले एकल पुरुषलाई समेत भत्ता दिँदै आएको छ । साथै ४५ वर्ष उमेर नाघेका अविवाहित महिलालाई मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । यौनिक अल्पसङ्ख्यकलाई पनि मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
अन्य स्थानीय तहभन्दा फरक कार्यक्रमका रुपमा शुरुबाट नै यस नगरपालिकाले नगरपालिका भित्र बसोबास गर्ने नगरवासीले बच्चा जन्माउँदा पोषण सुविधा उपलब्ध गराउँदै आएको छ । त्यस्तै मृत्यु हुँदा दाहाससस्कार खर्च भनेर पनि नगद उपलब्ध गराउँदै आएको छ । जन्म र मृत्युमा नगरबासीलाई नगद ५ हजार उपलब्ध गराउँदै आएको छ । सो कार्यक्रमलाई समेत निरन्तरता दिइएको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रेमप्रसाद दाहालले बताउनुभयो ।  शिक्षा, सडक मर्मत तथा निर्माण, विजुलीवत्ती, खानेपानी, कृषि तथा पशु लगायतका पुराना कार्यक्रमलाई निरन्तरता दिइएको नगरपालिकाका सूचना अधिकारी गोविन्द प्रसाद बास्तोला (गोपाल) ले बताउनुभयो ।

यो पनि – एकल पुरुषको भत्ता वृद्धि

बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिँइदै आएको छ । जिल्लाको मेलौली नगरपालिकाले उक्त भत्ता दिँदैं आएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको छ । यसअघि उक्त भत्ता प्रतिमहिना एकहजार पाँच सय रहेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताउनुभयो ।
नगरपालिकाले गएको तीन वर्ष यता ५० भन्दा माथि र ६० वर्ष भन्दा मुनिका विदुरलाई सो भत्ता दिँदै आएको छ । उहाँले भन्नुभयो,“एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुन्छन्, त्यसैले उनीहरुको जीवनयापन सहज होस भनेर भत्ता दिएका हौं ।” मेलौलीमा ८८ जनाले उक्त भत्ता लिएका छन् ।

यस्तै नगरपालिकाले टुहुरा बालबालिकाको भत्ता पनि बढाएको छ । आमा बुवा दुवै गुमाएका बालबालिकाको सहयोगका लागि भन्दै गएको तीन वर्ष यता टुहुरा बालबालिकालाई पनि भत्ता प्रदान गरिँदै आएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा आमाबुवा दुवै गुमाएका अहिले १९ बालबालिका रहेका र उनीहरुलाई मासिक भत्ता दिँदै आएको उपप्रमुख ओझाको भनाइ छ । टुहुरा बालबालिकाको शिक्षादिक्षमा सहज होस भनेर भत्ता दिएको नगरप्रमुख कृष्णसिंह नायकले बताउनुभयो । भत्ता पाउँदा जीवनयापन सहज भएको वडा नं ९ का एकल पुरुष शङ्करदत्त भट्टले बताउनुभयो। मेलौलीले २०७५ सालबाट सो भत्ता दिन थालेको हो । रासस