‘नमूना युवा प्रदेशसभा’ मा खोपको चर्चा

‘नमूना युवा प्रदेशसभा’ मा खोपको चर्चा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘नमूना युवा प्रदेशसभा’ मा पनि कोरोना भाइरसविरुद्ध खोप लगाउनुपर्ने विषयमा प्रदेश सरकार केन्द्रित भएको छ । राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको युवा प्रदेशसभा बैठकमा उपस्थित नमूना युवा सांसदले कोरोना भाइरस रोकथाम गरेमात्र जनजीविकालाई सहज बनाउने सकिने भन्दै कोरोना भाइरसविरुद्धको खोप प्रदेश सरकारले आफ्ना प्रदेशका नागरिकलाई उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।

लुम्बिनी प्रदेशमा खोपबारे जरुरी सार्वजनिक प्रस्तावसमेत दर्ता गरेर युवा सांसदले छलफलसमेत गर्नुभएको थियो । नमूना प्रदेशसभामा लुम्बिनी प्रदेशका सभामुख श्रद्धा कुँवरले सभामा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने विषयमा छलफल भएको बताउनुभयो । उहाँले सङ्घ सरकारको समन्वयमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । प्रदेश नं २ का मुख्यमन्त्रीको भूमिकामा रहनुभएका पूजा साहले युवालाई कोरोना भाइरसबाट बचाउन खोप लगाउनका लागि चाँडै नै खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेशका सबै युवालाई कोभिड–१९ विरुद्धको खोप लगाइने बताउनुभयो । उहाँले प्रदेश सरकारले युवामैत्री बजेटसमेत ल्याउने जानकारी दिनुभयो ।

यस्तै बागमती प्रदेशका मुख्यमन्त्रीको भूमिकामा रहनुभएका अश्मी सापकोटाले कोरोना भाइरस, महिला हिंसा, विपद् व्यवस्थापनबारे प्रदेशसभामा छलफल भएको बताउनुभयो । उहाँले कोरोना भाइरस महामारी रोक्नका लागि जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्न पनि आग्रह गर्दै प्रदेशमा रहेका सबै नागरिकलाई यही महिनाभित्र खोप उपलब्ध गराउने बताउनुभयो । युवा संसद् कार्यक्रमबाट छनोट १६ देखि २४ वर्ष उमेर समूहका युवा मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख, उपसभामुख, सचेतक, संसदीय दलका नेता, प्रदेश सांसदको भूमिका आज भर्चुअल विधिबाट युवा प्रदेशसभाको अभ्यास गरेका हुन् । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले नमूना युवा संसद्मा मुख्यतः कोरोना भाइरसविरुद्धको खोप, युवाको नेतृत्व, विपद् व्यवस्थापनलगायत विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार पाँच दिनसम्म संसदीय अभ्यास सिकाइएका युवाले आज आफैँ प्रदेशसभा सञ्चालन गरेका हुन् ।

उहाँले युवालाई अहिलेदेखि नै युवालाई संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि नमूना प्रदेशसभाका कार्यक्रम गरिएको बताउनुभयो । यस्तै समापन कार्यक्रममा बोल्दै बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले परिषद्ले अहिलेदेखि नै युवालाई संसदीय प्रणालीबारे अभ्यास गराए नेतृत्व विकासमा सहयोग पुग्ने बताउनुभयो । “युवाले अहिले सिकेको कुरालाई संसदीय अभ्यासमा लैजाँदा पछि नेतृत्वमा पुग्दा सजिलो हुन्छ”, उहाँले भन्नुभयो, “नमूना युवा संसद्ले युवालाई नेतृत्वको क्षमता बढाउने सहयोग गर्नेछ ।” प्रदेश नंं १ का सामाजिक विकासमन्त्री उषाकला राईले अहिलेदेखि नै युवालाई नेतृत्व विकासमा अग्रसर गराउनुपर्ने बताउनुभयो । यस्तै मुख्यमन्त्रीको भूमिकामा सुदूरपश्चिम प्रदेशबाट सुरेन्द्र गिरीले नमूना युवा संसद्बाट मुलुकको संसदीय परम्परा र अभ्यासबारे सिक्ने मौका पाइएको बताउनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री सुरज भट्टराईले युवाको नेतृत्व विकासमा युवा संसद्ले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । कर्णाली प्रदेशका मुख्यमन्त्री प्रशान्त लामिछाने एउटा जनप्रतिनिधिले मुलुक कसरी सञ्चालन गर्दा रहेछन् भन्ने कुरा आफूले सिकेको बताउनुभयो । प्रदेश नं १ का मुख्यमन्त्री नवीन पहाडी र गण्डकी प्रदेशका मुख्यमन्त्री सन्दीप गिरी पनि संसदीय प्रणाली, लोकतन्त्रका बारेमा सिक्न पाएको बताउनुभयो । परिषद्ले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था, संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक वर्ष नमूना युवा संसद् कार्यक्रम गर्दै आइरहेको छ यस्तै, परिषद्ले यही असार २८ देखि ३० गतेसम्म सङ्घीय युवा संसद्को अभ्यास गर्दै छ । ती युवालाई मुलुकको शासकीय प्रणाली, संसदीय क्रियाकलापदेखि राज्य सञ्चालनका सबै कुराको अभ्यास गराइन्छ । रासस