चर्को भाडा असुल्ने दुई जना चालक पक्राउ

चर्को भाडा असुल्ने दुई जना चालक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा निषेधाज्ञा उल्लङ्घन गरी चर्को भाडा असुल्ने दुई सवारी चालकलाई पक्राउ गरिएको छ । निषेधाज्ञामा गोरखाबाट काठमाडौँ यात्रु बोकेर जाँदै गरेको अवस्थामा बा५ख १०७३ र बा५ख १०७७ नंको माइक्रोबसका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिनुभयो ।

“बाह्य जिल्लाबाट सवारी साधन जिल्लाभित्र प्रवेश गर्न नपाइने र जिल्ला भित्रन नपाउने भए पनि सामाजिक सञ्जालमा सूचना नै राखेर सम्र्पक गरी यात्रु बोकेर ल्याउने गरेको रहेछ”, उहाँले भन्नुभयो, “विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।” पक्राउ परेका सवारी चालकले गोरखाबाट काठमाडौँसम्मको भाडा प्रतिव्यक्ति रु एक हजार असुलेको पाइएको एसपी खनालले जानकारी दिनुभयो । गोरखा–काठमाडौँ भाडादर रु ४५० रहेको छ । “दुवै सवारी चालकले तोकिएको भाडादरभन्दा झण्डै दोब्बर भाडा असुलेको पाइयो”, उहाँले भन्नुभयो, “अर्कोतिर एक जिल्लाबाट अर्को जिल्लामा सवारी साधान सञ्चालन गर्न पाइँदैन ।” जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार असार २९ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

जिल्लाभित्र भने सार्वजनिक यातायात सञ्चालन गर्न पाउने निर्णय गरिएको थियो । पक्राउ परेका सवारी चालकलाई निषेधाज्ञा उल्लङ्घनको कसुरमा कारवाही हुने एसपी खनालले जानकारी दिनुभयो । निषेधाज्ञाको उल्लङ्घन गरी बाह्य जिल्लाबाट यात्रुसहितको सवारी साधान भित्रने र बाहिरिने क्रम बढेपछि जिल्लाको प्रवेशको मुख्य नाका मझुवामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरी जाँच बढाए पनि यात्रु ओसारपसार गर्ने क्रम रोकिएको छैन । सवारी साधनले जाँच चौकीभन्दा नजिकै यात्रु झारेर हिँडाउने र जाँच चौकी कटेपछि पुनः यात्रु चढाएर ल्याउने लैजाने गरेको पाइएको प्रहरीले जनाएको छ ।

यो पनि – गोरखा जिल्लाका स्थानीय तहहरुमध्ये बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट गाउँपालिका बन्न सफल

गोरखा, २६ असार । गोरखा जिल्लाका स्थानीय तहहरुमध्ये बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ । स्थानीय तहको उपलब्धि र कमीकमजोरीको लेखाजोखा गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तह स्वमूल्याङकन कार्याविधिको मापदण्डका आधारमा गरिएको संस्थागत क्षमताको स्वमूल्याङकनमा सो गाउँपालिका जिल्लाकै सर्वोत्कृष्ट बन्न सफल भएको हो ।

कार्यविधिमा समावेश गरिएका १० सूचक र १०० उपसूचकका आधारमा बारपाक सुलिकोट गाउँपालिकाले ६६.७५ प्रतिशत अङ्क प्राप्त गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । त्यस्तै कार्यविधिको मापदण्डअनुसार संस्थागत क्षमताको स्वमूल्याङकनमा भीमसेन थापा गाउँपालिका सबैभन्दा पछाडि परेको छ । सो गाउँपालिकाले ३३.५ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

संस्थागत क्षमताको स्वमूल्याङकनको आधारमा जिल्लाको अजिरकोट गाउँपालिका दोस्रो र शहिद लखन गाउँपालिका तेस्रो गाउँपालिका बनेको छ । अजिरकोटले ६५.५ प्रतिशत र शहिद लखनले ६०.२५ अङ्क ल्याएका छन् ।
कार्यविधिअनुसार गाउँपालिका र नगरपालिकाका सबल र दुर्बल पक्षहरुको पहिचान र समीक्षा गर्ने गरिन्छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी स्वयंले सहभागितामूलक विधिद्वारा आ–आफ्नो स्थानीय तहको कार्यबारे मूल्याङ्कन गर्ने गर्दछन् ।

नगरपालिका र गाउँपालिकाहरुको बीचमा तुलनायोग्य सूचकहरु बनाएर त्यस आधारमा कामको मूल्याङ्कन गर्न कार्यविधिले सघाउने सुलिकोट गाउँपालिका अध्यक्ष भट्टले बताउनुभयो । शासकीय प्रबन्ध, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सामाजिक समावेशीकरण, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सङ्गठन तथा प्रशासन, सहकार्य र समन्वयको आधारमा स्थानीय तहरुले नम्बर प्राप्त गर्दछन् । जिल्लाका ११ स्थानीय तहमा आरुघाट गाउँपालिकाले भने भर्खरै मात्र संस्थागत क्षमताको स्वमूल्याङकन प्रक्रिया शुरु गरेको जनाएको छ । रासस